मुटु नियन्त्रण गर्ने आइसीडी असफल, न्यूरोको लापरवाहीले विरामीको मृत्यु
१२ बिहीबार
विराटनगर : 
विराटनगर स्थित न्यूरो हस्पिटलमा पहिलो पटक प्रयोगमा ल्याइएको मानिसको मुटुको धड्कन नियन्त्रण गर्ने नयाँ प्रविधि भनेर प्रचार गरिएको आईसीडीको प्रयोग असफल बनेको छ।
अस्पतालले अनियन्त्रित बनेको मानिसको मुटुको धड्कन नियन्त्रण गरेर सही ठाउँमा ल्याउने अत्याधुनिक प्रविधि भनेर यसको प्रचार गरिरहेको थियो। विराटनगरमा पहिलो पटक आयरल्याण्डबाट झिकाइएको भनेर आईसीडी प्रयोग गरिएका झापाको विर्तामोड ४ एकता टोलका ३८ बर्षीय राजेश अग्रवालको मृत्युपछि यसको प्रयोग असफल बनेको पुष्टि भएको हो।
अग्रवालको मंगलबार राती उपचारकै क्रममा मृत्यु भएको हो। हस्पिटलले गत भदौ ५ गते आईसीडीको प्रयोग सफलतापूर्वक सम्पन्न गरिएको भनेर पत्रकार सम्मेलन नै आयोजना गर्दै आफ्नो प्रचार गर्ने काम गरेको थियो।
छात्तीमा खकार जमेर दमको समस्या भएर हस्पिटलमा भर्ना गरिएपछि भदौ ३ गते न्यूरोका कार्डियोलोजी विभागका प्रमुख डा निकेशराज श्रेष्ठको नेत्रृत्वमा रहेको डा राजिव श्रेष्ठ, अनिल बस्नेत, केशरबहादुर गुरुङ र राजन कर्णको चिकित्सक टोलीले अग्रवालको छात्तीमा शल्यकृया गरेर आईसीडी जडान गरेको थियो। हस्पिटलले भारतबाट विशेषज्ञ चिकित्सक ल्याएर आईसीडी जडान गर्ने बताएपनि त्यही कार्यरत चिकित्सकले आईसीडी जडान गरेका थिए। यसले १० बर्ष सम्म काम गर्ने र त्यसपछि यसको व्याट्री फेर्नु पर्ने हस्पिटलले बताउँदै आएको थियो।
'भारतबाट विशेषज्ञ चिकित्सक ल्याएर विरामीको उपचार गर्ने भने पनि हस्पिटलले वास्ता गरेन', राजेशका जेठान सञ्जय अग्रवालले भने, 'हस्पिटलको लापरवाही र बेवास्ताका कारण ज्वाईको मृत्यु नै भयो।' विरामीको स्वास्थ्य अवस्था ठिक नहुने बुझेपछि परिवारले चार दिन अघिनै डिस्चार्ज गरिदिन गरेको आग्रहपनि हस्पिटलले अस्विकार गरेको उनको भनाइ छ।
'यहाँ उपचार ठिक नहुने भयो हामी अन्यत्र लगेर उपचार गर्छौ भनेर डिस्चार्ज गरिदिन माग पनि गर्यौ', उनले भने, 'तर उपचार यहीं ठिक हुने भन्दै हस्पिटल प्रशासनले डिस्चार्ज दिन नमानेपछि हामीले निकालेर अन्यत्र लैजानपनि सकेनौं।' परिवारका सदस्यले भनेको कुरा नमानेका कारण न्यूरो कै लापरवाहीले विरामीको मृत्यु भएको उनले बताए।
'मानिसको शरीरमा आईसीडी जडान त्यत्ति सजिलै हुन सक्दैन', एक विशेषज्ञले भने, 'सफलता पूर्वक गरियो भनेर प्रचार गरिरहँदा अचम्म लागेको थियो।' आईसीडी जडान गर्न सम्वन्धीत विशेषज्ञ नै आवश्यक पर्ने उनको भनाइ छ। सम्वन्धीत विशेषज्ञ विनानै जडान गरिएको आईसीडीले मानिसको शरीरमा काम नगरेका कारण विरामीको मृत्यु भएको विशेषज्ञहरुको भनाइ छ। यसमा हस्पिटल र उपचारमा संलग्न चिकित्सककै लापरवाही देखिने उनीहरुले बताएका छन्।
न्यूरोका कार्यकारी अधिकृत रन्जितराज बस्नेतले परिवारकै सहमतिमा अग्रवालको शरीरमा आईसीडी जडान गरिएका कारण यसमा हस्पिटलको कुनैपनि लापरवाही नरहेको बताए। विरामी नै अन्तिम अवस्थामा हस्पिटलमा ल्याइएका कारण यस्तो अवस्था आएको हो बस्नेतले भने। परिवारका सदस्यले छात्तीमा यो जडान नगर्ने भनेका थिए भने हामी गर्दैन थियौं, उनले भने।
उपचारमा संलग्न डा निकेशराज श्रेष्ठले आईसीडी जडान गरेर उपचार भइरहेका बेला अग्रवालको मृत्यु भएको बताए। एक्कासी मुटुनै चल्न छाडेपछि उनको मृत्यु भएको डा श्रेष्ठले बताए। 'जडान गरेको आईसीडी अग्रवालको मुटुले लिन सकेन', उनले भने, 'प्राविधिक रुपमा आईसीडी जडान सफल भएपनि विरामीलाई भने बचाउन सकिएन।'
आईसीडीले उनको मुटुको धड्कन नियन्त्रण गर्न नसक्दा यो समस्या आएको हो, डा श्रेष्ठले भने। उनले भने आईसीडीले काम गरेपनि विरामीको मुटुले नै काम नगर्दा समस्या भएको हो। मानिसको मुटुको धड्कन बढी वा कम भएमा यो जडान गरेपछि नियन्त्रण हुने उनको दावी छ।
हस्पिटलको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारवाही, उचित क्षतिपूर्ति लगायतका माग राखेर लास बुझ्न मानेका थिएनन्। हस्पिटलले उनको उपचारमा लागेको सवै खर्च नलिने बताएपछि आफन्तले बुधबार दुई बजे मात्र मृतकको लास जिम्मा लिएका थिए। अग्रवालको उपचारमा छ लाख ५० हजार रुपैयाँ लागेको अस्पतालले बताउँदै आएको थियो।
No comments:
Post a Comment