Thursday, August 28, 2014

'हाम्रो देश कुन हो बताइदेऊ'

१२ बिहीबार झापा :२०४५ सालमा कायम गरिएको सीमा स्तम्‍भले भारतमा पारेको नेपाली बस्ती। (तस्बीर: अन्‍नपूर्ण)

 'हामी न यताका न उताका भयौं। दुवैतिरबाट खेदियौं भने जाने ठाउँ कहीं छैन', पूर्वीनाका काँकडभिट्टा भान्साखोलाका भजना चौधरीले भने, 'हामी नेपाली नागरिक भएर पनि टुहुरोजस्तो हुनुपरेको छ।' पछिल्लोपटक नेपाल-भारत सीमा कायम गर्दा चौधरीजस्ता धेरै नेपालीको जग्गा भारततिर परेको छ। भारततिर परेको जग्गामा बसोबास गर्ने चौधरीजस्ता धेरैले आफूहरू न नेपालको न भारतको हुन सकेको भन्दै दु:ख व्यक्त गरेका छन्। ती नेपालीको जमिन भारतमा परेको स्थानबाट पश्चिमपट्टि नेपालको मेचीनगर नगरपालिका-११ पर्छ। जानकारहरूका अनुसार पछिल्लोपटक २०४५ सालमा नेपाल-भारतबीच सीमा कायम हुनुअघि १३ घरपरिवारको बसोबास रहेको उक्त स्थान नेपालमा पथ्र्यो। सीमा देखाउँदै स्थानीय अमितसिंह लिम्बूले भने, 'ऊ त्यहाँदेखि नेपाल-भारत सीमा छुट्टिन्छ। यहाँ दुईवटा सीमास्तम्भ छन्। जुन सीमास्तम्भले नेपालको जमिनलाई भारतमा गाभेको छ। जहाँ हामी बसोबास गरिरहेका छौं।' आफू बसेको जग्गाको धनीपुर्जा नेपाल सरकारले जारी गरे पनि सीमा कायम गर्दा भारतमा परेका कारण कुनै पनि बेला खेदिनुपर्ला भनेर त्रास बोकेर बाँच्नुपरेको चौधरीले बताए। उनले भने्, 'हाम्रो जमिनको नेपाली धनीपुर्जा छ। तर अहिले हामी भारतमा पर्‍यौं।' भारतको भूमिमा आफ्नो जग्गा परेकाले विकासलगायतका काममा अप्ठ्यारा भोग्नुपरेको मेचीनगर-११ की मैया उप्रेतीले बताइन्। उनले भनिन्, 'विकासका काम कताबाट ल्याउने? हामी नेपाली हौं कि होइनौं भन्ने चिन्ता उनीहरूमा छ।' काँकडभिट्टाका पुराना बासिन्दा कृष्णप्रसाद उप्रेतीका अनुसार उनीहरू दोधारमा बस्नुपर्ने बाध्यता छ। उनले भने, 'नेपाली हौं भनौं भने भारतबाट कुनै सुविधा पाइँदैन। भारतीय हौं भनौं भने नेपालबाट सुविधा पाइँदैन।' २०४५ सालअघि मेची नदीलाई नै सीमा मानिएका कारण यो समस्या आएको त्रिभुवन विश्वविद्यालयका इतिहास विषयका सहप्राध्यापक चिन्तामणि दाहालले बताए। उनले भने, 'मेची नदीलाई नै पहिला सीमा मानेका कारण उनीहरूको जग्गा भारतमा परेको हो। नदीले भाग छोड्दै जाँदा उनीहरूले जग्गा भोगचलन गर्दै गए। सीमा कायम भएपछि त्यो जग्गा भारतमा परेको हो।' दाहालका अनुसार सन् १८७३ तिरको सीमा नक्साका आधारमा २०४५ मा सीमा कायम भएको हो। तर यसबारे न भारतीय अधिकारी बोल्छन् न नेपाली अधिकारी। तालिकाबद्ध सीमा बैठकमा भाग लिँदै आएका झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले भने, 'सीमामा बस्ने नेपाली नागरिकता भएकाहरूलाई कुनै समस्या हुँदैन। उनीहरू नेपाली नै हुन्।'

No comments: