अधिकारीलाई खाना खुवाउने प्रयास विफल
नन्दप्रसादले सरकारी अधिकारीलाई भने, छोराको हत्यारालाई जेलमा हालेर मुद्दा चलाऊ अनि मात्र म खान्छु'
१२ बिहीबार काठमाडौं :
छोराका हत्यारालाई कारबाही माग गर्दै तीन सय सात दिनदेखि अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीलाई खाना खुवाउन बुधबार साढे तीन घन्टासम्म गरिएको प्रयास विफल भएको छ। उनकी पत्नीगंगामायाले भने लामो समय फकाएपछि तीन घुड्की जुस खाइन्।
सरकारले मंगलबार अधिकारी दम्पतीको स्वास्थ्य कमजोर भएकाले २४ घन्टाभित्र जबरजस्ती (फोर्स फिडिङ) भए पनि अनशन तोडाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो। तर छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी कारबाही माग गर्दै अनशन बसिरहेका अधिकारीले खाना खान अस्वीकार गरे।
अनशन तोडाउने विषयमा वीर अस्पतालका चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीबीच बुधबार बिहान छलफल भएको थियो। त्यसपछि अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विनोद गौतम, गृह मन्त्रालयका उपसचिव प्रदिव श्रेष्ठ, स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. गुणराज लोहनी, पत्रकार एवं अधिकारकर्मी कनकमणि दीक्षित र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि वीर अस्पताल पुगेका थिए।
वीरका चिकित्सकसमेत उपस्थित भएपछि बसेको बैठकमा अधिकारी दम्पतीलाई कसरी खाना खुवाउने, नमाने के गर्ने र जबरजस्ती खुवाउँदा के असर पर्छ भन्ने विषयमा एक घन्टाजति छलफल भएको थियो। सरकारी टोलीले सर्वोच्च अदालतबाट जबरजस्ती भए पनि खुवाउन आदेश भएको बताए पनि वीरका चिकित्सकले त्यसरी खाना खुवाउँदा जीवन तलमाथि हुनसक्ने चेतावनी दिएका थिए।
त्यसपछि सरकारी टोली र चिकित्सक अधिकारी दम्पतीलाई फकाएर खाना खुवाउन आईसीयू कक्षमा पुगेका थिए। तर नन्दप्रसादले अनशन तोडाउन गएको टोलीलाई देख्नेबित्तिकै रिसाएर गाली गरे। नन्दप्रसादले अनशन तोडाउन पुगेका पत्रकार दीक्षितलाई के नयाँ निष्कर्ष लिएर आउनुभयो फेरि तपाईं भनेर प्रश्न गरेका थिए। दीक्षितले जति नै प्रयास गरे पनि नन्दप्रसादले अनशन तोड्न मानेनन्। त्यसपछि फकाउन पुगेका वीरका चिकित्सकलाई पनि नन्दप्रसादले रुँदै गाली गरे।
चिकित्सकले हार खाएपछि मन्त्रिपरिषद् कार्यालयका उपसचिव गौतमले कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न सरकारले चालेका कदम सुनाउँदै अनशन तोड्न आग्रह गरे। उनले नन्दप्रसादलाई भने, 'हामीलाई तपाईंको जीवन बचाउनु छ, तपाईं एक घुड्की जुस भए पनि खाइदिनुहोस्, हामी माग पूरा गर्न प्रतिबद्ध छौं, यसका लागि समय लाग्ने भयो, हाम्रो विश्वास गर्नुहोस् तपाईंलाई न्याय दिलाउँछौं।' तर नन्दप्रसादले आफूलाई केटाकेटीजस्तै खेलाएको र खिल्ली उडाएको भन्दै गौतमलाई हप्काए। नन्दप्रसादले थपे, 'छोराको हत्यारालाई जेलमा हालेर मुद्दा चलाऊ अनि मात्र म खान्छु हैन भने मलाई यत्तिकै मर्न देऊ, मेरो चिन्ता लिनुपर्दैन।'
गंगामायाले बुधबार तीन घुड्की जुस खाए पनि त्यसले निरन्तरता पाउनेमा चिकित्सकलाई विश्वास छैन। अस्पतालका प्रमुख डा. स्वयंप्रकाश पण्डितले भने, 'हाम्रो केही नलागेर सरकारी टोलीलाई बोलाएका हौं, उहाँहरूले पनि सक्नुभएन। जबरजस्ती खुवाउनु मेडिकल साइन्सको इथिक्सबाहिरको कुरा हो।'
सर्वोच्च अदालतले गत वर्ष भदौमा अधिकारी दम्पतीलाई जबरजस्ती भए पनि खाना खुवाउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो। सोही आदेशलाई आधार मानेर मुख्य सचिव लीलामणि पौड्यालले अनशन तोडाउन स्वास्थ्य मन्त्रालय र वीरका पदाधिकारीलाई निर्देशन दिएका थिए।
No comments:
Post a Comment