Wednesday, August 27, 2014

कोकाकोला कप शनिबारदेखि मिति


११ बुधबार काठमाडौं :

 कोकाकोला कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत फाइनल चरणको खेल शनिबारदेखि काठमाडौंमा सञ्‍चालन हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा बोटलर्स नेपाल लिमिटेड र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा सञ्‍चालन हुने प्रतियोगितामा छात्रतर्फ विभिन्‍न जिल्ला र क्षेत्रबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आठ टोलीबीच प्रतिस्पर्धा हुने छात्रातर्फको खेल भदौ १८ गतेदेखि सञ्‍चालन गरिने मंगलबार आयोजित पत्रकारसम्मेलनमा एन्फाका अध्यक्ष गणेश थापाले बताए। भदौ २७ गतेसम्म चल्ने प्रतियोगितामा छात्रतर्फ पूर्वाञ्चलबाट झापाको न्यु होप इङ्लिस बोर्डिङ स्कुल र श्री आदर्श उच्चमावि, मध्यमाञ्‍चलबाट सर्लाहीको आइडियल कोएड एकेडेमी र महोत्तरीको श्री उच्चमावि, पश्चिमाञ्‍चलबाट पोखराको सैनिक आवासीय मावि र स्याङ्जाको श्री भूपू सैनिक इङ्लिस बोर्डिङ स्कुलले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्‍चिमबाट बर्दियाको श्री गुराँस उच्चमावि र बाँकेको ड्रिमल्यान्ड इङ्लिस उच्चमाविले सहभागिता जनाउँदैछन्। यसैगरी उपत्यकाबाट ललितपुरको महेन्द्र आदर्श उच्चमावि, ज्ञानोदय इङ्लिस रेसिडेन्टल स्कुल, काठमाडौंको प्यारागन पब्लिक स्कुल, लर्डबुद्ध सेकेन्डरी स्कुल, गजुरमुखी बोर्डिङ स्कुल र फ्युजन एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्। उपत्यकाबाटै साबिक विजेता सैनिक आवासीय मावि भक्तपुर र काठमाडौंको दरबार हाईस्कुलको सहभागिता रहनेछ। छात्रतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको पहिलो खेलमा बर्दियाको श्री गुराँस उच्चमावि र दरबार हाईस्कुलबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी छात्रातर्फ बाँकेको दीपज्योति विद्याश्रम, काठमाडौंको नन्दी मावि, गान्धी आदर्श मावि, रूपन्देहीको एपेक्स स्कुल, मोरङको बुद्ध उच्चमावि, भक्तपुरको सैनिक आवासीय मावि, काठमाडौंको गुरुकुल पब्लिक स्कुल र रौतहटको जनज्योति उच्चमावि छन्। प्रतियोगिताको समूह चरणका खेल सानो गौचरनमा हुनेछ। सेमिफाइनल र फाइनल चरणका खेल दशरथ रंगशालामा हुनेछ। छात्रतर्फ उपाधि विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। छात्रातर्फ उपाधि विजेताले दुई लाख, दोस्रो हुनेले एक लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका विजेता खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ। पत्रकारसम्मेलनमा बोटलर्स नेपालका प्रबन्धनिर्देशक सलमान लतिफले कोकाकोला कपमा एक हजार एक सय ६४ विद्यालयको सहभागिता रहनु खुसीको कुरा भएको बताए। 'विश्‍वभर फुटबल खेलमा लगानी गर्दै आएको कोकाकोलाले नेपालका युवा खेलाडीमा लगानी गर्न पाउँदा हामी उत्साही भएका छौं', लतिफले भने। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव गणेशप्रसाद देवकोटाले खेलकुदलाई विद्यालय स्तरबाट विकास गर्न मन्त्रालयले युवा फुबटलमा गरेको लगानी सकारात्मक भएको बताए। एन्फाका अध्यक्ष गणेश थापाले कोकाकोला र सरकारको सहयोगमा आयोजित कोकाकोला कपले भविष्यमा राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने बताए। कोकाकोला कपका उत्कृष्ट खेलाडीलाई उमेरसमूहको राष्ट्रिय टोलीमा समेत मौका दिने एन्फाले जनाएको छ।

No comments: