आँखा ओलम्पिकको वाइल्ड कार्डमा मिति
११ बुधबार
काठमाडौं :
'एसियाडमा नेपालले सुटिङमा पदकको आशा गर्नु सम्भावनाभन्दा बाहिरको कुरा हो। त्यसैले हामी वाईल्ड कार्ड प्राप्त गर्न न्युनतम स्कोर पार गर्ने लक्ष्य लिएर सहभागी हुने छौं', सुटिङका मुख्य प्रशिक्षक ध्रुवबिक्रम शाह भन्छन।
शाहले भने जस्तै नेपालले एसियाडमा भाग लिने २४ खेल मध्येको एक सुटिङमा पदक भन्दा पनि आगामी ओलम्पिकमा वाइल्ड कार्ड पाउने लक्ष्य राखेको छ। नेपालले वाइल्ड कार्ड प्राप्त गर्न आवश्यक न्युनतम स्कोर खडा गरेर राष्ट्रिय छनोट गरेको थियो।
यो लक्ष्य पार गरेका १० मिटर एयर राइफलका महिला खेलाडीहरु स्नेहा राणा, फुलमाया काप्छाकी र अस्मित राई तथा १० मिटर एयर पेस्तोलका केभी पुनले आगामी एसियाडमा नेपाली सुटिङको प्रतिनिधित्व गर्दैछन।
छनोटमा १० मिटर राइफलको पुरुषतर्फ ओलम्पियन टिकाराम श्रेष्ठ र १० मिटर पेस्तोलको महिलातर्फ रुबिना श्रेष्ठ पहिलो भएपनि वाइल्ड कार्डका लागी संघले तोकेको मापदन्ड पुरा गर्न नसकेका कारण एसियाडमा भाग लिन असफल भए। एसियामा चिन, दक्षिण कोरिया, जापान, अजरबैजान, भारत लगायत देश सुटिङमा बलिया राष्ट्र हुन।
'एसियाडमा पदक जित्न नसक्ने भएपछि हामीले ओलम्पिकमा छनोट हुने सम्भावना हेर्यौ। त्यसका लागी वाइर्ल्ड कार्ड पाउने न्युनतम अंक खडा गरेर छनोट गराएका हौं' प्रशिक्षक शाह भन्छन।
ओलम्पिक खेलकुदको छनोट प्रतियोगिताका रुपमा एसियाड, एसियन च्याम्पियनसिप लगायत प्रतियोगिता रहने गर्छन। नेपाली खेलकुद इतिहासमा तेक्वान्दोका दिपक विष्ठ र संगिना बैद्यले मात्र छनोट पार गरेर ओलम्पिकमा सोझै छनोट भएका छन।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आईओसी)ले सोझै छनोट नहुने खेलाडीहरुलाई वाइल्र्ड कार्डमार्फत ओलम्पिक खेलकुदमा सहभागी गराउँछ। सुटिङ लगायत केही खेलमा वाइल्र्ड कार्डको पनि सिमा तोकिएको प्रशिक्षक शाहले जानकारी दिए।
एसियाडमा सहभागी हुन भएको राष्ट्रिय छनोटमा १० मिटर एयर राइफलमा तीन सय ७५(चार सय पुर्णाङक) र १० मिटर एयर पेस्तोलमा पाँच सय ६३(६ सय पुर्णाङक) न्युनतम अंक जोड्नु पर्ने चुनौती दिइएको थियो।
कोरियन प्रशिक्षक ह्वाङ इन क्वोनले विगत एक महिनादेखी नेपाली सुटिङ टोलीलाई प्रशिक्षण गरिरहेका छन। अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी(एनओसी)को समन्वयमा नेपाल आएका क्वोनले यस अघि थाइल्यान्ड र बङलादेशको प्रमुख टिम प्रशिक्षक भएर काम गरिसकेका छन।
प्रशिक्षक क्वोनलाई नेपाली प्रशिक्षकहरु प्रदिप खाती, शाह र असिम यादवले सघाईरहेका छन। एमबीबीएस पढिरहेकी स्नेहा भने आफै तयारी गरिरहेकी छिन। नेपाली सुटिङ खेलाडी विगत एक महिनादेखी दैनिक आठ घन्टा प्रशिक्षण गरिरहेको छ।
छोटो समयको तयारी भएपनि नेपाली खेलाडी ह्वाङको उपस्थितीले उत्साहित छन। ' कोरियन गुरु आएपछि पहिलाको भन्दा दैनिक तिन गुणा मिहेनत बढेको छ। यसले गर्दा खेल्ने बेलामा सजिलो अनुभव भएको छ' क्याप्छाकी भन्छिन।
त्यसैगरी नेपाल पुलिस क्लबकी अस्मिता यी कोरियन प्रशिक्षक एक वर्ष अघि आएको भए पदक जित्न सक्ने सम्भावना भएको बताउँछिन। ' कुन खेलाडीको समस्या के छ,त्यसलाई कोरियन गुरुले पहिचान गरेर सुझाव दिनुहुन्छ' अस्मिता भन्छिन।
अन्तर्राष्ट्रिय सुटिङमा नेपालको प्रदर्शन खासै राम्रो छैन। श्रीलंकामा भएको पाँचौ दक्षिण एसियाली खेलकुदमा नेपालले व्यक्तिगत स्पिर्धामा एक स्वर्ण , टिममा एक रजत र टिममै एक कास्य पदक जितेको थियो। १० मिटर एयर राईफलमा अनिता श्रेष्ठले स्वर्ण जितेकी थिइन।
सोही स्पर्धामा अनिता, पार्वती थापा र विभा राईको जोडीले महिला टिममा रजत पदक जितेको थियो। त्यसयता अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली सुटिङले रजत पदकसम्मको यात्रा तय गर्न सकेको छैन। दक्षिण एसियाली खेलकुदमा छिटफुटरुपमा कास्य पदक भने जितीरहेकै छ।
बाग्लुङका केभी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका हुन। राष्ट्रिय प्रतियोगितामा हालसम्म पहिलो स्थान हाँसिल गर्न नसकेका ३२ वर्षिय केभीले छनोटमा अप्रत्यासितरुपमा पाँच सय ६३ अंक जोडेपछि उनको एसियाड यात्रा तय भएको हो।
३४ वर्षिय क्याप्छाकीसँग तीन वटा साग, एउटा एसियाड, एउटा एसियन च्याम्पियनसिप खेलेको अनुभव छ। लामो समय राष्टिय सुटिङमा बर्चस्व कायम गरेकी ३४ वर्षिय अस्मितासँग पनि दुई वटा साग, दुई वटा एसियाड, त्यसैगरी एसियन च्याम्पियनसिप खेलेको अनुभव छ।
१० मिटर एयर पेस्तोलमा पाँच सय ७५ अंकसहित विजय केसीको नाममा राष्ट्रिय किर्तिमान रहेको छ। १० मिटर एयर राइफलमा भगवती खड्का र स्नेहाको नाममा तीन सय ८८ अंकसहित सयुक्तरुपमा राष्ट्रिय किर्तिमान छ। कोरियन प्रशिक्षक ह्वाङ खेलाडीले राम्रो गरिरहेको बताए।
' मैले जे भन्छु, खेलाडीले त्यसलाई पछ्याइरहेका छन। परिणाम सकारात्मक देखिएको छ। तर एसियाडमा वाइल्ड कार्ड बाहेक हामीले अपेक्षा गर्न सक्दैनौं। पदकको लक्ष्य राख्न नेपाली खेलाडीले धेरै गर्न बाँकी छ' ह्वाङले भने।
No comments:
Post a Comment