प्रधानमन्त्रीले वैद्य समूहसहितको संयुक्त बैठक डाक्ने मिति
११ बुधबार
काठमाडौं :
प्रधानमन्त्री सुशील कोइरालाले संविधानका विवादित विषयमा सहमति जुटाउन संविधानसभाभित्र र बाहिरका राजनीतिक शक्तिहरूको संयुक्त बैठक डाक्ने भएका छन्। प्रधानमन्त्री कोइरालाले संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई सहमति जुटाउन संयुक्त बैठक राख्ने आश्वासन दिएका हुन्।
प्रधानमन्त्रीले मंगलबार माओवादी अध्यक्ष वैद्य र सचिव देव गुरुङसँग आफ्नै सरकारी निवास बालुवाटारमा छलफल गरेपछि छिट्टै संयुक्त बैठक बोलाउने आश्वासन दिएका हुन्। संविधानसभाभित्रका प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी तथा संविधानसभाबाहिरको माओवादीसहितको संयुक्त बैठक आफूले डाक्ने जानकारी प्रधानमन्त्री कोइरालाले गराएको माओवादी सचिव गुरुङले बताए।
'संविधानका अन्तरवस्तु, सरकार, निर्वाचन, सन्धिसम्झौताका लागि राष्ट्रिय सहमतिको दिशामा अघि बढ्न सर्वपक्षीय सभा गरौं भन्ने हाम्रो प्रस्तावमा प्रधानमन्त्रीले कांग्रेस, एमाले, एमाओवादी र माओवादीको संयुक्त बैठक बुधबार बोलाउने कुरा गर्नुभएको छ।
जबाफमा हामीले तपाईंहरूका विवादमा हामीलाई नमुछ्नुस्, हामी आउँदैनौ, राष्ट्रिय सहमति खोज्ने हो भने बैठकमा आउन तयार छौं भन्यौं', गुरुङले भने, 'हामीसँग परिणाममुखी सहमति खोज्ने हो भने संविधानसभाभित्रबाट संविधान निर्माण गर्ने प्रक्रिया स्थगित गर्नुपर्छ भनेका छौं।'
प्रधानमन्त्री कोइरालाको जबाफ उद्धृत गर्दै गुरुङले भने, 'तपाईंहरूले राखेका विषयमा चार पक्ष बसेर सहमति खोजौं।' गत जेठमा पनि प्रधानमन्त्री कोइराला र वैद्यबीच राष्ट्रिय सहमतिको मोडेल खोज्नेबारेमा छलफल भएको थियो।
'त्यतिबेला आ-आफ्नो पार्टीमा छलफल गरेर प्रस्ताव ल्याउने भनिएको थियो तर महिनौंसम्म छलफल भएन', गुरुङले भने, 'अहिले फेरि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको मोडेलबारे छलफल गरौं भनेर बोलाउनुभएको हो।'
छलफलमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका लागि संविधानसभाभित्र भइरहेका पहलबारे जानकारी गराएका थिए। भदौ २१ गतेसम्म सहमति नभएमा प्रक्रियामा गएर भए पनि संविधान निर्माण गर्नुपर्ने धारणा पौडेलले व्यक्त गरेको गुरुङले बताए।
पौडेलले संविधान निर्माणका लागि राजनीतिक सहमति जुटाउने क्रममा माओवादीसँग वार्ता प्रारम्भ भएको बताए। 'उहाँहरूले सर्वपक्षीय भेलाको प्रस्ताव राख्नुभएको छ', पौडेलले भने, 'त्यसलाई सम्बोधन गर्दै वर्तमान संविधानसभाबाट निर्धारित समयमा संविधान निर्माण कसरी जारी गर्न सकिन्छ, त्यसैमा वार्ता केन्द्रित रह्यो।'
No comments:
Post a Comment