विकृतिविरुद्ध तीज
भोलि हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज। पार्टी प्यालेस र होटेलहरूमा राता सारी, हरिया पोते र चुरामा सजिएका महिलाको रौनक हेर्दा एक महिनादेखि नै तीजले छोपेको थियो। पहिलेपहिले माइतीले छोरीचेलीको खबर थाहा पाउन र छोरीचेलीले पनि घरको पीडा माइतीमा गएर साथीसंगीसित गीतको भाकामा पोख्न तीज कुर्नुपर्थ्यो।
वर्षमा एक दिन चेलीहरू माइतीको चौतारीमा पारिवारिक तथा सामाजिक विकृतिविरुद्ध गीतका रूपमा मनको पीडा बिसाउँथे। किनकि पहिले संकुचनमा थिए महिला। चुलाचौका र परिवारमा सीमित थिए। तीजमा जन्मघर पुगेपछि घरका परिवारबाट सहनुपरेको बुहार्तन र अपमानका कथालाई तीजका गीतको भाकामा बिसाउँथे चेली। अहिले परिस्थिति फरक छ, समाज बदलिएको छ। वेदना साट्नेभन्दा रमाइलो गर्ने पर्व बन्दैछ तीज।
तीज सबैको साझा पर्व बनिसकेको छ। कुनै बेला थियो, बाहुन-क्षेत्रीसित मात्र सीमित भएको तीज र तीजको वर्त अहिले अरू जातजाति र धर्मावलम्बीमा पनि चर्चित बन्दै गएको छ। रमाइलो गर्न, राम्रो लगाउन र मीठो खान जुनसुकै पर्व मनाउन पनि खप्पिस भएका छन्। नेपाली भन्ने भनाइको पुष्टि हुँदैछ हिजोआज देखिने तीजको लहरले।
पहिले तीजको व्रत माइती र चेलीमा सीमित हुन्थ्यो। घरपरिवारमा सीमित तीजले समाजलाई खासै आर्थिक बोझ हुँदैनथ्यो। तर अहिले व्रत बस्ने चलन हराउँदै गएको छ भने त्यही दर खाने चलन महिनौंअगाडिदेखिको कार्यक्रम बन्न थालेको छ। अहिलेका महिला आआफ्नै काममा व्यस्त रहन्छन् त्यसैले दर खाने निहुँमा थोरै समय भए पनि व्यस्तताबाट बाहिर निस्किएर रमाइलो गर्नु राम्रो पक्ष पनि हो।
केही वर्षपहिले जाजरकोटका महिलाले अधिकार सदुपयोगका लागि महिला जागरण विषयक तीज गीत प्रतियोगिता गरी सभासद्लाई संविधान लेखनको विषयलाई समय बिताउन र कमाइखाने भाँडो नबनाउन आग्रह गरेका थिए। अहिले पनि हामी त्यही अवस्थामा छौं।
तर महिनौंअगाडिदेखि दुई सयदेखि पाँच हजारसम्म पैसा उठाएर होटेलहरूमा भोज गर्नु राम्रो हो त? मध्यमवर्गीय परिवारका लागि महँगीले गर्दा घर चलाउनै मुस्किल परेका बेला सीमित आम्दानी भएकाहरूलाई यस्ता कार्यक्रम 'नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार' साबित भएको छ। यस्ता कार्यक्रममा नजाँदा साथीभाइ या नातेदारबाट टाढा हुनुपर्ने या ऋण काढेर भए पनि दर खान जानुपर्ने बाध्यता हुन्छ।
तीज पर्वले संस्कृतिको जगेर्ना होइन कि समाजलाई हुनेखाने र हुँदाखानेका बीचमा उत्पन्न सामाजिक खाडललाई झन् गहिरो बनाउँदै लगेको छ। आफैं कमाउन महिलालाई समस्या नपर्ला तर सबै नेपाली महिलासित स्त्री धन हुँदैन पनि।
तर हामीले आआफ्नो घरघरको आर्थिक अवस्थालाई बेवास्ता गर्दै तीज कार्यक्रम भड्किलो र प्रदर्शनमुखी बनाउनु कति जायज छ? पर्व मनाउने निहुँमा भित्र्याइएको भड्किलो शैलीले तीजको मौलिकतामै प्रहार त गरिरहेको छैन?
आफन्त र साथीसंगीका बीचमा आत्मीयता साट्ने र सभ्भाव बाँडने तीजको मौलिकता हो। तर अहिले बजारमा आएका उत्ताउला गीतमा नाच्ने र गहना प्रदर्शन गर्ने होडमा कतै हामी नै हाम्रो संस्कृतिलाई विकृत त पार्दै छैनौं?
चाडबाडको नाममा कतै हामी हाम्रो नैतिक अनुशासनबाट बाहिरिँदै त छैनौं? चाडपर्व र धर्मसंस्कृतिको नाममा नैतिक अनुशासनलाई कायम राख्नु अहिलेको आवश्यकता हो। किनकि यसैले सामुदायिक सम्बन्ध झन् नजिक ल्याउन मद्दत गर्छ। विडम्बना, तीजको कोसेली र दर खाने खुवाउने परिपाटीमा आएको आधुनिकता कतै घाँटी नहेरी खाएको हाड त हुँदैन?
तीज सहरमा मात्र विशेष रूपमा मनाइन्छ भन्ने होइन। गाउँ र सहरमा रमाइलो गर्ने शैलीमात्र फरक हो। तीजलाई सन्देशमुखी कार्यक्रम गरेर रमाइलोसँग मनाउन सहरभन्दा ग्रामीण भेगका महिला अग्रपंक्तिमा देखिन्छन्।
केही वर्षपहिले जाजरकोटका महिलाले अधिकार सदुपयोगका लागि महिला जागरण विषयक तीज गीत प्रतियोगिता गरी सभासद्लाई संविधान लेखनको विषयलाई समय बिताउन र कमाइखाने भाँडो नबनाउन आग्रह गरेका थिए। अहिले पनि हामी त्यही अवस्थामा छौं र तीजको पूर्वसन्ध्यामा जाजरकोटे ती दिदीबहिनीको गीतलाई फेरि पनि सम्झना गराइरहेको छ।
अहिले देश संकटमा छ। हामीले तीजको बाटो हेरेर अनेक योजना बुनेर बसेका सयौं दिदीबहिनीलाई बाढी र पहिरोका कारणले गुमाएका छौं। विस्थापित भएका दिदीबहिनी जोसँग तीजका रमाइला योजनाको साटो खुला आकाशमुनि भोको पेटमा बस्नुपर्ने बाध्यता छ।
हामी दिनहुँ उनीहरूको समस्या सुनिरहेका छौं तर हामी सहरवासी महिला किन सुनेको नसुनै गरिरहेको हौं? हामीले तीजका लागि गर्ने रमाइला कार्यक्रमबाट केही प्रतिशत रकम ती बाढीपीडितलाई किन छुट्ट्याउन सकिरहेका छैनौं? के तिनीहरू पनि हामीजस्तै तीज मनाउने दिदीबहिनी होइनन् र?
मनुले परापूर्वकालमा विवाहमा बाबु वा अन्य अभिभावकले अग्निको सामु दिएको धन, पिताको घरबाट पतिको घर जाँदा बेलाबेलामा छोरीलाई दिएको धन, प्रीतिपूर्वक दिएको धन र दाजुभाइ र आमाबाबुले दिएको धन नै स्त्री धन हो भनेका छन्।
यसबाट के पुष्टि हुन्छ भने महिलाको आफ्नो सम्पत्ति कि त माइतीबाट पाएको कि पतिको अनुकम्पाले पाएको धन नै हुने रहेछ। हाम्रोजस्तो पुरुष प्रधान समाजमा महिलाको हातमा कतिसम्म सम्पत्ति आउँथ्यो होला त? अरूको अनुकम्पाबाट पाएको सम्पत्ति महिलाले घरबाहिर गएर खर्च गर्नसक्ने माहोल पनि त्यो बेलाको समाजमा स्वीकार्य थिएन।
समय बित्दै गएपछि विस्तारै महिलामा पनि स्वआर्जन गर्ने परिपाटी बस्दै गएको देखिन्छ। २०१९ सालको मुलुकी ऐनमा आएर स्त्रीधनको परिभाषा गरिएको पाइन्छ। महिलाको स्वआर्जनको सम्पत्ति, दाइजो, पेवा, अपुतालीबाट प्राप्त धन, दान, उपहार, बकस पाएको सम्पत्ति स्त्रीकै धन हुनेछ।
यसबाट के बुझिन्छ भने त्यस बेलासम्म समाजमा स्त्रीधन आर्जनको क्षेत्र अलि बढेको देखिन्छ। त्यसबेलासम्म सहरका महिला केही मात्रामा भए पनि शिक्षित र केही कमाउ पनि भएको देखिन्छ, जसलाई ऐनमा नै स्वआर्जन भनेर उल्लेख गरेको छ।
तर ग्रामीण भेगका महिलामा स्वआर्जनको नाममा पेवा, दाइजो, दान, उपहारमै मात्र सीमित भएको पाइन्छ। स्वआर्जन गर्ने महिलामा आफूखुसी खर्च गर्ने आँट बढ्दै गयो भने ग्रामीण भेगका महिलामा कसैले दिएको सम्पत्ति खर्च गर्नुभन्दा सञ्चित गरेर राख्नुमा बेस भन्ने मानसिकताको विकास भएको पाइन्छ र उनीहरू चल सम्पत्तिलाई अचल बनाउनै लागिपरेको देखिन्छ।
यसरी ग्रामीण भेगका महिलाले प्रयोग गर्ने पैसा र सहरिया महिलाले प्रयोग गर्ने पैसाको उद्देश्यमा आकाश-जमिनको फरक पर्दै गयो। सहरमा तीज पञ्चमीजस्ता चाडपर्वले पैसा खर्च गर्ने बहाना पाए भने गाउँले महिलामा यद्यपि यस्ता चाडमा माइत जान पाउने र साथीभाइसित नाचगान गरेर रमाइलो गर्ने भन्ने मानसिकता छ।
दसवर्षे आन्दोलनले देशमा धेरै परिवर्तन गर्यो। ग्रामीण भेगका महिलामा पनि सामाजिक र राजनीतिक जागरण आयो। ग्रामीण महिलाले विभिन्न गैरसरकारी संस्थाले गरेको आर्थिक सहयोगले पशुपालन र कृषि लगानी गरेर आफ्नै किसिमले स्वआर्जन गरिरहेका छन्।
उनीहरू यसबाट भएको आम्दानीबाट अचल सम्पत्ति जोड्ने, छोराछोरीलाई पढाउने, परिवारको आर्थिक उन्नति गर्नमा सहयोग गर्नेजस्ता कुरामा केन्द्रित देखिन्छन्, तर सहरका महिलामा आफ्नो कमाइले नपुगे पनि ऋण लिएर भए पनि नाक राख्नुपर्छ भन्ने गलत सोचाइ र संस्कारको विकास हुँदै गयो।
यसले गर्दा समाज विभाजित भयो। चाडपर्वको निहुँमा भित्रिने यस्ता विकृतिले समाजलाई कता डोर्याउँदै छ? यी जटिल प्रश्न हाम्रोसामु उभिएको छ तीज पर्वको नाममा।
No comments:
Post a Comment