Sunday, August 31, 2014

सभ्य समाजमा पुस्तकालय-सातौँ पुस्तकालय दिवस

निमा धिताल (पण्डित)

पुस्तकालय ज्ञानको अथाह भण्डार मात्र कहाँ हो र सरस्वतीको यस्तो पवित्र मन्दिर पनि हो, जहाँ ज्ञानको अखण्ड ज्योति बलिरहन्छ । अज्ञानताको कालो–मैलो पखालेर ज्ञानी गुणी र असल व्यक्तित्व निर्माण गर्दै सभ्य समाज निर्माणमा पुस्तकालयले अहं भूमिका खेलेको हुन्छ । पुस्तकालयमा ज्ञानरूपी सूचना व्यवस्थापन र सन्तुलित वितरणको व्यवस्था मिलाउने पुस्तकालयकर्मी सरस्वतीका प्रतिमूर्ति हुन् भन्दा सायद फरक नपर्ला । ज्ञान कुन स्वरूपमा छ, यसको आवश्यकता कुन प्रकृतिका व्यक्तिलाई परेको छ भन्ने ठम्याएर सुलभ सेवा उपलब्ध गराउनु नै पुस्तकालय सेवा हो ।

शिक्षा र सूचना व्यक्तिको नैसर्गिक अधिकार हो । पुस्तकालयको विस्तारले व्यक्तिको सूचनाको हकलाई प्रत्याभूत गराउँछ । शिक्षित व्यक्ति नै सक्षम र सबल बन्न सक्छ । त्यसले घर, परिवार र समाज हुँदै राष्ट्रिय विकासमा सकारात्मक प्रभाव पारेको हुन्छ । इतिहासदेखि वर्तमानसम्मको पुस्तकालयको गतिमा तीव्रता आउन सकेको छैन । केही सुधारात्मक संकेत भने नदेखिएका पक्कै होइनन् । काठमाडौं खाल्डोभित्र ठूला आकारका पुस्तकालय पनि सञ्चालनमा छन् । तैपनि, पुस्तकालयको संख्या र आकार जतिसुकै बढे पनि आमनेपाली जनता भने यस्ता पुस्तकालयको सुलभ सेवा लिनबाट वञ्चित नै छन् भन्दा सायद फरक नपर्ला । अब पुस्तकालयको संस्थागत विकासका लागि सरकार, सरोकारवाला र पुस्तकालयसेवी सबै जागरुक भई केही राम्रा कामको थालनी गर्नुपर्छ । यसका लागि के गर्ने ? कसरी अघि बढ्ने ? भन्ने प्रश्नको सवाललाई सम्बोधन गर्न यस क्षेत्रका प्रमुख चुनौती र अवलम्बन गर्नुपर्ने नीतिबारे उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

नेपालमा पुस्तकालयको विकासले बिस्तारै गति लिँदै छ । पुस्तकालय दिवस मनाउन थालेको पनि भर्खरै सातौँ वर्ष लाग्दै छ । नेपाली सूचनाकर्मी/पुस्तकालयसेवीहरू यतिवेला सातौँ पुस्तकालय दिवसको संघारमा छन् । सातौँ पुस्तकालय दिवसलाई एउटा सौहार्दपूर्ण पुस्तकालय दिवसको रूपमा मनाउने क्रममा शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाले सचिवालयको जिम्मेवारी पाएको छ । यो हामीजस्ता पुस्तकालयकर्मीका लागि गौरवको कुरा हो । कमसेकम पुस्तकालय दिवसलाई सरकारले पूर्ण रूपमा नेतृत्व लिइदिएको छ । थुपै्र सहयोगी संस्था यस दिवसको भव्य सफलताका लागि लागिपरेका छन् ।

अज्ञानतामै अपराध बढ्छ, अभावहरू खड्किन्छन् । जीवन दु:खदायी बन्छ, ज्ञानको ज्योति जनजनमा बलिदिए वास्तवमै सभ्य समाजको निर्माण हुन सक्छ । सभ्य समाजको निर्माणका लागि टोल–टोलमा पुस्तकालय घर–घरमा पुस्तक हुनु अनिवार्य छ । विशेषज्ञताका लागि ज्ञानको दायरा फराकिलो बनाउन, विद्यालयदेखि विश्वविद्यालयसम्मको औपचारिक शिक्षाको शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारिता ल्याउन पुस्तकालयले मेरुदण्डको भूमिका निभाउँछ । देशका कुना कन्दरामा सुविधासम्पन्न सार्वजनिक पुस्तकालय सञ्चालन हुन सक्यो भने नेपाल सरकारले अंगीकार गरेको साक्षर नेपाल अभियान कार्यमा पनि पुस्तकालयको भूमिका अहं हुनेमा दुईमत छैन ।

नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रममा परेको ‘एक विद्यालय एक पुस्तकालय’ अवधारणा निकै नै सराहनीय छ । विद्यालयमा निर्माण हुने व्यवस्थित पुस्तकालयले हाम्रा नानीलाई सानैदेखि पढ्ने बानीको विकास गराउँछ । शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन शिक्षकले पनि पुस्तकालय विधिको भरपूर प्रयोग गर्नु आवश्यक हुन्छ ।

भाषण, नारा र औपचारिकतामा सीमित दिवसले लक्षित समूहलाई छुन सक्दैन र अपेक्षित परिवर्तनले पनि गति लिन सक्दैन । पुस्तकालय दिवसको सन्दर्भमा पनि नाराहरूको सान्दर्भिकता र व्यावहारिक कार्यान्वयनको अवस्थामा लामो दूरी रहेको छ । ०६५ मा सम्पन्न प्रथम पुस्तकालय दिवसदेखि सातौँसम्म तय गरिएका नारा पुस्तकालय स्थापना र प्रयोगका सन्दर्भमा अत्यन्तै सान्दर्भिक छन् । ०६५ देखि क्रमश: सबैका लागि पुस्तकालय, पुस्तकालयको विकास नयाँ नेपालको निकास, सूचना, ज्ञान र सीपका लागि पुस्तकालय, समृद्ध नेपाल निर्माणका लागि पुस्तकालय, पुस्तकालय जाऔँ पढ्ने बानीको विकास गरौँ, एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय र सातौँमा ‘पुस्तकालयको विस्तार, सभ्य समाजको आधार’ जस्ता सुन्दर नारा तय गरेर हरेक वर्ष पुस्तकालय दिवस मनाइँदै आइएको छ । यस्ता आदर्श नाराले सार्थक रूप पाउने हो भने समुन्नत नेपाल निर्माण कठिन छैन । तर, यस्ता नाराको व्यावहारिक कार्यान्वयनको पाटो भने निकै कमजोर रहेको छ ।

पुस्तकालयले सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक रूपान्तरण गरी सभ्य समाज निर्माणमा जोड दिन्छ । महिला र पुरुष सम विकासका लागि पितृसत्तात्मक सोच र चिन्तनमा परिवर्तन हुनैपर्छ । यसका लागि पनि समाजका सबै वर्गको सशक्तीकरण गर्नमा पुस्तकालयको भूमिका अहं रहन्छ । महिला आफैँमा अक्षम छैनन् । महिलाको क्षमता कदर गर्न नसक्ने संरचनात्मक दोष कायमै भएकाले पनि उनीहरू पछि परेका हुन् । नेपालको वर्तमान परिप्रेक्षमा जनगणनामा मात्र महिलाको संख्या धेरै देखिन्छ । नीति निर्माण तहमा उनीहरूको सहभागिता अत्यन्तै न्यून छ । संवैधानिक निकाय, न्यायालय तथा सचिवजस्ता उच्च प्रशासनिक पदमा महिलाको उपस्थिति अत्यन्तै कमजोर छ । सबै वर्गको उत्थान र सम विकासका लागि प्रत्येक तहमा सबैको पहुँचमा व्यवस्थित पुस्तकालय मुख्य प्राथमिकताको विषय बन्न जरुरी छ ।

‘पुस्तकालयको विस्तार, सभ्य समाजको आधार’ भन्ने सातौँ पुस्तकालयको यो नारा निकै मार्मिक र अति सान्दर्भिक छ । तर, यसको कार्यान्वयन पक्ष बलियो हुनु अति जरुरी छ । व्यक्तिको आचरण निर्माण र ज्ञानको विवेकको दायरा फराकिलो बनाउन पुस्तकालयको विस्तार हुन जरुरी छ । पुस्तकालयको नियमित उपयोगले व्यक्ति सभ्य सक्षम र सुसंस्कृत बन्नेमा दुई मत छैन । असल, कुशल र सभ्य नागरिक बनाउन पुस्तकालय महत्त्वपूर्ण आधारशिला हो । यसको विकास, विस्तार र अधिकतम उपयोग गर्न गराउन सम्पूर्ण सरोकारवाला लागिपर्नुपर्छ । पुस्तकालय विस्तारमा पूर्वाधार, जनशक्ति, प्रविधिको पहुँच, भौतिक संरचना आदि विस्तार गरिनुपर्छ । तब मात्र व्यवस्थित पुस्तकालय हाम्रो सभ्य समाजको परिचय बन्न सक्छ । सातौँ पुस्तकालय दिवस सौहार्द र सभ्य पर्व बन्नुपर्छ, हालसम्मका पुस्तकालयका नाराहरूको कार्यान्वयनमा सम्बन्धित निकाय तथा सरोकारवाला सचेत र इमानदार हुनुपर्छ ।

देशको सम्मुनति गुणस्तरीय शिक्षाबाट मात्र सम्भव छ । गुणस्तरीय शिक्षा पुस्तकालयको उपयोगविना सम्भव छैन । निरक्षरलाई साक्षर र साक्षरलाई शिक्षित बनाउने, व्यक्तित्व विकास, सांस्कृतिक, सामाजिक र शैक्षिक विकास गर्ने कार्यमा भूमिका खेल्ने पुस्तकालय अझै पनि समस्याग्रस्त अवस्थामै छ । अध्ययन संस्कृतिको विकास गर्ने गराउने समग्र विकासमा टेवा पुर्‍याउने पुस्तकालयको सवाल अब नयाँ संविधानमा निश्चित हुनुपर्छ । पुस्तकालय सञ्चालनार्थ आवश्यक ऐन–नियम तथा कानुन निर्माणमा सरकार यथासक्य लाग्नुपर्छ । सबैका लागि शिक्षा र साक्षर नेपाल अभियान सफल बनाउनकै लागि पनि पुस्तकालय मेरुदण्ड बन्न सक्छ ।

छैटौँ पुस्तकालय दिवसका अवसरमा तत्कालीन शिक्षामन्त्री माधवप्रसाद पौडेलले उद्घोष गरेको पुस्तकालय विकासका लागि सरकारको नियमनकारी भूमिका अवश्य हुनेछ भन्ने भनाइ ज्यादै महत्त्वपूर्ण थियो । यसको कार्यान्वयनमा पुस्तकालय ऐन चाँडै आउने अपेक्षा पुस्तकालयकर्मीले गरेका थिए । तर, आजको मितिसम्म पनि आउन सकेको छैन । यसतर्फ सरोकारावाला सबैको ध्यान जान जरुरी छ ।

अबका दिनमा ज्ञानको अक्षय कोष पुस्तकालय जल्नुपरेको कहिल्यै देख्न र सुन्न नपरोस् । सभ्यता र संस्कृतिको धरोहर तथा ज्ञानको भण्डारमा सरकार तथा सरोकारवाला र उपयोगकर्ता सबै जागरुक हुँदै अघि बढ्नुपर्छ । पुस्तकालयको विस्तार सभ्य समाजको आधार साताँै पुस्तकालयको नारा सबैको र सधैँको अभियान बन्न जरुरी छ ।

(धिताल खानी तथा भू–गर्भ विभागकी पुस्तकालय अधिकृत हुन्)

No comments: