Sunday, August 31, 2014

एन्फाविरुद्ध प्रशिक्षक पनि संगठित

August 31 काठमाडौं

आर्थिक अनियमितताको आरोप खेपिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) र अध्यक्ष गणेश थापाविरुद्ध प्रशिक्षकहरू पनि संगठित भएका छन् । 

 anfa

एन्फा अध्यक्ष थापाले प्रशिक्षकमाथि एकलौटी निर्णय लाद्ने गरेको भन्दै शनिबार काठमाडौंमा भएको भेलाले वरिष्ठ प्रशिक्षक कृष्ण थापाको संयोजकत्वमा नेपाल प्रशिक्षक संघ गठन गरेको छ । समितिको सहसंयोजकमा प्रशिक्षक छिरिङ लोप्साङ तथा सचिवमा चेतनारायण श्रेष्ठ रहेका छन् ।

यस्तै सदस्यमा हरिओम श्रेष्ठ, सिद्धि व्यञ्जनकार, सुरेश कर्माचार्य, मधु कार्की, अर्जुन लामा, उज्ज्वल मानन्धर, विजय महर्जन, प्रज्ज्वल क्षत्री र रञ्जित सिंह रहेका छन् । यस्तै वरिष्ठ प्रशिक्षक महेश्वर मुल्मी, बैंजु कपाली र मिलन हाडा रहेको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

संयोजक थापाले प्रशिक्षक संघले एन्फा र अध्यक्ष थापाविरुद्धको जारी आन्दोलनमा खुलेर सहयोग पुर्‍याउने जानकारी दिए । ‘हामी प्रशिक्षक पनि लामो समयदेखि गणेश थापाको एकल निर्णयको सिकार हुँदै आएका छौँ,’ संयोजक थापाले भने, ‘त्यसैले प्रशिक्षक संघले प्रशिक्षकहरूको हकहितको कुरा त गर्छ नै, एन्फाविरुद्धको जारी आन्दोलनलाई पनि खुलेर सहयोग गर्छ ।’ संयोजक थापाले अध्यक्ष थापाले प्रशिक्षकमाथि पनि एकलौटी निर्णय लाद्ने गरेको बताए ।

‘तीन वर्षअघि युथ कार्यक्रम भन्दै प्रशिक्षकलाई मासिक ६ हजार दिएर विनानियुक्तिपत्र काम लगाइएको रहेछ, तर उनीहरूलाई फेरि मौखिक निर्णयले हटाइएको छ,’ एन्फामै टेक्निकल डाइरेक्टर भएर काम गरेका उनले भने, ‘म आफैँलाई पनि नियुक्तिपत्र दिइएको थिएन, त्यसैले अध्यक्षको मनोमानीविरुद्ध संगठित भएका हौँ ।’

संयोजक थापाले प्रशिक्षक राजु शाक्यको नेतृत्वमा प्रशिक्षक संघ रहे पनि त्यसले प्रशिक्षकहरूको हकहितमा काम गर्न नसकेको बताए । ‘राजु शाक्यको नेतृत्वमा भएको समिति कतै दर्ता छैन, त्यसले कुनै निर्णय गरेको माइन्युट पनि छैन,’ उनले भने, ‘युथ कार्यक्रमबाट हटाइएका प्रशिक्षकहरूले कुरा राख्दा पनि त्यो समितिले चासो दिएन, त्यसैले हामीले प्रशिक्षकको हितमा काम गर्ने वैधनिक संघको पहल गरेका हौँ ।’ उनले यो संघलाई चाँडै नै वैधानिकताका लागि पहल गर्ने पनि बताए ।

यस्तै उनले अन्य वरिष्ठ र जुनियर प्रशिक्षकलाई समेत समेट्ने जानकारी दिए । ‘हामी यो संघलाई वैधानिकता दिन चाँडै नै दर्ता प्रक्रियामा जानेछौँ,’ उनले भने, ‘हामीले अझै केही सिनियर प्रशिक्षक दाइहरूसँग पनि कुरा गर्ने योजना बनाएका छौँ, साथै जुनियर प्रशिक्षकलाई पनि संघमा आबद्ध गर्न पहल गर्छौँ ।’ प्रशिक्षकहरूसमेत संगठित भएपछि अध्यक्ष थापाविरुद्धको आन्दोलन थप चर्कने देखिएको छ । अध्यक्ष थापाविरुद्ध अघिल्लो सिजनको पुरस्कार तथा प्रतियोगिता तयारी खर्च नपाएको भन्दै चार फुटबल क्लब फ्रेन्ड्स, मच्छिन्द्र, सरस्वती र हिमालय शेर्पा आन्दोलनमा छन् ।

फ्रेन्ड्सले त अध्यक्ष थापाविरुद्ध पुनरावेदन अदालत पाटनमा दुईवटा मुद्दासमेत दर्ता गरेको छ । साथै अध्यक्ष थापाविरुद्ध एसियाली फुटबल महासंघ (एएफसी)का निलम्बित अध्यक्ष मोहम्मद बिन हमाम र उनको कम्पनी केम्कोबाट विभिन्न समयमा लिएको लाखौँ डलरको छानबिन तथा संघभित्रकै निर्णय पारदर्शी हुनुपर्ने मागसहित उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा केन्द्रीय सदस्य पंकज नेम्वाङ पनि आन्दोलनमा छन् ।

उनीहरूले अख्तियार र संसद्को लेखा समितिमा समेत उजुरी गरेका छन् । सोही उजुरीमाथि सार्वजनिक लेखा समिति, अख्तियार र सम्पत्ति शुद्धीकरण आयोगले छानबिनसमेत गरिरहेको छ । अध्यक्ष थापा भने शुक्रबार राप्रपा नेपालको तर्फबाट सभासद् भएका छन् ।

No comments: