Tuesday, August 26, 2014

दशैं मनाउन घर आउने तयारीमा रहेका युवक साउदीमा बेपत्ता

26 August 2014 19:21
Som Silwal2साउदीबाट दशैँमा घर आउने तयारीमा रहेका युवक १० दिनदेखि साउदीमा हराइरहेका छन् । उनको खोजी गरिदिन परिवारजनले राजधानी काठमाडौं आएर अधिकारकर्मी, सञ्चारजगत र राज्यसँग आग्रह गरेका छन् । 
चितवन रत्ननगरका २६ वर्षीय सोमप्रसाद सिलवाल १६ अगस्ट अर्थात् ३१ साउनदेखि साउदीको रियादबाट बेपत्ता भएका हुन् । ‘दशैँमा घर आउने तयारी गरेर बसेको भाइ एकाएक बेखबर भएपछि खोजीमा जुटेका छौँ, केही पत्ता लागेको छैन,’ मंगलबार परराष्ट्र मन्त्रालयमा भाइ हराएको रिपोर्ट गरेपछि दाजु नवराजले भने, ‘साथीहरुकहाँ जान्छु भनेर हिँडेको भाइ फर्किएको छैन र मोबाइल पनि अफ छ, कोठाका साथीहरुले पनि खोजी जारी राखेका छन् ।’
२९ सेप्टेम्बर २०१२ अर्थात् १३ असोज ०६९ मा साउदी अरबको अल मजाल अल अरबी ग्रुपमा सवारी चालकको काममा गएका सिलवाल दुईवर्ष काम गरेपछि यसपटक दशैँमा घर आउने तयारीमा थिए । कोठामा सामान प्याक गरेर घर जाने क्रममा साथीहरु भेट्न गएका सिलवाल एकाएक बेखबर भएपछि खबर परिवारजनमा गरिएको उनका अरबका साथी विकास घिमिरेले बताए ।
‘सम्भव भएसम्म सबैतिर साथीभाइकहाँ खबर गरियो, उनलाई फेला पार्न सकिएन,’ घिमिरेले भने, ‘कोठामा उनका सामान प्याक भएका अवस्थामा छन्, मान्छे एकाएक बेखर भएपछि हामी पनि चिन्तित छौँ र खोजीमा जुटेका छौँ ।’
परिवारका भएका तीन छोरामध्ये दुई छोरा विदेशमा रहेको र यसपटकको दशैँमा सबै भेट हुने भनेर खुशी रहेका सिलवालका आमाबाबु पनि यतिखेर कान्छो छोरा हराएपछि चिन्तामा छन् । आमा अजिता र बाबु चुडामणि छोराको केही खबर आउँछ कि भनेर खोजीमा जुटेका छन् । साउदीमा भएको छोरो हराएको खबरपछि उनीहरु खोजीमा जुटेका हुन् भने मलेसियामा भएको माइलो छोरा रामकृष्ण १८ भदौमा नेपाल आउँदैछन् ।
परराष्ट्रमा उजुरीपछि दाजु नवराज भाइको खोजीको अपिल गर्दै सञ्चारकर्मीसाग अपिल गर्दैछन् । बेपत्ता रहेका सोमप्रसाद सिलवालको फेसबुक एकाउन्टमा पनि उनका साथीहरुले चिन्ता प्रकट गर्दै सम्पर्कमा आउन स्ट्याटस लेखेका छन् ।
- See more at: http://www.nepaljapan.com/2014/08/26/128262/#sthash.rjeO7ww3.dpuf

No comments: