Sunday, August 31, 2014

ठूलो जुवा खालमा प्रहरीको छापा, फोरम नेता सहित २० जना पक्राउ


August 31 विराटनगर :

 मोरङको पथरी शनिश्चरे नगरपालिका ५ का जगतबहादुर राईको घरमा लामो समयदेखि संचालन गरिएको जुवा खालमा प्रहरीले शनिबार साँझ छापा मारेको छ। ठूलो रकमको हारजीत भइरहेको भन्ने सूचनाका आधारमा डिएसपी प्रभुप्रसाद ढकालको नेत्रृत्वमा गएको प्रहरीले छापा मार्दा मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका केन्द्रीय सदस्य अर्जुन तुम्रुक (लिम्बु) सहित २० जना जुवाडे पक्राउ परेका छन्। पक्राउ परेका सवैलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। प्रहरीले उनीहरुका साथबाट जुवा खेल्ने कौडा, पाउडर, तास, नगद, विभिन्न कम्पनीका मोवाइल र जुवाडेहरुले को १ च ७३२४ नम्वरको स्कोरपियो गाडी समेत बरामद गरेको छ। तुम्रुक यस अघि पनि तीन पटक भन्दा बढी जुवा खालबाट पक्राउ परिसकेका छन् । जुवा खाल संचालन गर्ने र पटक पटक पक्राउ पर्नु साथै गाउँमा जुवाका कारण विक्रिती फैलिएको भन्दै स्थानीय बासिन्दा तथा अगुवा महिलाहरुले गाउँको विक्रीती र विसंगति नियन्त्रण गर्नका लागि तुम्रुककै संयोजकत्वमा समिति गठन समेत गरेका थिए । तुमु्रक गत बर्ष मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा लोकतान्त्रीकका तर्फबाट समानुपातिक तर्फका उम्मेदवारपनि हुन् । जुवा खालबाट तुम्रुक सहित अन्य २० जना पेशेवर जुवाडेलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले बताए । एसपी पोखरेलका अनुसार पक्राउ पर्नेमा झापाको सतासीधाम ७ का ४४ बर्षीय तुमु्रक, तरुण दल सुनसरीका पूर्व सभापति इटहरी ३ का विकास केसी, झापाको दमक १ का ४६ बर्षीय दुर्गाप्रसाद राई, झापा तोपगाछी ८ का ३५ बर्षीय युवराज रेग्मी, मोरङको मधुमल्ला२ का ६५ बर्षीय गौरीमान राई, उर्लावारी ५ का ५५ बर्षीय राम कार्की, सुनसरीको धरान १३ का ४६ बर्षीय सुरेन्द्रकुमार थापा छन् । त्यस्तै भोजपुरको देवानटार ८ का ३३ बर्षीय बमबहादुर बस्नेत, मोरङको पथरी ७ का ३१ बर्षीय सोमकुमार राई, ३० बर्षीय लालबहादुर राई, मोरङकै उर्लावारी ४ का ४४ बर्षीय रितिक केसी भनिने केशव डाँगी, धरान १६ का २६ बर्षीय अमल राई, झापा दमक १३ का ४५ बर्षीय दिलिप पाण्डे भनिने डिगबहादुर पाण्डे पक्राउ परेका छन्। मोरङको राजघाट, ९ का ३८ बर्षीय विक्रम लिम्वु भनिने प्रेम लिम्वु, भोजपुर देवानटार ८ का २९ बर्षीय सुमन राई, उर्लावारी ६ का ५० बर्षीय गोपाल केसी भनिने गोविन्द कार्की, दमक १३ का ४३ बर्षीय तिलराम पुरी, उर्लावारी ४ का ४० बर्षीय विक्रम कार्की भनिने बेलबहादुर कार्की, मोरङकै इटहरा २ का ३९ बर्षीय नविन कटुवाल र पथरीकी २२ बर्षीय सरिता खरेललाई जुवा खालबाटै पक्राउ गरिएको एसपी पोखरेलले बताए। जुवा खालबाट १६ वटा कौडा, दुई बट्टा पाउडर, एक सय ५६ पत्ती तास, सात लाख ६८ हजार सात सय ९९ रुपैयाँ नगद, विभिन्न कम्पनीका २३ वटा मोवाइल र एउटा गाडी प्रहरीले बरामद गरेको छ । ‘दैनिक जसो ठूलो धराराशी हारमार हुने गरी जुवा खाल संचालन हुने गरेको सूचना प्रहरीलाई आएको थियो’, एसपी पोखरेलले भने, ‘त्यही सूचनाका आधारमा प्रहरीले छापा मारेर जुवाडेलाई पक्राउ गरिएको हो ।’ यस अघि जंगलमा जुवा खाल बनाएर जुवा खेलाइने गरेको भन्दै प्रहरीले कडाई गर्न थालेपछि जुवाडेहरुले ठाउँ परिवर्तन गरेर पून व्यक्तिका घरमा जुवा खेल्न थालेको पोखरेलले बताए । ‘पक्राउ परेका मध्ये तुम्रुकको काम नै व्यावसायिक रूपमा जुवा खेलाउने रहेको हाम्रो रेकर्डले बताउँछ,’ मोरङ प्रहरीका एसपी विश्वराज पोखरेलले भने, ‘कहिले जंगलमा, कहिले गाउँ, कुना काप्चा उनले अखडा थाप्ने गरेका छन् ।’ केही समयअघि उर्लाबारी–६ स्थित जंगलमै जुवा अखडा सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रहरी पुग्दा तुम्रुकको टोली फरार भएको थियो। पक्राउ परेका सवै पेशेवर जुवाडे रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाउने तयारी गरिएको छ । मान्छेको घरबार नै तहसनहस पारिदिने जुवामा कारबाही भने अत्यन्तै कम हुने गरेको छ । यसरी समातिएका व्यक्ति बढीमा पाँच सय रूपैयाँ धरौट जम्मा गरेर छुट्न सक्ने व्यवस्था जुवा ऐनमै छ । पक्राउ परेका फोरम नेता तुमु्रकले आफूलाई जुवाको लत लागिसकेको बताएका छन् । ‘म जुवाकै मानसिक रोगी भइसकेको छु’, उनले भने, ‘दिनमा दुई तीन घण्टा मैले खेल्नै पर्छ।’ उनले आफू फोरम नेता भइसकेपछि नियमित जुवा छाडेर आफ्नो दिमागलाई ब्यस्त बनाउन क्यारम बोर्ड, चेस, लुँडो र तास खेल्न थालेको पनि बताएका छन् । कहिले काहीं भने खेल्ने गरेको थिएँ उनले भने । आफ्नो लेनदेनको विषय रहेकाले लेनदेन गर्नु पर्ने मान्छे जुवा खालमा रहेका कारण आफू त्यहाँ पुगेको तर शनिबार भने जुवा नखेलेको उनको दावी छ । यस अघि भारतको जोगवनी सम्म गएरपनि आफूले जुवा खेल्ने गरेको तुमु्रकले बताए ।

No comments: