Sunday, August 31, 2014

रेशममार्गमा रेशमी सपना

August 31

प्रयोग गर्न सहज र आनन्ददायक एवं मुलायम रेशम कपडा आज पनि संसारभर प्रख्यात छ। रेशम कपडाको उत्पादन र प्रयोग चीनमा इसापूर्व ३००० अगाडिदेखि नै भइसकेको थियो। इतिहासअनुसार चिनियाँहरूले अति गोप्य तरिकाले रेशम उत्पादन गरी संसारमा एकलौटी व्यापार गर्थे। यसको उत्पादनबारे बाहिरी मुलुकलाई थाहा थिएन। यसबारे अनेकौं कपोलकल्पित कथा बनेका थिए। तर, सत्य योभन्दा धेरै पर थियो। हजारौं वर्षपछि सन् ४४० तिर खोटानका राजकुमारले चिनियाँ राजकुमारीसँग विवाह गरे। ती चिनियाँ राजकुमारीले रेशम कीराको फुल आफ्नो कपालमा लुकाई चीनबाहिर रेशम उत्पादनको गोप्यता खोलिदिएकी थिइन् भनिन्छ। त्यस घटनाभन्दा पहिले यसरी जीवित कीराबाट रेशमी धागो उत्पादन हुन्छ भन्नेबारेमा पश्चिमी विश्वलाई अत्तोपत्तो थिएन। गोप्यता भंग गरिदिएकोमा ती राजकुमारीलाई चिनियाँ जासुसहरूद्वारा मार्न लगाइयो भन्ने भनाइ पनि छ। पछि सन् ५५० सम्ममा रेशम उत्पादन गर्ने ज्ञान र सीप वेजिन्टाइनसम्म पुग्यो र सन् ११०० तिर इटालीमा रेशम उद्योग नै चल्न थाल्यो।  

रेशममार्गको खोजी 

जर्मनीका विद्वान् स्वेनहेडेनका अनुसार हान वंशका बादशाह उदीले इसापूर्व १३८ मा आफ्ना राजकुमार झानकिनलाई कूटनीतिक स्तर प्रदान गरी पश्चिमको अञ्जान मुलुकतिर विशेष सौगातसहित पठाएका थिए। उनी अफगानिस्तानसम्म पुगी १३ वर्षपछि चीन फर्केका थिए। यसै घटनालाई ऐतिहासिक रूपमा रेशममार्ग (सिल्क रोड) को थालनी भएको मानिन्छ। हेडेनपछि कम्स औरल स्टेइन, आर फिस्टर, पी.के. कवस्लोफ आदि विद्वान्ले लु-लान मंगोलिया, उलनवटोर, कम्बोडिया आदि क्षेत्रमा रेशममार्गको अध्ययन गरेका थिए। करिब दुई हजार वर्षसम्म अनवरत रूपमा चलेको यो व्यापारिक रेशममार्ग सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाएपछि र सन् १५०४ मा एसियामा टिमुरिद शासनको अन्त हुँदा सुरक्षाका कारण बन्द हुन पुग्यो। प्राचीनकालमा पैदल, घोडा र ऊँटमा गरिने यात्राको सट्टा अब आधुनिक युगमा हवाईमार्ग, रेलमार्ग तथा राजमार्गले जोडी रेशममार्गलाई पुन: सञ्चालनमा ल्याई यस क्षेत्रको सांस्कृतिक तथा पर्यटकीय विकास गर्ने सोचको परिकल्पना स्वेनहेडेनले गरेका थिए। यसै रेशममार्गको महत्त्व वृद्धि गर्न सन् १८७० मा भूगोलविद् बेरोनफोन रेक्सटहोर्डनले जर्मन भाषामा प्रथमपटक रेशममार्ग नामांकन गरेका थिए। उनले नै सन् १९३३-३५ को बीचमा रेशममार्गको नक्सांकन गरेका थिए।  

रेशममार्ग र बौद्धधर्म 

 रेशममार्ग चीनको प्राचीन राजधानी सियानबाट सुरु भई ह्वाङ हो नदीको किनारैकिनार लांगचाओ पुगी त्यहाँबाट चीनको विशाल पर्खालमा रहेको हरितमणि द्वारबाट छुट्टिई दुनह्वाङ पुग्छ। त्यहाँबाट बाटो छुट्टिई दुईतिर लाग्छ। तारिम उपत्यका र ताक्लामकान र गोवी मरुभूमि क्षेत्रको उत्तरी र दक्षिणी भई दुईवटा मार्ग भएर जान्छ र पुन: खास्गारमा पुगी मिल्छ। त्यसपछि पुन: समरकन्द, मेर्मा हुँदै पश्चिमतर्फ बढ्छ। इटालीको रोमसम्म पुगी सात हजार पाँच सय किलोमिटरको दूरीमा यो मार्ग टुंगिन्छ। नेपालमा रेशममार्गलाई मुख्य मार्गका रूपमा नभई उपमार्गको रूपमा लिइएको पाइन्छ। नेपालको मार्ग भएर चिनियाँहरू रेशमको व्यापार गर्थे भन्‍ने तथ्य प्रमाणित भने हुन सकेको छैन। तर, चिनियाँ बौद्ध धर्मावलम्बी नेपालको मार्ग भएर लुम्बिनी, कपिलवस्तु हुँदै भारत भ्रमण गर्ने परम्परा रहिआएको पाइन्छ। लिच्छविकालमा अंशुवर्माको समयदेखि औपचारिक रूपमा नेपाल-तिब्बत व्यापारिक मार्ग खुलेको भन्ने धारणा इतिहासकारहरूको छ तर योभन्दा पहिले नै चिनियाँहरू नेपाल भारत जानेआउने गरेको परम्परा पाइन्छ। सेनसाई, फा-जियन, ह्वेनसाङलगायतका चिनियाँ बौद्ध सन्त तथा विद्वान्हरू मंगोलियाको गोबी मरुभूमिको छेउछाउबाट खोटान, पामिर, स्वाट उपत्यका तथा गान्धार प्रदेश अर्थात् हिन्दूकुशको बाटो हुँदै भारत भएर पेसावार पुगी पहाडहरू पार गर्दै उत्तरपश्चिम मार्गबाट पञ्‍जाव प्रवेश गरी मथुरा, संकास्थ, कननौज, श्रावस्ती हुँदै नेपालको कपिलवस्तु (लुम्बिनी), कुशीनगर, वैशाली, पाटलीपुत्र आदि ठाउँको भ्रमण गरेका थिए। टवानच्वांग नामका बौद्ध भिक्षु आचार्य शान्तरक्षितलाई भेट्न गोवी मरुभूमि पार गर्दै तास्कन्द, समरकन्द, खोटान, लहाव, काश्मीर हुँदै भारत आए। त्यसपछि श्रावस्ती, कपिलवस्तु, रामग्राम कुशीनगर आदि मार्ग हुँदै पहिले आएको बाटो अर्थात् मध्य एसियाकै मार्ग भएर उनी चीन फर्किएका थिए। नेपालजस्तो सानो देशमा हुर्केबढेको बौद्धधर्म र दर्शन रेशममार्ग भएर नै उत्तरी विश्वसम्म पुग्न सकेको थियो। नेपालको सन्दर्भमा भारतको वनारस, बोधगया, कपिलवस्तु, लुम्बिनी, बुटवल, रुरुक्षेत्र, कागवेनी, ल्होमानथाङ, गुगे, फुराङ, लद्दाख, काश्मीर, खास्गारसम्मको मार्गलाई रेशममार्गको रूपमा विद्वान्हरूले स्वीकार गरेको पाइन्छ।

 सम्पदा रेशममार्ग 

काठमाडौं उपत्यकाका सातवटा सम्पदा र लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ भने नेपालको उप-रेशममार्गमा पर्ने ल्होमानथाङ, मुस्ताङ, सिञ्जा, तानसेन, रुरुक्षेत्र, रामग्राम, तिलौराकोटलगायतका क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने सम्भावित क्षेत्रहरूको सूचीमा राखिएका छन्। यसर्थ उप-रेशममार्गमा पर्ने यी सांस्कृतिक तथा धार्मिक स्थलको डकुमेन्टेसन अनुसन्धान र त्यसको प्रामाणिक इतिहास तयार गरी रेशममार्गलाई युनेस्कोमा दर्ता गर्न मनोनयन गर्दै लानुपर्ने देखिन्छ। ल्होमानथाङलाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रियामा नेपाल सरकार रहेको देखिन्छ। सन् १९८८ मा युनेस्कोले रेशममार्ग पूर्वपश्चिमको सम्पदाको नारासहित रेशममार्गमा पर्ने विभिन्न देशको शैक्षिक, सांस्कृतिक, आर्थिक तथा पर्यटकीय विकासको लक्ष्य राखेर विभिन्‍न सेमिनार तथा अभियान सञ्चालन गर्दै आएको छ। सन् १९९५ मा युनेस्कोद्वारा गरिएको 'लुम्बिनी-काठमाडौं बौद्धयात्रा'ले नेपालको रेशममार्गलाई तदारुकताका साथ उठान गरेको छ। यसै क्रममा सन् २०११ मे ३-६ मा भएको तुर्कमेनिस्थानको अस्काबाद सम्मेलनमा नेपालले सहभागिता जनाएको छ। रेशममार्गमा खालि पूर्व र पश्चिमबीच व्यापारिक वस्तुमात्र आदानप्रदान भएनन्; विभिन्‍न धर्म, विचार, प्राविधिक तथा आध्यात्मिक ज्ञान, विश्वबन्धुत्वको भावना, मानवतावाद आदिको आपसमा घुलमिल हुने अवसर पनि जुट्यो। यसले गर्दा बौद्ध कलाको विकासमा गान्धार क्षेत्रमा च्च कलाकारिताको विकास हुन पायो। वामियानजस्ता बुद्धमूर्ति बन्न पुग्यो। चीनजस्तो विशाल भूभागमा कपिलवस्तु र लुम्बिनीजस्तो सानो क्षेत्रमा उत्पत्ति भएको महान् बौद्ध विचारले जग हाल्न पायो। यसर्थ इतिहासमा रेशममार्गको अति उत्तम भूमिका छ। भारतको ग्रान्डट्रंक रोडलाई युनेस्कोले बौद्धमार्ग नामांकन गरी दर्ता गरेको छ। त्यस्तै नेपालमा पनि बौद्ध तीर्थस्थल-सम्भावित रेशममार्गलाई विश्‍व सम्पदा सूचीमा राख्दै युनेस्कोको मुख्यालयबाट नेपाललाई शान्तिक्षेत्रका रूपमा घोषणा गर्न नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्छ। यसबाट सांस्कृतिक तथा धार्मिक पर्यटनको विकास हुन गई रेशममार्गमा रेशमी सपनाहरूले साकार रूप लिनेछन्।

No comments: