Tuesday, August 26, 2014

मुख्य न्यायाधीश सिफारिस टुंगिएन

काठमाडौं-पुनरावेदन अदालतमा मुख्य न्यायाधीश नियुक्ति गर्न निरन्तर बैठक बसिरहे पनि न्याय परिषदले नाम टुंगो लगाउन सकेको छैन।
प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा नेतृत्वमा सोमबार मात्रै पनि न्यायपरिषदको बैठक चार घन्टाभन्दा बढी चल्यो। तर, नाम सिफारिस हुन सकेन। 
पुनरावेदनका ६ मुख्य न्यायाधीश र २ कायममुकायम मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्त गरिएपछि देशभरका सबै १६ पुनरावेदन अदालत नेतृत्वविहीन बनेका छन्।
विगतझै यस वर्ष खुला प्रतिस्पर्धा गराउन मापदण्ड नभएकाले सीधै नाममा छलफल गरिएको परिषदका एक अधिकारीले बताए।
अनिवार्य उमेर हदका कारण अवकाश पाएपछि छ वटा पुनरावेदन लामो समयदेखि नेतृत्वविहीन छन्। सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिपछि थप नौ पूनरावेदन अदालत मुख्य न्यायाधीविहीन बनेको हुन्।
अहिले विराटनगर, बुटवल, धनकुटा, दिपायल, हेटांैडा, इलाम, जनकपुर, जुम्ला, महेन्द्रनगर, नेपालगन्ज, पाटन, पोखरा, राजविराज, बाग्लुङ, सुर्खेत र तुलसीपुरमा वरिष्ठ न्यायाधीशले पेसी तोक्ने र दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी सम्हालेका छन्।
परिषदले वैशाख ९ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्त गर्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, तथा कामु मुख्य न्यायाधीशहरू चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेललाई सिफारिस गरेको थियो। नाम सिफारिस भएलगत्तै उनीहरूले पूनरावेदनमा मुद्दा सुनुवाइ गरेका थिएनन्।
सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस गर्दा अन्याय भएको भन्दै जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले अवधि बाँकी छँदै राजीनामा दिएका थिए।
सम्भावित नाम–
न्यायाधीशहरूः बलराम विष्ट, दीपक कार्की, तेजबहादुर केसी, केदारप्रसाद चालिसे, मीरा खड्का, पुरुषोत्तम भण्डारी, सुरेन्द्रवीरसिंह बस्न्यात, शम्भु खड्का, डिल्लीराज पौडेल, शारदा घिमिरे, पोषनाथ शर्मा, बमबहादुर श्रेष्ठ, दामोदर शाही, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई।
सर्वोच्चका रजिस्ट्रार लोहितचन्द्र साह, नायब महान्यायाधिवक्ता राजनारायण पाठक र कानुन सचिव भेषराज शर्मा।

No comments: