विजयकुमार गच्छदार, अध्यक्ष, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)

Bijaya-Kumar-Gachchhadarबहुमतको आधारमा आज हाम्रो नेपालको राजनीति अत्यन्तै महत्वपूर्ण कालखण्डबाट गुज्रिरहेको छ । परिवर्तनका लागि अग्रगामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नेपाली जनताको चाहना हो । यस्तो समयमा हामीले संघीय गणतान्त्रिक मोर्चा बनाएर आफ्नो धारणा जनतासमक्ष लगिरहेका छौं । यद्यपि हाम्रो मोर्चामा रहेका सबै दलहरुको प्रष्ट धारणा संविधानसभाको चुनावताका आएको थियो । हामी हाम्रो उद्देश्य र दृष्टिकोणमा कहिले पनि अल्मलिएका थिएनौं । संविधानसभाको चुनाव पश्चात आज फेरि एउटै मोर्चामा आबद्ध भएर मुलुकलाई निकास दिन खोजिरहेका छौं ।
सत्ता साझेदार दल कांग्रेस–एमालेको बैठक दिनदिनै बसिरहेको छ । ती दलका नेता र मन्त्रीहरु केही घोषणा गर्दै हिंडेका छन् कि माघ ८ गते संविधान जसरी भएपनि ल्याउने । संविधानसभाले पनि एकवर्षभित्र संविधान निर्माण गरिसक्ने घोषणा गरिसकेको छ । सत्तारुढ दलहरुले भन्दै हिडेका थिए कि ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भनेर । अहिले पनि भन्दै हिंडेका छन् संविधान निर्माण हुुनभन्दा अगाडि नै स्थानीय निकार्यको निर्वाचन गर्ने । अहिले भदौ महिना चलिरहेको छ । अब चाडपर्व आउँदैछ । मंसिरबाट त संविधानको मस्यौदा लिएर जनतामा जाने भनिएको छ भने सरकारमा बसेका मन्त्रीहरुले कहिले गर्छन् स्थानीय निकायको निर्वाचन ? मन्त्रीहरु दिउँसै सपना देखेर बर्बराउन थालेका छन् । मलाई आश्चर्य लागेको छ । उनीहरु किन यस्तो भन्दै हिंडेका छन् भने उनीहरु माघ ८ गतेभित्र मुलुकलाई संविधान दिने पक्षमा छैनन् ।
पञ्चायती व्यवस्थादेखि बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा अहिले हामीले यो मोर्चा बनाएका छौं । यो मोर्चा हामीले संविधान निर्माणका लागि बनाएको हो । तर सत्तारुढ कांग्रेस–एमालेहरुले भने संविधान निर्माण हुन नदिन यो मोर्चा बनेको हो भनेर आरोप लगाइरहेका छन् ।
यदि कुनै नेता वा दलले देश र जनताको राम्रो काम गर्न खोज्दा उसको नियतमाथि प्रश्नचिन्ह उठाइन्छ भने त्यो दुःखद् मात्रै हुँदैन, त्यसले विद्रोह जन्माउँछ । यो मोर्चा घोषणा हुने दिन मै हामीले भनेका थियौं कि ‘पहिचासहितको संघीयता, संघीयतासहितको संविधान’ । संविधान निर्माण हुन नदिन यो मोर्चा बनेको होइन ।
भर्खरै हाम्रो देशको भ्रमण गर्दै संसदमा ऐतिहासिक सम्बोधन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जी फर्किनु भयो । उनले ऋषिमनले संविधान निर्माण गर्नुस् भनेर सुझाव दिएका छन् । यो उनले हाम्रो मोर्चामा आबद्ध दलका नेताहरुलाई मात्र भनेको होइन, सत्तारुढ पार्टीहरुको लागि पनि भनेको हो । सत्तारुढ दलहरुको नियत राम्रो देखिएको छैन । उनीहरु दूई तिहाइ बहुमतको अहंकारमा डुबेका छन् । हाम्रो मोर्चाको नियत नराम्रो होइन । हामीले सरकारमा नजाने घोषणा गरिसकेका छौं । जबसम्म यो देशमा संविधान बन्दैन, तबसम्म हामी सरकारको बारेमा सोच्दै सोच्दैनौं ।
संविधान जस्तो बनेपनि हामीलाई स्वीकार्य हुन्छ भन्ने होइन । यहाँ दशौं हजारले रगत बगाएको छ । मधेशमा सैयौं व्यक्तिले रगत बगाएका छन् । मधेशी, जनजाति, थारु सबैको आन्दोलनले ठूलो मूल्य चुकाएको छ । माओवादी आन्दोलनले १३ हजारभन्दा बढीको रगत बगाएको छ । रगत बगेको संविधानको एउटा खोस्टो ल्याउनका लागि होइन । संविधान निर्माणमा हामी इमान्दार तरिकाले एकदमै मिहनत गरिराखेका छौं । हामी विवादित विषयहरुमा सहमति खोज्ने क्रममा लागिरहेका छौं । कांग्रेस–एमालेहरुले ३, ५ र ७ प्रदेशको कुरा गरिरहेका छन् । उनीहरु संघीयताको अपव्याख्या र तोडमरोड गरिराखेका छन् । हामी चीनको सीमानाबाट सुरुभएर भारतको सीमानासम्म जोड्ने उत्तर–दक्षिण प्रदेशहरुको अवधारणासँग यो मोर्चा पूर्णरुपले असहमत छ । त्यस्तो प्रदेशहरुलाई हामी स्वीकार गर्दैनौं । हामी संविधान निर्माणअघि गर्ने भनिएको स्थानीय निकायको निर्वाचनसँग पनि सहमत हुन सक्दैनौं । स्थानीय निकायको चुनाव संविधान निर्माण भएपछि मात्र गर्नुपर्छ । कांग्रेस–एमालेले दुईतिहाइ बहुमतको अहंकारका आधारमा संविधान घोषणा गर्न खोजे भने त्यो हामीलाई कुनैपनि हालतमा मान्य हुनेछैन ।
माघ ८ गते पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको निर्माणमा हामी जोड दिन चाहन्छौं । राज्य पुनर्संरचना र राज्यको शक्ति बाँडफाड र शासकीय स्वरुपको सम्बन्धमा विगतको संविधानसभाको विषयगत समितिले तयार पारेको प्रतिवेदनमा आधारित भएर अगाडि बढ्न चाहन्छौं ।
(संघीय गणतान्त्रिक मोर्चाले गरेको विचारगोष्ठीमा व्यक्त विचारमा आधारित)
No comments:
Post a Comment