Thursday, August 28, 2014

असुरक्षित दिल्‍ली


१२ बिहीबार 

 'सार्क' सामाजिक सुरक्षा नीति र प्रभावकारी कार्यान्वयन आवश्यक नेपाल र भारतबीचको खुला सिमाना दुई मुलुकबीचको सम्बन्धको खुलापन, आत्मीयता र आपसी निर्भरताका परिचायक हुन्। बढ्दो अर्थतन्त्र र रोजगार सम्भाव्यताका कारण खासगरी २०५२ बाट सुरु भएको माओवादी आन्दोलन र दशकपछि शान्ति प्रक्रिया सुरु भए पनि त्यसले स्थायित्व निम्त्याउन नसकेकोले खुला सिमानाको लाभ लिँदै दक्षिणतर्फ पलायन हुने नेपालीहरूको संख्या त्यही अनुपातमा बढ्दो छ। आर्थिक अवसरका ढोका खुल्दा र अर्कोतिर सस्तोमा श्रमिकहरूको आपूर्ति गर्ने नाममा असंगठित तथा आपराधिक दलालहरूको बिगबिगी बढ्न सम्भावना पनि सकारात्मक अवसरसँग जोडिएका हुन्छन्। भविष्यको खोजीमा नेपाली सहजै पुग्न सक्ने भारतको राजधानी नयाँदिल्लीको छवि मुलुकभित्र र बाहिर गिर्दो छ खासगरी त्यहाँ नियमितरूपमा भइरहेका महिलामाथिका बलात्कारका कारण। विगत केही वर्षयता विदेशी कूटनीतिज्ञदेखि त्यहाँकै मेडिकल छात्रासँगै कामको खोजीमा दिल्ली पुगेका नेपाली युवती सामूहिक बलात्कारको सिकार बनेका छन्। घटनापछि प्रहरी सक्रियता र न्यायिक निर्णयको गतिमा तीव्रता देखा परे पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सबभन्दा बढी सशक्त प्रजातान्त्रिक मुलुकको राजधानीको असुरक्षित छवि त्यस अर्थमा ऊसँग खुला सिमाना रहेका नेपालका लागि मात्र हैन, अन्य छिमेकीका लागि पनि अशुभ संकेत हो। सार्क शिखर सम्मेलनका पूर्व सदस्य मुलुकहरूका बीच दक्षिण एसियाली क्षेत्रमा सामाजिक सुरक्षा, महिला हिंसामा न्यूनता र आप्रवासी मजदुरहरूको सुरक्षाबारे चिन्ता बढाएको छ। कामको खोजीमा दिल्ली पुग्ने नेपाली युवायुवतीका लागि दिल्लीमा हालै नेपाली युवतीमाथि भएको सामूहिक बलात्कारको घटना एउटा दु:खद र त्रासदीपूर्ण चेतावनी हो। अवसरसँग अक ल्पनीय जोखिम जोडिएका हुन्छन्। त्यसैले अवसरको खोजीमा निस्कँदा जोखिम विश्‍लेषण र सतर्कता अपनाउनु त्यत्तिकै आवश्यक हुने गर्छन्। सन् २०१३ मा महिलामाथि यौन बलात्कारका १६०० भन्दा बढी घटना भएका थिए अघिल्लो वर्षको तुलनामा दोब्बर। त्यसले आपराधिक प्रवृत्तिमा भएको बढोत्तरी र खासगरी बाहिरबाट आएकाहरूको असुरक्षाको स्थितितर्फ संकेत गर्दछ। सार्क शिखर सम्मेलनपूर्व सदस्य मुलुकहरूबीच दक्षिण एसियाली क्षेत्रमा सामाजिक सुरक्षा, महिला हिंसामा न्यूनता र आप्रवासी मजदुरहरूको सुरक्षाबारे चिन्ता बढाएको छ। र सम्बन्धित मुलुकहरूका प्राज्ञ, नागरिक समाज र केही राजनीतिक प्रतिष्ठानहरूले असुरक्षाका यस्तै घटना र वातावरणलाई ध्यानमा राख्दै 'सामाजिक सुरक्षा' मस्यौदा दस्तावेजलाई साझा रूप दिन लागिपरेका छन्। सम्भवत: मंसिरमा निर्धारित शिखर सम्मेलनबाट त्यसले सामूहिक अनुमति पाउनेछ। भारत अझै पनि 'देह व्यापार' को ठूलो बजार रहिआएको छ। र करिब १२ हजार नेपाली महिला दलालमार्फत बर्सेनि त्यहाँ बेचिने गरेका छन्। महिलाको असुरक्षा या सुरक्षा स्थिति फरक किसिमको भए पनि अन्य मुलुक पनि त्यो समस्याबाट ग्रस्त छन्। 'सामाजिक सुरक्षा' अवधारणागतलाई सम्बन्धित राज्य र सरकारहरूले केवल औपचारिकता लागि हैन, सक्रिय, प्रभावकारी र सकारात्मक प्रतिबद्धताका साथ लागू गरेमा सम्भवत: दिल्लीमा सोमबार एक नेपाली महिलामाथि भएको घटनाको कुनै रूपमा कतै पुनरावृत्ति हुने छैन।

No comments: