गणेश र चन्द्रमाको पुजा गरी चथाः पर्व मनाउँदै

30 August
गणेश चतुर्थीको अवसरमा आज भक्तपुरका नेवार समुदायले गणेशको पूजा गरी चथाः पर्व मनाएका छन् । यो पर्वलाई नेवार समुदायले दसैँ भित्र्याउने चाडका रुपमा पनि मनाउने गर्दछन् ।
आजको दिनलाई भगवान् गणेशको जन्म दिनका रुपमा समेत लिइन्छ । दसैँको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरी घरमा मासु भित्र्याउने चलन पनि रहेको छ । आजको दिन बेलुकी चन्द्रमाको आराधना गरी धुमधामका साथ पूजा गर्ने प्रचलन रहेको छ ।
आजको दिन चन्द्रमाको पूजा गरे वर्ष भरी चोर दोषबाट मुक्त हुने जनविश्वास रहेको पाइन्छ । पूजा गर्ने क्रममा सूर्यास्त हुने समयमा र सा“झ चन्द्रमा देखिएपछि कमलको पातमा अनार, बिमिरा, बोटसहितको अदुवा, नासपाती, काँक्रो, भुटेको मकै, भटमास, गहुँ, चना, केराउलगायतका गेडागुडी राखेर पूजा गरिन्छ ।
आज चन्द्रमालाई हेर्न हुँदैन भन्ने जनश्रुति पनि पाइन्छ । राति चन्द्रमालाई हेरेमा अनाहकमा चोर दोष लान्छ भन्ने जनविश्वाससमेत पाइन्छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दसैँ पनि राम्रो हुने धार्मिक मान्यता रहेको छ भने आजको दिन पानी परे दसैँमा पनि पानी पर्छ भन्ने विश्वास रहेको पाइन्छ ।
No comments:
Post a Comment