26 August 2014 20:16
सोलिडारिटी ट्रष्ट नेपालले वैदेशिक रोजगारीमा आपत्मा परेका नेपालीलाई उद्धार कार्यमा सहयोग पुर्याएको भन्दै साउदी अरबमा कार्यरत इञ्जिनियर धरम केसीलाई उत्कृष्ट गैरआवासीय नेपाली घोषणासहित सम्मान गरेको छ ।
राजधानीमा मंगलबार आयोजित कार्यक्रममा कानुन, न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले केसीलाई सम्मान गर्नुभयो ।
सन् २००२ देखि साउदीमा निरन्तर कार्यरत केसीले वैदेशिक रोजगारीका क्रममा दुःख पाएका तथा नेपालको पर्यटन प्रवद्र्धनलगायतका काममा सहयोग पुर्याएको कदर स्वरुप केसीलाई ट्रष्टले सम्मान गरेको हो ।
सो अवसरमा मन्त्री आचार्यले वैदेशिक रोजगारीमा जानुअघि जान लागेको देशको भाषा, संस्कृति, कानुनी ज्ञान तथा आफूले गर्न लागेको कामबारे व्यावसायिक सीप र दक्षता हासिल गर्न सके काममा सहजता हुने बताउनुभयो ।
उहाँले थुप्रै नेपाली कामको सिलसिलामा विदेश जाने गरेको र दुःखसमेत पाउने गरेको समाचार आउने गरेको बताउँदै दुःखमा परेकालाई सघाउने काममा केसीजस्ता व्यक्ति र त्यहाँ रहेका सङ्घसंस्थाले गरेको कामको प्रशंसा गर्नुभयो ।
सो अवसरमा उत्कृष्ट गैरआवासीय नेपालीको सम्मान पाउनुभएका केसीले गैरकानुनी तवरले साउदीमा जाने नेपाली महिलाको सङ्ख्या बढेको बताउँदै प्रवासमा रहेर दुःख पाएका नेपालीको हकहितका लागि काम गर्न सम्मानले प्रेरणा थपेको धारणा व्यक्त गर्नुभयो ।
ट्रष्टका अध्यक्ष चन्द्रिका रानाको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, हिरण्यलाल श्रेष्ठ, प्रा. डा. दुर्गादत्त पौडेल, लोककृष्ण भट्टराई, भीम उदास र रामेश्वर शाहले वैदेशिक रोजगारीका विविध विषयमा प्रकाश पार्नुभएको थियो ।
- See more at: http://www.nepaljapan.com/2014/08/26/128274/#sthash.sijdcod5.dpuf
No comments:
Post a Comment