बेपत्ता परिवारको माग: 'पैसा हैन, प्राण चाहियो'
August 31 गोरखा :
'... कि सास चाहियो, कि लास चाहियो, खै उनी कहाँ छन् . .' भन्ने बद्री पंगेनीको गीतजस्तै गोरखाका बेपत्ता परिवारका आफन्तले माओवादी युद्धको बेला राज्य र विद्रोही पक्षबाट बेपत्ता बनाइएका आफन्तको खोजी गरिरहेका छन्।
'१२/१४ वर्ष भयो यताबाट आउँछ कि उताबाट आउँछ भनेर बाटो हेर्दै बसेको', मसेल ६ का रविलाल देवकोटा भन्छन्, 'कि यसरी मारियो, मर्यो, आउँदैन भनिदिनुपर्यो। हामी काजकिरिया गर्छौं। कि यहाँ यो अवस्थामा छ भनिदिनुपर्यो।' राहतभन्दा पनि आफ्नो छोरा गोपाल देवकोटाको वास्तविक अवस्था जान्न पाए पुग्ने उनले बताए।
'हामीलाई राहत होइन, सत्य कुरा भनिदिए पुग्छु, उनी भन्छन्, 'राहत भन्दै पैसा दिएर हाम्रो मन शान्त हुदैन। आयोग बन्छ। सत्यतथ्य कुरा आउँछ भन्छन्। मान्छे पनि आउँदैन। आयोग पनि बन्दैन।'
गोपाललाई राति १० बजे सुतिरहेको अवस्थामा तत्कालीन विद्रोही माओवादीले ओछ्यानबाटै बेपत्ता बनाएको उनको भनाइ थियो। कागजी प्रमाण नपुगेको भन्दै राज्यले अहिलेसम्म राहत पनि नदिएको गुनासो उनले गरे। 'राहत नदिए पनि नदेओस्।
हलो जोतेर वा भिक मागेर खाउँला। तर मेरो छोरा कहाँ छ, के भएको हो? जे हो, त्यही भनिदेओस्', रविलालले भने, 'हामी छोराको काजकिरिया गर्न पाऊँ।'
बेपत्ता भएकाको रगतमा टेकेर माओवादी नेताहरु सरकारमा पुगे। प्रधानमन्त्री भए। तर खै बेपत्ताको खोजबिन गरेको? खै त हाम्रो माग पुरा गरेको?
त्यस्तै पीडा छ मनकामना गाविस ९ सिलिङकी इममाया थापाको पनि। सेनामा कार्यरत उनका पति खिलबहादुर थापा २०५९ सालदेखि बेपत्ता छन्। '१२ वर्ष भयो मेरो श्रीमान् बेपत्ता भएको। खोजी गर्न गइयो। कहाँ गयो, के गर्न गयो, केही पत्तो छैन',
उनले भनिन्, 'छोराछोरी हाम्रा बाबा कहाँ जानुभा', कहिले आउनुहुन्छ भनेर सोध्छन्। के जबाफ दिऊँ?' बेपत्ताका परिवारजनले राहत पाउँछन् भन्ने जानकारी पनि नपाएकी उनले अहिलेसम्म राहत दाबी पनि नगरेको बताइन्।
आफ्ना दाजु अशोक अकेलालाई २०६० सालदेखि तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनाएको घटना सम्झिन्छिन् सपना स्वर्णकार। त्यतिबेला ४९ जनालाई शिवपुरी जंगलमा मारेर गाडेकोमा आफ्नो दाजु परेको भन्ने सुने पनि राज्यले अहिलेसम्म पुष्टि नगरेकोमा उनले आपत्ति जनाइन्।
'युद्धको बेला थियो। यसले र त्यसले भन्नु भन्दा पनि त्यतिबेलाको बाध्यता र आवश्यकताले गर्दा घटना भएका छन्। त्यो हामी बुझ्छौं। तर घटनाको सत्यतथ्यमात्र हामीले मागेका हौं', उनले भनिन्, 'हामीले अहिले पनि भनिरहेका छौं, यो पक्ष, त्यो पक्ष नभनीकन तीव्रतापूर्वक खोजी हुनुपर्छ।'
छोप्राक ९ चोरकाटेकी मनमायाका छोरा बाबुराम कुमाललाई २०५८ साल असोज ६ गते प्रहरीले गिरफ्तार गर्यो। 'चप्पल पनि नलगाईकन एसएलसीसम्म पढेको मेरो छोरोलाई कसले बेपत्ता बनायो, थाहा छैन', उनले भनिन्। छोराको सम्झनामा मनमायाका आँसु अझै थामिएका छैनन्।
'पुलिसले लगेको हो, आउँछ भने। पर्खेर बसें। आज आउला छैन, भोलि आउला छैन। दाइलाई बेपत्ता बनाएको रिसले अर्को छोरो सन्दीप पनि माओवादीमा लाग्यो', उनले भनिन्। उनले आफ्नो छोरो जेजस्तो अवस्थामा भए पनि जान्न चाहेको बताइन्।
भाइ कुमार ढकाल २०५५ साल फागुन ११ गते बेपत्ता भएदेखि आफूहरूले सबैलाई सुनाइरहेको तर भाइका बारेमा सुन्न नपाएको रामबाबु ढकालले दु:ख पोखे। 'द्वन्द्व किन भयो, बेपत्ता किन भयो? भन्ने हाम्रो प्रश्न होइन। त्यतिबेलाको अवश्यकता हुनसक्छ', उनले भने, 'तर राज्यले हामीलाई एक लाख, दुई लाख दिएर टार्ने प्रयास गरेको छ।
आफन्त बेपत्ता भएका छन्। बुबाआमा बेपत्ता भएका सन्तानलाई सम्झेर दीर्घरोगी भएका छन्। मरेका बरु एकपटक मरे। बेपत्ता भएकालाई सम्झेर बाँचेकाहरू बाँचुन्जेल मरिरहेका छन्।' आफूलाई १० करोड दिए पनि राहत नहुने तर बेपत्ताको अवस्थाका बारेमा जानकारी दिनुपर्ने उनले बताए।
बेपत्ता छानबिन आयोग गठन भएपछि अवस्था सार्वजानिक हुनेछ भन्ने आसैआसमा बसेको उनले बताए। तर जुन पार्टीमा लागेर आफन्त बेपत्ता भएका हुन्, त्यही पार्टीका नेता कानमा तेल हालेर बसेको भन्दै बेपत्ताका परिवार मर्माहत भएको उनले बताए।
'हामीलाई सबैभन्दा बढी गुनासो त आफ्नै पार्टीसँग छ', उनले भने, 'आफ्नै मातृपार्टी तत्कालीन माओवादीका नेतासँग म सबैभन्दा बढी गुनासो गर्छु। बेपत्ता भएकाको रगतमा टेकेर उहाँहरू सरकारमा पुग्नुभयो। प्रधानमन्त्री हुनुभयो। तर खै त बेपत्ताको खोजबिन गरेको? खै त हाम्रो माग पूरा गरेको?'
नेपाल बार एसोसिएसनका सचिव यादव शर्माले त्यतिबेला लड्ने दुवै पक्ष राज्य सञ्चालनमा सँगसँगै भएको तर दुवैले बेपत्ताको खोजी नगरेको भन्दै दु:ख व्यक्त गरे। 'त्यतिबेला लड्ने पनि लडाउने पनि अहिले एकै ठाउँमा छन्', उनले भने, 'तर बेपत्ताको खोजबिन गर्न केले रोकेको छ?
बेपत्ता भएकाहरू मारिएका भए पनि स्पष्ट भनिदिए आआफ्नो संस्कारअनुसार काजकिरिया गर्न त पाउँथे। त्यसैले राज्यले बेपत्ताको अवस्था सार्वजानिक गरिदिनुपर्छ।'
No comments:
Post a Comment