Sunday, August 31, 2014

टोरेस मिलानतर्फ

August 31

चेल्सीका स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेस इटालियन सिरी ए क्लब एसीमिलान जाने भएका छन् । शनिबार चेल्सी र मिलानबीच सहमति भएपछि टोरेसको इटाली यात्रा पक्का भएको हो ।

सहमतिअनुसर टोरेसले आगामी दुई वर्षका लागि मिलानबाट फुटबल खेल्नेछन् । टोरेस मिलान जानेबारेको समाचार दुवै क्लबले पुष्टि गरेका छन् । दुवै क्लबले आ–आफ्नो वेबसाइटमार्फत टोरेसबारे सहमति भएको उल्लेख गरेका छन् । चेल्सीको वेबसाइटमा लेखिएको छ, ‘हामीले सहमति जनाएका छौँ, तर अब मिलान जाने–नजाने उनै टोरेसमाथि निर्भर छ, किनभने त्यसका लागि उनले व्यक्तिगत सर्तमा सहमति जनाउनुपर्नेछ र मेडिकल टेस्ट पास गर्नुपर्नेछ ।’

चेल्सीले प्रशिक्षक/म्यानेजर जोसे माउरिन्होले ३० वर्षीय टोरेसले क्लब छाड्न सक्ने सार्वजनिक अभिव्यक्ति दिएको केही घन्टापछि नै मिलानसँगको सम्झौता सार्वजनिक गरिएको हो । त्यसअघि प्रशिक्षक माउरिन्होले टोरेसको गन्तव्यबारे केही संकेत दिएका थिए । टोरेस सन् २०११ मा लिभरपुलबाट चेल्सीमा अनुबन्धित भएका थिए । उनी त्यसवेला इंग्लिस प्रिमियर लिगको रेकर्ड ५० मिलियन पाउन्डमा लन्डन पुगेका थिए । उनी प्राय: सिजनमा चेल्सीबाट सुरुवाती ११ मा स्थान बनाउन संघर्षरत देखिए ।

टोरेसको शुक्रबारअघि नै मिलान जाने चर्चा चलेको थियो । त्यसैले शुक्रबार नै प्रशिक्षक माउरिन्होले टोरेसको इच्छा हेरेर निर्णय गरिने स्पष्ट पारेका थिए । ‘यदि उनी क्लब छाड्न चाहन्छन् र यहाँभन्दा खुसी रहन्छन् भने हामी त्यसका लागि प्रयास गर्नेछौँ,’ माउरिन्होले भनेका थिए । माउरिन्होले आफूले टोरेसलाई क्लबमै राख्न चाहेको पनि बताएका थिए ।

क्लब फुटबलमा संघर्ष गरिरहे पनि टोरेसले आफ्नो देशका लागि भने महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।
स्पेनले सन् २००८ र सन् ०१२ को युरोकप उपाधि जित्दा टोरेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

No comments: