Monday, August 25, 2014

पाइप र जलविद्युत्को नहर बगायो

म्याग्दी, भाद्र ८ - 
वर्षापछि गएको पहिरोले पश्चिम दरबाङ क्षेत्रको जनजीवन प्रभावित भएको छ। अविरल वर्षापछि शनिबार राति रुमखोलामा आएको बाढीले ३० मिटर लामो नहर बगाएपछि ५१ किलोवाट क्षमताको रुमखोला लघु जलविद्युत् परियोजना बन्द भएको छ। जसले गर्दा दरबाङ, निस्कोट, रुम, ओखरबोट र देवीस्थानका करिब ६ सय घरधुरी अन्धकार भएका हुन्। 

नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखा सदस्य मोतीराज गौतमका अनुसार सोही बाढीले दरबाङ बजारमा ल्याएको पाइप बगाएपछि १ सय ८० घरधुरीमा खानेपानी आपूर्ति बन्द भएको छ। बाढी पसेपछि दरबाङ १, साउबोटका पाँच परिवार राति नै घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्। 'रातभरको मुसलधारे वर्षाले एउटा घर भत्केको छ, एक गोरु पुरिएको छ भने पाँच घरले डरले भागेका छन्,' रेडक्रसकर्मी गौतमले भने, 'पैदल बाटोसमेत बगाएपछि आवत-जावतमा समस्या भएको छ।'

यसैगरी पहिरोका कारण दरबाङदेखि बिम र ताकम जाने सडक तथा घोडेटो बाटो बन्द भएको छ। माथिबाट निरन्तर पहिरो खसिरहेकाले दरबाङमाथिका ताकम, मुना, मुदी, गुर्जा, लुलाङ, बिम, मल्कवाङ र मराङ गाविसमा आवतजावत बन्द भएको प्रहरीले जनाएको छ। 

'बाढीपहिरो प्रभावित क्षेत्रमा सहयोग गर्न र पहिरोले पुर्‍याएको क्षतिको विवरण लिन प्रहरी घटनास्थल पुगेको छ। क्षतिको विवरण प्राप्त भएपछि राहत प्याकेज तयार पारिनेछ,' जिल्ला प्रहरी प्रमुख डीएसपी जनार्दन जीसीले बताए।

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५३

No comments: