Tuesday, August 26, 2014

तरकारीमा बिचौलियाको प्रभाव

पृथ्वी राजमार्गको घाटबेसीमा तरकारी बेच्न ल्याउँदै महिला। तस्बिर : रामेश्वर कार्कीधादिङ-तरकारी बजारमा बिचौलियाको चलखेलले उत्पादक र उपभोक्ता ठगिएका छन्।
पछिल्लो समय काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा विषादी मापन केन्द्र (आइपिएम सेन्टर) स्थापनाको हल्लाले समेत किसानठगिन पुगेका छन्।’बजारमा आइपिएम सेन्टर छ, विषादी राखेको तरकारी बिक्दैन' भन्दै किसानसँग सस्तोमा किनेर कालीमाटी नै नपुर्याेई चक्रपथ बाहिरका बजारमा बिक्री वितरण भएको पाइएको छ। यसको प्रत्यक्ष मार उत्पादक किसान र उपभोक्तालाई परेको छ।
किसानसँग सात रुपैयाँ प्रतिकिलो किनेको भिन्डी बजारमा २० देखि २५ मा बिक्री हुन्छ। लौकामा किसानले ७–८ रुपैयाँ पाउँछन् उपभोक्ताले २५ तिर्छन्। करेलामा किसानले ५–६ रुपैयाँ पाउँछन्, उपभोक्ताकहाँ पुग्दा ४० पर्छ। उत्पादक र उपभोक्ताबीचको मूल्य फरक घटाउन सरकारले कुनै भूमिका नखेलेको किसानको गुनासो छ।
‘हामीले किलोमा पाउने मूल्य उपभोक्ताले पाउमा तिर्नुपर्छ,' विशालटारका राजकुमार विसुराल भन्छन्, ‘बिचौलियाका दबदबामा किसान निरीह छन्।'
पछिल्लो समय कालीमाटीमा आइपिएम सेन्टर राखेको हल्लाले तरकारी बिक्न छाडेको कुम्पुरका किसान पदम गिरी बताउँछन्। ‘भिन्डी बिउदेखि बजारसम्म ल्याइपुर्यााउन प्रतिकिलो १२ रुपैयाँ पर्छ। बजारमा विक्दैन भन्दै स्थानीय व्यापारीले तीन रुपैयाँमा किन्छन्,' उनले भने। त्यही दिनको बजार बुझ्दा उपभोक्ताले २५ रुपैयाँ तिरेको पाइएको उनले बताए।
विषादी मापन केन्द्र स्थानीय बजारमा राखिए आफूहरु सचेत हुन पाउने चरौंदीका किसान विष्णुप्रसाद थपलियाले बताए। ‘किसानको पहुँचमा कृषि सेवा केन्द्र छैन। प्राइभेट एग्रोभेटबाट परामर्श र विषादी किन्नु पर्छ,' उनले भने।
पछिल्लो समय तरकारीमा विषादी राख्न छाडेको किसान बताउँछन्। घाटबेसीका व्यापारी पछिल्लो समय तरकारी बिक्न छाडेकाले किसान र थोक व्यापारी मर्कामा परेको बताउँछन्।

No comments: