बिहीबार १२
काठमाडौं-विश्वव्यापी महामारी घोषित इबोलाका शंकास्पद एवं संक्रमित बिरामी नेपाल भित्रिए उपचार गर्न वीर र कोसी अञ्चल अस्पतालले छुट्टै उपचार कक्ष (आइसोलेसन वार्ड) तयार पारेका छन्। अन्य केही अस्पतालले पनि तयारीबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गर्न थालेका छन्।
वीरले एक शऒ्ढया छुट्ट्याए पनि अन्य प्रमुख अस्पतालहरूले आइसोलेसन वार्ड र छुट्टै उपचार टोली तयार गरिसकेको अस्पतालका निर्देशक डा. स्वयम्प्रकाश पण्डितले जानकारी दिए।
सरकारले इबोला संक्रमित पश्चिम अफ्रिकी मुलुकबाट फर्किएका एवं शंकास्पद लक्षण देखिएकाहरूलाई वीर, टेकु, नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा राखेर उपचार गर्ने निर्णय गरेको थियो। आमसर्वसाधारण आए सुरुमा टेकुमा लगिने र आइसियु तथा भेन्टिलेटर चाहिने अवस्थामा वीरमा लाने गरी तयारी भएको छ।
नेपाली सेनाको अस्पतालमा पनि छुट्टै आइसोलेसन वार्ड छ। नेपाल प्रहरीको अस्पतालमा आइसोलेसन वार्ड नभए पनि आवश्यकताका आधारमा तयार पार्ने प्रहरीले जनाएको छ। संक्रमण फैलिएको देशमा नेपाली सेना र नेपाल प्रहरी खटिएकाले उनीहरूको उपचारका लागि दुवै संस्थाका अस्पतालमा छुट्टै व्यवस्था गर्ने सरकारी निर्णय छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले हालसम्म सरकारीतर्फ वीर र कोसीले आइसोलेसन वार्ड तयार गरिसकेको बताए। टेकुमा हाल उपलब्ध क्याबिनलाई आइसोलेसन बनाउन अन्य उपकरण जडान गर्ने तयारी भएको छ। पाटनले आइसोलेसन वार्ड बनाउन केही थप उपकरण माग गरेको छ। निजीतर्फ बी एन्ड बी अस्पतालले आफूहरूसँग सुविधासम्पन्न आइसोलेसन वार्ड भएको जानकारी महाशाखालाई गराएको छ।
वीरले आइसियु कक्षसँगै छुट्टै कोठामा भेन्टिलेटरसहित सघन उपचारका लागि शऒ्ढया एवं विशेषज्ञ टोलीसमेत तयार पारेको छ। यसअघि अस्पतालमा जुनसुकै रोगका गम्भीर बिरामीलाई पनि एकै ठाउँमा राखेर सघन उपचार गर्ने गरिएको थियो।
अस्पतालले इबोलाका बिरामी आउँदा उपचार सेवा दिन मेडिकल विभाग प्रमुख डा. दिनेश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय बहुविशेषज्ञ टोली बनाएको अस्पतालका निर्देशक डा. पण्डितले जानकारी दिए। टोलीमा मुटु, मिर्गौला, एनेस्थेसिया, सर्जरी, रेडियोलोजीलगायतका विशेषज्ञ छन्। अस्पतालले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखासँग समेत उपचारमा संलग्न चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ उपकरण (पिपिई) लगायत अन्य उपकरणसमेत माग गरेको डा. पण्डितले जानकारी दिए।
टेकुले स्वाइन फ्लु नामले चिनिने (एच१एन१) का बिरामी राख्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा निर्मित ६ शऒ्ढयाको आइसोलेसन वार्डलाई प्रयोगमा ल्याउने निर्णय गरे पनि उक्त वार्डमा सघन उपचारका लागि भेन्टिलेटरलगायतका अत्याधुनिक उपकरण छैनन्। महाशाखाअन्तर्गत क्लिनिकल फोकल पर्सन डा. बासुदेव पाण्डेले एक/डेढ महिनाभित्रै आवश्यक उपकरण एवं साधन स्रोत उपलब्ध गराउन डब्लुएचओ तयार भएको जानकारी दिए। उनका अनुसार डब्लुएचओले टेकुमा रहेको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन भौतिक र मानवीय स्रोतसाधानको आवश्यकताबारे विस्तृत प्रस्ताव पठाउन सुझाव दिएको छ।
विज्ञहरूले भने ठूलो संख्यामा संक्रमित बिरामी आएको अवस्थाका लागि आइसोलेसन सिस्टम अभाव भएको भन्दै चिन्ता गरेका छन्। त्यसैगरी, सेनाले हाल संक्रमित देशबाट फर्किएकालाई लक्षण नदेखिए पनि नगरकोटस्थित तालिम केन्द्रमा इक्युभेसन पिरियड (२१ दिन) सम्म छुट्टै राख्ने निर्णय गरेको छ। जसअनुसार हालसम्म दुई जनालाई नगरकोटमा आइसोलेसनमा राखिएको छ। सैनिक प्रवक्ता डा. जगदीशचन्द्र पोखरेलले सम्भावित कुनै पनि प्रकारका बिरामी आउँदा अस्पतालमा आइसोलसन सुविधा तयार रहेको बताए। उनले हालसम्म सैनिक स्वास्थ्य निर्देशनालय र युनएनबाट पनि संक्रमित देशहरूमा खटिएका सैनिकहरूलाई विशेष सावधानीका लागि आवश्यक निर्देशन र निगरानी राखिएको बताए। 'जाने–आउने सबैलाई सचेत गराइएको छ, हामी सावधानी र आवश्यक पर्ने उपचारका लागि तयार छौं,' डा. पोखरेलले भने।
इबोला संक्रमित लाइबेरियामा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअर्न्तगत नेपाल प्रहरीका पाँच अफिसर कार्यरत रहेको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए। अहिलेसम्म सबै सुरक्षित रहेको र बिदा वा मिसन फर्किंदा पनि हेडक्वार्टरलाई जानकारी गराएर फर्किने तथा त्यसक्रममा ३ सातासम्म निगरानी राखिने उनले बताए। 'अस्पतालहरूमा आइसोलेसनलगायत सबै खालका सेवा र सुविधा छ,' केसीले भने, 'हामी सबै खालका सम्भावनासँग सर्तक र तयारी छांै।'
गम्भीर अवस्थाका बिरामी ठूलो संख्यामा आए त्यसअनुसारको उपचार संयन्त्र अभाव हुन सक्ने भन्दै महाशाखाले गत भदौ ५ गते देशभरका अस्पताललाई सरुवा रोगका बिरामी उपचारका लागि छुट्टै राखेर उपचार गर्न मिल्ने (आइसोलेसन) सुविधायुक्त वार्ड व्यवस्था गर्न निर्देशनसमेत दिएको छ।
महाशाखाले ५० शऒ्ढयामाथिका सबै सरकारी अस्पताल र २ सय शऒ्ढयामाथिका निजीसमेत सबै अस्पताललाई भदौ ५ गते पत्राचार गरी १५ दिनभित्रै आइसोलेसन वार्ड व्यवस्था गर्न निर्देशन दिएको हो। तोकिएको समयमा आइसोलेसन वार्ड नबनाए प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि आग्रह गरिने मरासिनीले जानकारी दिए।
केही महिनाअघि पश्चिमी अफ्रिकी राष्ट्र गिनीबाट सुरु भएको इबोलाले लाइबेरिया, सियरालियोन र नाइजेरियालाई समेत प्रभावित पारेको छ। खतरनाक खालको यो भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर डब्लुएचओले गत अगस्ट ८ मा विश्वव्यापी महामारी घोषणा गरेको थियो। नेपालमा सरकारले २०७१ भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर अफ्रिकी मुलुकबाट आउनेको स्वास्थ्य परीक्षण एवं निगरानी जारी राखेको छ।
हेल्थ डेस्क संयोजक जनस्वास्थ्य निरीक्षक कुमार दाहालका अनुसार हालसम्म अफ्रिकाबाट ९० भन्दा बढी व्यक्ति नेपाल आएका छन्। ती कसैमा पनि रोगको लक्षण देखिएको छैन।
विमानस्थलमा खटिनेलाई इबोला तालिम
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत विभिन्न सरकारी निकायका कर्मचारीलाई इबोलाबारे बुधबार विशेष तालिम दिएको छ।
रोगबारे विस्तृत जानकारी र बच्ने तरिकाबारे ९० जनाभन्दा बढीलाई तालिम दिइएको स्वास्थ्य डेस्क निरीक्षक दाहालले जानकारी दिए।
No comments:
Post a Comment