Tuesday, September 2, 2014

१७ वर्षमै ३५ पटक पक्राउ


एउटा व्यक्ति जीवनमा प्रहरीबाट कतिपटक पक्राउ पर्न सक्छ ? अनि, १७ वर्षमा ? काभ्रे, पनौती भुमेडाँडाका १७ वर्षीय रवि तामाङ अहिलेसम्म ३५ पटक पक्राउ परिसकेका छन् ।
चोरी, डकैती, लुटमारजस्ता अपराधमा संलग्न तामाङले काठमाडौंका लगभग सबै हिरासत कक्षको स्वाद चाखिसकेका छन् । त्यसमध्ये सबैभन्दा धेरै हनुमानढोकामा १० दिन बिताएका छन् ।
जुँगाको कालो रेखी भर्खरै देखिन लागेका तामाङ सम्झन्छन्, ‘काठमाडौंका प्राय: सबै हिरासत कक्ष पुगियो । प्रहरीको बुट खाइयो । सोफामा उत्तानो पारेमा पैतालामा पाइपले हान्थे । ढाडमा निलडाम त कति बसे कति ।’
डेढ वर्षअघि प्रहरीको फन्दामा परेयता विशालनगरस्थित ‘सेल्टर हाउस’ मा रहेका तामाङले अबचाहिँ अपराधकर्म छोड्ने कबुल गरेका छन् । उनी अब पाककला सिक्ने योजनामा छन् । ‘त्यसपछि कुक बनेर विदेश जाने र पैसा कमाएर घर बनाउने,’ उनले आफ्नो योजना सुनाए ।
 17 barsa
कुखुरा चोर्दा
पछिल्लोपटक पक्राउ पर्दाको क्षण उनी यसरी सुनाउँछन्, ‘त्यस दिन आठजना मिलेर ठमेलमा रहेको कुखुरा पसलबाट दिउँसै जिउँदो कुखुरा चोर्‍यौँ । ज्याठा चौर गएर आगो बाल्यौँ र आगोमा पोलेर खायौँ । खाएपछि केही केटा चौरमै उत्तानो परेर निदाए । केही ढुंगामा तारो हान्न थाले । तारो हान्दा पार्किङ गरिएको कारमा पनि लागेछ । कारको सिसा फुटेका कारण कसैले प्रहरीलाई खबर गरेछ । प्रहरी आएपछि केही भागे । मसहित केही पक्राउ पर्‍यौँ ।’
पक्राउ परेको तीन दिनपछि दरबारमार्गस्थित प्रहरी प्रभागका तत्कालीन निरीक्षक कुमुद ढुंगेलमार्फत विशालनगरको ‘सेल्टर हाउस’ आइपुगें ।
तामाङको अपराध जीवनमा त्यो दिनको घटना सामान्य थियो । त्यसअघिका घटना अझ खतरनाक छन् । चोरी, डकैती र लुटमार त उनीहरूको पेसै थियो । ५० जनासम्मका समूह हुन्थे । समूहको नाम थियो, ‘कोब्रा ग्याङ’ । उनीहरू एकै स्थानमा भेला हुन्थे र चोर्ने स्थानको छनोट गर्थे । त्यसपछि ठाउँको रेकी गरी सोहीअनुसार योजना बनाउँथे । अनि उपयुक्त समयको छनोट गरेर कार्यान्वयन गर्थे ।
लुटमार पनि गरेको उनी सुनाउँछन् । लुटमारका लागि उनीहरू सकेसम्म अँध्यारो र सुनसान स्थान छनोट गर्थे र ढुकेर बस्थे । मदिरा सेवान गरे–नगरेको भनी मान्छेको स्थिति जाँच गर्थे । मदिरा सेवन गरेको भए पछाडिबाट आक्रमण गर्थे । नभए छाडिदिन्थे । केटाकेटी वा महिला हो भने बाटो छेक्थे । कुटपिट गरेर सामान थुतिहाल्थे ।
अपराध धन्दाका लागि खुँडा, तरबार र खुकुरी हातहतियार थिए, ठमेलकै पसलबाट चोरेका थिए । हतियार ज्याठास्थित चौरमा खाल्डो खनी गाड्थे । ‘लुटमार गर्ने योजना बनेपछि हतियार निकाल्थ्यौँ । काम फत्ते गरेपछि सोही स्थानमा ल्याएर लुकाउँथ्यौँ । पक्राउ पर्नुअघि पनि हतियार त्यहीँ थिएँ । अझै होलान् ।’
चोरी तथा डकैत सधैँ सम्भव हुँदैनथ्यो । तर, उनीहरूलाई पैसाको सधैँ आवश्यकता हुने, त्यही हतियार बेचेर खर्च चलाउँथे ।
‘पब्लिक’ धुलाइ
चोरी तथा डकैती गर्न सजिलो थिएन । पक्राउ परे प्रहरीको कुटाइ भेट्नु त सामान्य नै भयो । बेलाबखत ‘पब्लिक’ धुलाइ पनि भेट्थे । त्यस्तो बेलाचाहिँ मुस्किल पथ्र्यो रे । उनले तीन वर्षको अवधिमा ६ पटक ‘पब्लिक धुलाइ’ भेटेछन् । त्यसमध्ये इन्द्रचोकमा भेटेको पब्लिक धुलाइ उनले बिर्सन सकेका रहेनछन् ।
घटना सम्झिँदै उनले भने, ‘माइतीदेवीबाट चोरी गरेर ल्याएको साडी इन्द्रचोकमा लगेर बेच्दै थियौँ । पसलेसहित केही मान्छे पछिपछि आएका रहेछन् । चोरेको सामान बेचेको भन्दै मछिन्द्रबहालका सेक्युरिटी गार्डलाई भनेछन् । गार्ड दौडेर आयो र चोर भन्दै कुट्न लाग्यो । अरूले पनि थपे । कुटाइ कति खाइयो थाहै भएन । मरणासन्न भएपछि छाडे । कुटाइ खाएको तीन दिनपछि मात्रै हिँड्न सक्ने भएँ ।’
उनीहरू चोरी–डकैती गरेको रकमको अधिकांश हिस्सा लागुऔषधमा खर्च गर्थे । बजारमा पाइने सबै लागुऔषध प्रयोग गरेको तामाङ दाबी गर्छन् । त्यसमध्ये सबैभन्दा धेरै प्रयोगमा आउनेचाहिँ फोक्सिवन, एवेला (एलर्जीको औषधि), भेट, केलानाइस थिए । गाँजा, चुरोट, टिटी सामान्य थियो । दिनमै तीन हजारसम्मको लागुऔषध प्रयोग गर्थे ।  तामाङ भन्छन्, ‘सबै खालका लागुऔषध प्रयोग गरियो । धेरैजसोचाहिँ गम (फोक्सिवन) सुँघ्थ्यौँ । त्यसले भोक कम लगाउँथ्यो ।’
‘तीन वर्षको अवधिमा कति चोरियो–चोरियो । जम्मा गरेको भए मेरो पैसाले मात्रै काठमाडौंमा घर बन्थ्यो होला । तर, जम्मा गरिएन । सबै खाएरै सकियो,’ उनी थप्छन् ।
चोरी यात्रा 
तामाङका बुबाआमा इन्द्रचोकमा तरकारी व्यापार गर्छन् । त्यसअघि तामाङका बुबा इन्द्रचोकमै रिक्सा चलाउँथे । पाँच सन्तानमध्ये कान्छा हुन् रवि । पढाउने भन्दै बाबुआमाले उनलाई कालिमाटीस्थित शान्ति निकुञ्ज माविमा भर्ना गरे पनि । तर, उनको पढाइ ४ कक्षाभन्दा अघि बढेन । किनकि, त्यसवेलासम्म उनको संगत वसन्तपुरका तास खेल्ने केटाहरूसँग भइसकेको थियो । कोठाबाट विद्यालय हिँड्थे, तर उनी बाटोमै साथीसँग अल्मलिन्थे । दिनभर तास खेल्थे । चुरोट तान्थे ।
‘विद्यालय नगएको चाल पाएपछि घरमा किचकिच हुन थाल्यो । धेरैपटक बाबुको पिटाइ भेटेँ । त्यही पिरले कोठामा जानै छाडें । बाहिर साथीसँगै बस्थेँ । भोक लाग्थ्यो । भोक कम हुन्छ भनेपछि साथीसँगै गम सुँघ्थेँ । पछि त्यही नशा बन्यो । खर्च जुटाउन साथीहरू लुट्पाट गर्थे । मैले पनि सिकेँ,’ उनले बताए ।
उनलाई चरी, गणेश लामा, दीपक मनांगे, चक्रे मिलन, कुमार घैँटे आदिको नाम भने त्यसवेलै कण्ठ थियो । उनी पनि त्यस्तै बन्न चाहन्थे रे । ‘कोब्रा समूह’ त्यसैका लागि रहेछ ।
सुध्रिने इच्छा
अपराध यात्राबाट थाकेका रविको अबको लक्ष्य नामी कुक बन्ने छ । अहिले सेल्टरमा रहेका ३५ जनाका लागि उनी नै खाना बनाउँछन् । डेढ वर्षदेखि सिकेको यो सीपलाई उनी अझ तिखार्न चाहन्छन् । नेपाली खानाका अतिरिक्त केही भारतीय खानाका परिकार बनाउन सिकेका छन् ।
उनको कुक बनेर विदेश जाने लक्ष्य छ । यो क्षेत्रमा अध्ययन पनि धेरै नचाहिने भएको र आफ्नो रुचिको पनि पेसा भएकाले यसैमा लागेर मनग्य पैसा कमाउने सपना छ उनको ।
सडक–जीवन बिताएका उनको अर्को लक्ष्य काठमाडौंमा धरहरा जत्रै घर बनाउने छ रे । उनी भन्छन्, ‘म काठमाडौंमा ठूलो घर बनाउँछु । बुबाआमालाई त्यसमै राख्छु । मलाई हेप्नेहरूलाई देखाइदिन्छु ।’

No comments: