September 13
काठमाडौं - एमालेले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । उसको सिफारिसमा दुवै मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छन् ।
एमाले संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएको छ । एमालेको सिफारिसमा प्रधानमन्त्री सुशील कोइरालाले दीपकचन्द्र अमात्यलाई संस्कृति, पर्यर्टन तथा नागरिक उड्डयन र महेश बस्नेतलाई उद्योग मन्त्री नियुक्त गरेका छन् ।
दुई मन्त्रालय बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरुको कार्यविभाजन यथावत रहेको प्रधानमन्त्रीको सचिवालयको विज्ञप्तीमा उल्लेख छ ।
फिर्ता बोलाइएका पर्यटनमन्त्री आचार्य बरिष्ठ नेता झलनाथ खनाल निकट हुन् भने उद्योगमन्त्री थापा अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।
नवनियुक्त पर्यटनमन्त्री अमात्य बरिष्ठ नेता खनाल निकट मानिन्छन् । २०३८ सालमा पाटन क्याम्पसको उपसभापति हुँदै सभापति भएका अमात्य खनाल २०४७ सालमा कृषि तथा वनमन्त्री हुँदा र ६७ सालमा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए ।
एमाले अध्यक्ष ओलीका अति निकट बस्नेत युवासंघका अध्यक्ष हुन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट पराजित बस्नेत एमालेको नवौं महाधिवेशनमा पनि केन्द्रीय सदस्य हुन सकेका थिएनन् ।
किन फिर्ता बोलायो थाहा छैनः थापा
उद्योगमन्त्रीबाट फिर्ता बोलाइएका थापाले पार्टीको निर्णयमा आफ्नो कुनै विमत्ति नरहेको बताएका छन् । 'हिजो पार्टीले पठाएको हो,' उनले ईकान्तिपुरसित भने, 'आज फिर्ता बोलायो । मैले पार्टी निर्णय मान्नुपर्छ ।' उनले फिर्ता बोलाउनुको कारण भने थाहा नभएको बताए । फिर्ता बोलाउनअघि अध्यक्ष ओलीले आफूसँग सल्लाह गरेको उनले बताए ।
No comments:
Post a Comment