Thursday, September 4, 2014

खोपपछि बालकको मृत्यु प्रकरणमा अनुसन्धान थालियो

September 4
काठमाडौं : सरकारले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले डीपीटी-हेपबी-हिब खोप लगाएपछि बिरामी परेका काभ्रे पोखरीचौरी-३ का ६ महिने शिशु बिक्सन गजमेरको मृत्युका सम्बन्धमा अनुसन्धान थालेको छ। डीपीटी-हेपबी-हिब खोप धनुष्टंकार, लहरेखोकी, भ्यागुते रोग, हेपाटाइटिस बी, हमोफिल्स इन्फ्लुएन्जाविरुद्ध दिइन्छ।
 
 भदौ २ गते प्रसूतिमा खोप लगाएका बिक्सनको मंगलबार उपचाका क्रममा लाजिम्पाटस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा मृत्यु भएको थियो। खोप लगाएपछि उनलाई ज्वरो आएको थियो र शरीरमा पनि राताराता बिमिरा देखिएका थिए। यस विषयमा एडभर्स, इफेक्ट अन फलोइङ इम्युनाइजेसन कमिटी (स्वतन्त्र रूपमा गठन गरिएको यो कमिटीमा बालस्वास्थ्यका विज्ञहरू सम्मिलित छन्) को बिहीबार बिहान स्वास्थ्य सेवा विभागमा बस्ने बैठकले निष्कर्ष निकाल्ने जानकारी बालस्वास्थ्य महाशाखाका प्रमुख डा. श्यामराज उप्रेतीले दिए। 'उपचारमा खटिने चिकित्सकले सेप्टिसिनियाका कारण शिशुको ज्यान गएको बताएका छन्।

 तर अनुसन्धानको नतिजा कस्तो हुन्छ त्यो हामीले पनि हेर्न बाँकी छ', उप्रेतीले अन्‍नपूर्णसँग भने, 'खोपको खराबी वा खोप लगाउँदा भएको लापरबाही त्यो के हो भन्न पनि अनुसन्धानले नै पुष्टि गर्नुपर्छ।' उनले घटनाप्रति आफूहरू गम्भीर भएर छानबिन सुरु गरिसकेको बताए। बिक्सनको मृत्यु भएलगत्तै विभागअन्तर्गतको बालस्वास्थ्य महाशाखाका स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) का चिकित्सक अनुसन्धानमा जुटेका छन्।

 अभिभावकले खोपकै कारण बिक्सनको ज्यान गएको भन्दै सरकारले अनुसन्धान गर्नुपर्ने माग राखेका छन्। उनीहरूले शिशुको मृत्युको कारण नखुलाएसम्म र आगामी दिनमा यस्ता घटना नदोहोराउने लिखित प्रतिबद्धता नजनाएसम्म शिशुको शव नउठाउने बताए। उनीहरूले बुधबार साँझसम्म पनि अस्पतालबाट शव उठाएका छैनन्। मृतकका ठूलोबुवा बाबुराम गजमेरले भने, 'सरकारले बालबालिकाको स्वास्थ्यमा ठूलो खेलवाड ग:यो। यस्ता घटना यसअघि पनि भएका थिए।

 पछि पनि नहोला भन्न सकिन्न। त्यसैले हामी त्यतिकै छोड्दैनौं।' सरकारलाई तत्काल छानबिन गरी मृत्युको कारण खुलाउन दबाब दिन गजमेर परिवारसहित ५० जनाजति मंगलबार बालस्वास्थ्य महाशाखा पुगेका थिए। महाशाखाका कर्मचारीले प्रमुख नभएको र बिहीबार निष्कर्ष निस्कने भन्दै आफूहरूलाई फर्काएको बाबुरामले बताए। गत वर्ष डोटीमा दादुराको खोप लगाउँदा स्वास्थ्यकर्मीको लापरबाहीले चार शिशुको ज्यान गएको थियो।

No comments: