Saturday, September 6, 2014

लगानी अभाव भएका आयोजनामा लगानीको तयारी

September 6
नेपाल विद्युत प्राधिकरणले वर्षा नसकिंदै लोडसेडिङको समय बढाएको छ । शनिबारदेखि विद्युत कटौती अरु बढेको छ । यसको एउटै कारण भनेको मुलुकमा विद्युत उत्पादन नहुनु हो । यसबीचमा ठूला र निर्यातमूलक आयोजनाहरुका विषयमा अनेक बहस भैरहेको छ भने मुलुकमा जलविद्युत् लगानी तथा विकास गर्ने उद्देश्यले गठित कम्पनीले लगानीको स्रोत जुटाउने र आयोजना छनोट गर्ने काम गरिरहेको छ ।
 aadhikhola_1398923897
 यस्तोमा जलविद्युत् लगानी तथा विकास विभिन्न छवटा जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । मुलुकभित्र निर्माण सुरु भएका तथा लगानीको अभावमा रोकिने अवस्थामा पुगेका आयोजनालाई समयमै निर्माण सम्पन्न गर्ने ध्येयका साथ कम्पनीले लगानी गर्ने तयारी गरेको हो । कम्पनीले ८२ मेगावाटको तल्लो सोलु, ३० मेगावाटको न्यादी, २५ मेगावाटको काबेली बी, २१ मेगावाटको हेवा, १८ मेगावाटको माथिल्लो सोलु र २० मेगावाटको वाग्मती जलविद्युत् आयोजनामा रु दुई अर्ब १० करोड लगानी गर्ने तयारी गरेको छ ।

 कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका अनुसार ती जलविद्युत् आयोजनामा प्रवद्र्धकको लागत र निर्माणको सम्भाव्यतालाई हेरेर लगानी गर्ने तयारी गरिएको जानकारी दिनुभयो । कम्पनीले यसअघि दोलखामा रहेको खानीखोला (३० मेगावाट) र सोलुमा पर्ने सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट) मा सहवित्तीयकरणअन्तर्गत रु ६० करोड लगानी गरेको छ । दुई आयोजनाको जडित क्षमता ५३.५ मेगावाट छ । मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्नका लागि तत्कालीन ऊर्जा मन्त्री गोकर्ण विष्टको पहलमा कम्पनी स्थापना गरिएको थियो ।

कम्पनीमा सरकारको ५० प्रतिशत, कर्मचारी सञ्चय कोष, बिमा कोष र नागरिक लगानी कोषको क्रमशः १०÷१० प्रतिशत सेयर रहेको छ । यस्तै कम्पनीको बाँकी रहेको २० प्रतिशत सेयर नागरिकका लागि साधरण सेयरमार्फत वितरण गर्ने तयारी गरिएको छ । कम्पनीका कार्यकारी अधिकृत रौनियारकाअनुसार दसैँ तिहारलगत्तै सर्वसाधारणका लागि सो सेयर जारी गरिनेछ । सेयरका लागि नेपाल स्टक एक्सेचेन्जमा आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

यस्तै कम्पनीलाई आर्थिक रुपमा सबल बनाउनका लागि एसियाली विकास बैंकको ‘एडिएस फन्ड’ बाट सहुलियत दरमा पाँच करोड डलर ऋण लिने विषयमा समेत कुराकानी सुरु भएको छ । एक प्रतिशतभन्दा न्यून ब्याज दरमा ऋण लिएर, आन्तरिक लागतसमेत उठाएर ३०० मेगावाट भन्दा ठूलो जलविद्युत् आयोजना निर्माण सुरु गर्ने कम्पनीले तयारी गरेको छ । यस्तै विदेशमा कार्यरत नेपालीलाई सहभागी गराएर कम्पनीले ‘विपे्रषण हाइड्रो’ को अवधारणा पनि अगाडि सारेको छ ।

 वैदेशिक रोजगारीमा गएका नागरिकलाई पेन्सन तथा सेयर प्रदान गर्ने गरी अगाडि बढाइएको विपे्रषण हाइड्रोमा पहिलो चरणमा खाडी मुलुकमा काम गरिरहेका करिब २० हजार नेपालीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । ऊर्जा, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग विपे्रषण हाइड्रोको विषयमा पटक–पटक छलफल भइसकेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत रौनियारले एकाध महिनाभित्रै विदेशमा कार्यरत नेपालीलाई लगानीका लागि सार्वजनिक आह्वान गरिने बताउनुभयो ।

 ‘‘मुलुकमै पहिलो पटक विप्रेषणलाई भौतिक विकासमा लगाउन खोजिएको छ, यसमा सबैको साथ र सहयोगको आवश्यकता रहन्छ, हामीलाई आशा छ, सो योजनाले सोचेभन्दा बढी सफलता पाउनेछ ।’’ कार्यकारी अधिकृत रौनियारले भन्नुभयो ।

No comments: