September 15
पहिचानमा आधारित संघीय गठबन्धनले सर्वपक्षियसभामा संविधानका अन्तरवस्तुमा सहमति गरेर संविधान जारी गर्नुपर्ने बताएको छ। गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिका आधारमा संविधान जारी गर्नुपर्नेमा जोड दिए।
गठबन्धनका नेताहरुले कांग्रेस र एमालेले भनेजस्तो बहुमतको आडमा संविधान जारी गरे त्यस्तै संविधानलाई संविधानसभा भवनभित्र जलाउने बताए।
संविधानसभामा रहेका सात वटा राजनीतिक पार्टीहरुको गठबन्धनले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी सो धारणा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा 'मुलुकमा बिद्यमान रहेको सम्पूर्ण उत्पीडित जाती, भाषा, धर्म, संस्कृति तथा क्षेत्र र लिङगका जनताको सामाजिक न्याय र समानताको अधिकारलाई नयाँ संबिधानमा सुनिश्चित गरेर राष्ट्रिय एकतालाई मजबुद बनाउनको लागि उनीहरुको सहभागीता र सहमतिमा संबिधान निर्माण गर्न आवश्यक छ। धर्म निरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको अभियानमा भुमिका निर्वाह गरेका सबै शक्तिहरुको राष्ट्रिय सहमती कायम नगरी निर्माण गरिएको संबिधानको कुनै अर्थ रहन्न भन्ने कुरा प्रष्ट छ।' भनिएको छ।
कार्यक्रममा खम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा गठबन्धनका अध्यक्ष माननिय रामकुमार राईले सबैको सहमतिमा संविधान निर्माण गरिनुपर्ने बताए। 'जनयुद्ध, सबै आदिबासी, जनजति, क्षेत्रिय र २०६२/६३ को जनआन्दोलन नै जनादेश हो, त्यही अनुसार संविधान बन्नुपर्छ' राईले भने। कांग्रेस र एमालेले बहुमतको हल्ला दिदै पुरानै संविधान फर्काउन खोजेको उनले दाबी गरे।
पत्रकार सम्मेलनमा बोल्दै सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मनप्रसाद सुनुवारले आफूहरु अघिल्लो संविधानसभामा बहुमतद्वारा पारित १४ प्रदेशका पक्षमा रहेका बताए। संघीय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष कुमार लिङदेनले राष्ट्रिय सहमतिका आधारमा सर्वपक्षिय राजनीतिक सभावाट संविधान बनाइनुपर्ने बताए।
पत्रकार सम्मेलनमा थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले संविधानसभामा काँग्रेस र एम्ालेको जनमत भनेको ४५ लाख वरिपरि हो, त्यो भन्दा ठूलो जनमत बाहिर छ, त्यसको मतको सम्मान नभए सशक्त आन्दोलन गर्ने बताए। त्यस्तै आदिबासी जनजातिका पार्टीका अध्यक्ष बुद्धिराज तामाङले 'राष्ट्रिय सहमति नभई बहुमतीय आधार संविधान जारी गरे त्यस्तो संविधानलाई संविधानसभा भवनभित्रै र बाहिर एकैसाथ जलाइनेछ' भने। राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष शिवलाल थापा, संघीय लिम्बुवान पार्टीका महासचिव सूर्य माखिम लगायतका वक्तहरुले राष्ट्रिय सहमतिको आधारमा संविधान बन्नुपर्ने धारणा राखेका थिए।
संघीय गठबन्धनमा आदिवासी जनजाति पार्टी, नेपाल, खम्बुवान राष्ट्रि मोर्चा, थरुहट तराई पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल र संघीय लिम्बुवान पार्टी नेपाल सहित सात वटा संविधानसभा भित्र रहेका पार्टीहरु छन्। गठबन्धनले आफ्नो ८ बुँदे धारणा प्रेस विज्ञप्तीमा मार्फत सार्वजनिक गरेको छ।
No comments:
Post a Comment