Thursday, September 18, 2014

बस, एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा ६ जनाको मृत्यु

September 18
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलकपुर– १ स्थित तुल्सीनगरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ। बस, एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
 
बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ना५ख २१८३ नम्बरको बस, विपरीत दिशातर्फ गइरहेको  लु१च ३७३० नम्बरको एम्बुलेन्स र  राजमार्गमा निस्कँदै गरेको लु५प ६४९४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मृतकहरुको सनाखत हुन सकेको छैन।  
 
दुर्घटनामा परी घाइते हुनेहरुको देवदह मेडिकल कलेज रुपन्देही र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 
गम्भीर घाइते हुनेमा बाग्लुङ गल्कोट– १ का २२ वर्षीय खेम खड्का, बुटवल नगरपालिका– ६ का ३५ वर्षीय मनीप्रसाद पौडेल, नवलपरासी रामग्राम–५ का ४५ वर्षीय अनिलकुमार शर्मा, पोखरा उपमहानगरपालिका– ११ का लोकराज पौडेल र रुपन्देही धकधईका तोयव खाँन  रहेका छन्। उनीहरुमध्ये खाँनको लुम्बिनी अस्पताल र अन्यको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। 
 
दुर्घटनामा  चार जनाको घटनास्थलमै र अन्य दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  चार जनाको शव पृथ्वीचन्द्र अस्पताल परासीमा परीक्षणका लागि ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। रासस

No comments: