Tuesday, September 2, 2014

देवेशलाई तीन स्वर्ण

September 2 काठमाडौं
एसभिआईका देवेश मानन्धरले तेस्रो एनएसए पौडी प्रतियोगितामा तीन स्वर्ण जितेका छन् । देवेशले आइतबार भएको स्पर्धाअन्तर्गत खुलातर्फ एक र उमेर समूहमा दुई स्वर्ण जितेको नेपाली पौडी संघले जनाएको छ । खुलातर्फ पुरुषको १५ सय मिटर फ्रिस्टायलमा देवेशले २१ मिनेट ५५.८८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते ।debesh
उनी १७ वर्ष उमेर समूहको सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टायलमा पहिलो भए । उनले ब्याकस्ट्रोकमा १ मिनेट १८.६२ सेकेन्ड तथा फ्रिस्टायलमा १ मिनेट ०५.३२ सेकेन्ड समय खर्चे ।
पुरुषको १० वर्ष उमेर समूहअन्तर्गत ५० मिटर बटरफ्लाईमा जोन डेवीका नासिर हुसेन ३९.९८ सेकेन्डका साथ पहिलो भएका छन् । पुरुषको १४ वर्ष उमेर समूहको सय मिटर ब्याकस्ट्रोकमा लिंकनका गेलेन केली १ मिनेट २२.१६ सेकेन्डका साथ पहिलो भएका छन् ।
पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका दिलीप थापामगरले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ३५.६३ सेकेन्ड लगाए । खुलातर्फ नै पुरुषको ५० मिटर फ्रिस्टायलमा नेपाल प्रहरी क्लबका शिरीष गुरुङ पहिलो भए । उनले २७.१६ सेकेन्ड समय निकाले ।
यसैगरी, खुलातर्फको महिला सय मिटर ब्याकस्ट्रोकमा जेभियर एकेडेमीकी शिला गुरुङ पहिलो भइन् । शिलाले १ मिनेट ३२.९५ सेकेन्ड समय खर्चिन् । महिलाको १२ वर्ष समूहमा ५० मिटर ब्याकस्ट्रोकमा द ब्रिटिस स्कुलकी तेन्जिङ यिगा लामा पहिलो भइन् । तेन्जिङले ४२.३७ सेकेन्ड समय लगाइन् ।

No comments: