Tuesday, September 2, 2014

लिभरपुलले टोटनहामलाई हरायो

September 2 लन्डन
इंग्लिस प्रिमियरसिपको साबिक उपविजेता लिभरपुलले आइतबार टोटनहामलाई ३–० ले पराजित गरेको छ । जितसँगै लिभरपुल पाँचौँ स्थानमा उक्लेको छ । लिभरपुलले तीन खेलबाट ६ अंक बटुलेको छ । लिभरपुल दोस्रो खेलमा साबिक विजेता म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । टोटनहामविरुद्धको प्रतिस्पर्धा लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्सको सयौँ खेल थियो ।
आफ्नो सयौँ खेल जितका साथ टुंग्याउँदा प्रशिक्षक रोजर्सले खुसी जनाएका छन् । ‘मैले आफ्नो सयौँ खेलमा जित देख्न पाएँ, खेलाडीलाई धन्यवाद छ,’ उनले भने, ‘सिटीसँग सामान्य गल्तीका कारण हामी पराजित भएका थियौँ, हामी लिगमा जितका साथ फर्केका छौँ ।’ लिभरपुलको जितमा कप्तान स्टेभन जेरार्ड, राहिन स्टेर्लिङ र अल्बर्टो मोरेनोले समान एक गोल गरेका थिए ।
लिभरपुरका नयाँ अनुबन्धित खेलाडी मारियो बालोटेलीले प्रतिस्पर्धामा धेरै गोल अवसर चुकाएका थिए । टोटनहामको घरेलु मैदान ह्वाइट हार्ट लेनमा लिभरपुलले खेलको आठौँ मिनेटमा अग्रता लिएको थियो । स्टेर्लिङले जोर्डन हेन्डरसनको सटिक पासमा टोलीलाई १–० को अग्रता दिलाए ।
खेलको ४८औँ मिनेटमा कप्तान जेरार्डको पेनाल्टी गोलसँगै लिभरपुल २–० ले अगाडि बढ्यो । टोटनहामका एरिक डिएरले पाहुना टोलीका जोए अलानलाई डिबक्सभित्र फल गरेका थिए । त्यसपछि प्राप्त पेनाल्टीलाई जेरार्डले सदुपयोग गर्दै टोलीलाई दोहोरो अग्रता दिलाए । इंग्लिस प्रिमियरसिपमा जेरार्डको यो लगातार ४३औँ सफल पेनाल्टी गोल थियो । खेलको ६०औँ मिनेटमा मोरेनोले पोस्टको बायाँ कुना च्याप्दै लिभरपुललाई ३–० को जित दिलाए ।
यसैगरी अर्को खेलमा एस्टन भिल्लाले हलसिटीलाई २–१ ले हरायो । जितसँगै भिल्ला तेस्रो स्थानमा उक्लेको छ । भिल्लाले तीन खेलमा दुई जित र एक बराबरी नजिता निकालेको छ । भिल्लाको सात अंक छ । भिल्लाको जितमा गाबी अबोल्हो र एन्ड्रेस वेम्यानले एक–एक गोल गरेका थिए । खेलको १४औँ मिनेटमा अबोल्होले भिल्लालाई १–० को अग्रता दिलाए । खेलको ३६औँ मिनेटमा वेम्यानले टोलीलाई २–० को स्थितिमा पुर्‍याए ।
खेलको ७४औँ मिनेटमा हल सिटीका जेलाभिकले २–१ को गोलअन्तरमा झारेका थिए । यसअघि, चेल्सीले शनिबार राति शतप्रतिशत जित निकाल्ने क्रममा एभर्टनलाई ६–३ को हाइस्कोरिङमा पराजित गरेको थियो । चेल्सीको यो लगातार तेस्रो जित हो । चेल्सी नौ अंकका साथ शीर्ष स्थानमा छ । चेल्सीको जितमा डिएगो कोस्टाको प्रदर्शन उत्कृष्ट रह्यो । चेल्सी आएयता कोस्टाले निरन्तर गोल गरिरहेका छन् । खेलको पहिलो मिनेटमै कोस्टाले चेल्सीलाई १–० को अग्रता दिलाए ।
उनले नै खेलको ९०औँ मिनेटमा चेल्सीलाई ६–३ का लागि गोल गरे । एभर्टनका लागि मिरालास, नैस्मिथ तथा साइमुल इटोले समान एक गोल फर्काएका थिए । साबिक विजेता सिटी भने स्टोकसँग १–० ले स्तब्ध भयो । एजेन्सी

No comments: