Saturday, September 6, 2014

कलाकारितामा पनि सरकारले गर्‍यो राज्निति-कलाकारको बर्गिकरणले कलाकारमा बड्न लाग्यो ध्रुबिकारण

September 5
कलाकारको वर्गीकरणका लागि पहिलोपटक नेपाल सरकारले औपचारिक प्रक्रिया थालनी गरेको छ । चलचित्रकर्मी सम्मिलित कार्यदलले कलाकारलाई ‘क’ र ‘ख’, दुवै वर्गमा छुट्याउने र सोहीअनुरूप सरकारी तथा सार्वजनिक स्थल, निकायमा समेत विशेष सुविधा, सहुलियत उपलब्ध गराउने व्यवस्था मिलाउने बताइएको छ । तर, वर्गीकरणको विषयमा भने चलचित्र कलाकार संघले विरोध जनाएको छ । संघले विज्ञप्ति नै जारी गरी कलाकारको वर्गीकरण गरिनु अव्यावहारिक र अपमानजनक भएको बताइसकेको छ ।
 kalakar
‘कलाकारको वर्गीकरण हुनुहुँदैन,’ संघका अध्यक्ष नवल खड्काको तर्क छ, ‘कलाकार वस्तु होइनन् । उनीहरूलाई वस्तुसरह वर्गीकरण गरेर अपमान गर्न लागिएको छ । यसमा कलाकार संघको कडा विरोध छ ।’ उनले कलाकारलाई राज्यले सम्मान, सेवासुविधा र सहुलियत दिनुपर्ने, तर ‘क’ र ‘ख’ वर्ग भनेर अपमान गर्न नहुने बताए । ‘राज्यले आफ्ना नागरिकलाई तँ ‘ए’ ग्रेडको तँ ‘बि’ ग्रेडको भनेर छुट्याउन मिल्छ ?’ राज्यले सबै जनतालाई समान व्यवहार गर्नुपर्छ ।

’ उनी भन्छन्, ‘सेलिब्रेटी कार्ड दिने, ग्रेडिङ गर्ने भनेर बेवकुफ निर्णय गरिएको छ । कलाकार संघकै कार्डलाई सरकारी मान्यता दिएर सोहीअनुसार सेवासुविधा दिनुपर्छ ।’ कलाकारको नाममा राजनीति गर्ने केही व्यक्तिले कलाकर्मीमा विखण्डन ल्याउने नियतले सरकारसमक्ष हारगुहार गरेर कार्यदल गठन गर्न लगाएकाले कलाकार संघले विरोध गरेको उनले बताए ।

‘कलाकार बौद्धिक सम्पत्ति हो, उनीहरूको बौद्धिकतालाई ‘क’ र ‘ख’ भनेर मापन गर्ने आधार के ?’ नवलको असन्तुष्टि छ, ‘चलचित्र कलाकारहरूको छाता संगठन कलाकार संघलाई बाइपास गरेर वर्गीकरण गर्न खोजिएको छ ।

यसमा हाम्रो कडा विरोध छ । कलाकारको असली मूल्यांकनकर्ता दर्शक र स्रोता हुन् । सरकार होइन ।’ कलाकार वर्गीकरणको विषयमा बजारमा अहिले थरीथरीका विचार, तर्क र स्वर सुनिएका छन् । समर्थनभन्दा विरोधको स्वर उँचो देखिएको छ । हास्यकलाकार निर्मल शर्माले त फेसबुकमै स्टाटस लेखेर आफ्नो ग्रेड नछुट्याइदिन अनुरोध गरेका छन् ।

‘मैले अथाह दर्शकको माया पाइरहेको छु, उहाँहरूले मेरो मूल्यांकन गरिरहनुभएको छ । म त्यसमै खुसी छु । मलाई कुनै ‘ए’ ‘बी’ ग्रेड चाहिएको छैन । मात्र कलाकार भएर बाँच्न चाहन्छु ।’ चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले कलाकारको वर्गीकरण गर्ने भन्ने कुरा सही नभएको बताए । ‘कलाकारको पनि कहीँ वर्गीकरण हुन्छ ? यो हावादारी कुरा हो,’ उनले भने, ‘केही व्यक्तिले आफ्नो निहित स्वार्थ पूरा गर्न नचाहिने कुरा गरिरहेका छन् । यो सबै प्रस्तावित चलचित्र नीतिलाई ओझेलमा पार्ने खेल हो । हामीलाई ग्रेड होइन, चलचित्र नीति चाहिएको छ ।’ उनले कलाकारको वर्गीकरणको विषयमा आफूले मन्त्रालयमा कुरा गरिसकेको बताए । ‘मैले मन्त्रालयमा कुरा गरिसकेको छु । मिडियामा आएजस्तो कुनै कार्यदल गठन गरिएको छैन र सदस्य नियुक्त पनि गरिएको छैन ।’

उनले थपे, ‘कलाकारको ग्रेडिङ प्रस्ताव अपमानजनक र अव्यावहारिक भएकाले अहिले त्यो कुरा स्थगित भइसकेको छ ।’ उनले आफू सेलिब्रेटी कार्डको पक्षमा रहेको तर ग्रेडिङको भने विरोधी भएको र कुनै हालतमा त्यसो हुन नदिने अडानमा रहेको बताए । ‘कलाकार सर्वमान्य, सर्वपुज्य हुन्छ, उनीहरूको प्रतिभा, बौद्धिकतालाई कसैले पनि ग्रेडिङ गर्न सक्दैन,’ आफू स्वयम् मैथली फिल्मको स्टार भएको बताउँदै अध्यक्ष मरवैताले भने, ‘म मैथली फिल्मको स्टार हुँ, राज्यले मलाई कुन ग्रेडमा राख्छ ? यो सब बकबास कुरा हो ।’ सरकारद्वारा गठित कार्यदलका सदस्य रहेका भनिएका निर्देशक राजेन्द्र शलभले आफूलाई औपचारिक रूपमा कुनै जानकारी नआएकाले केही भन्न नसक्ने बताए । ‘समाचारमा म कार्यदल सदस्य भएँ भन्ने आइरहेको छ ।

तर, यसबारे मलाई कुनै औपचारिक जानकारी या पत्र आएको छैन,’ उनले भने, ‘त्यसैले यस विषयमा अहिले नै म केही बोल्न सक्दिनँ ।’ उसो भए उनले किन खण्डन गरेका छैनन् त ? ‘यस्तो त भइरहन्छ नि,’ उनले भने, ‘खण्डन गर्नुपर्ने आवश्यकता देख्दिनँ म ।’ उनीचाहिँ वर्गीकरणको पक्ष–विपक्ष केमा छन् त ? ‘यसबारेमा म अहिले केही बोल्दिनँ ।

मलाई औपचारिक रूपमा प्रस्ताव आइहाल्यो भने सबै कुरा बुझेर, अध्ययन गरेर स्पष्ट भएपछि मात्रै धारणा बनाउँला ।’ सेलिब्रेटी कार्ड र वर्गीकरणका लागि अगुवाइ गरेका चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई भने मान्छेहरूको बुझाइको कमी भएको बताउँछन् । ‘हाम्रो प्रस्ताव कलाकारको राष्ट्रिय सम्मानसँग जोडिएको छ । हामीले त कलाकर्मीको सम्मानका लागि पहल गरेका छौँ ।

 प्रस्ताव लगेका छौँ । त्यसमा धेरै कुराहरू छलफल हुन बाँकी छ । तर, कतिपयले नबुझीकन विरोध गरिहेका छन्’ उनी भन्छन्, ‘कसलाई राष्ट्रिय सम्मान दिने, कसलाई कुन सम्मान दिने भन्ने कुरा राज्यले निक्र्यौल गर्नुपर्छ, त्यसका लागि कार्यदल गठन गरी सम्पूर्ण कलाकर्मीको बायोडाटा तयार पार्ने, योगदान, निरन्तरता कति छ, त्यो हेर्ने र सोहीअनुसार निक्र्यौल गर्नुपर्छ भन्ने प्रस्ताव हो । लालबुझक्कडहरू नबुझीकनै बखेडा झिक्दै छन् ।

कलाकारको वर्गीकरण गर्ने भन्ने कुरै छैन । शब्द चयन र प्रयोग गलत तरिकाले भइरहेको छ ।’ अध्यक्ष राईले योगदान, निरन्तरता हेरेर कलाकर्मीलाई राज्यले सम्मान देओस् भनेर सेलिब्रेटी कार्डको प्रस्ताव राखिएको बताए । उनले भने, ‘अहिले भर्खर प्रस्ताव लगिएको छ ।

कार्यदल पनि गठन हुँदै छ । चलचित्रसँग सम्बन्धी सम्पूर्ण संघसंस्थासँग छलफल गरेर, रायसुझाब लिएर सोहीअनुरूप मात्रै नीतिनियम बन्छ । अहिले नै हामीलाई वास्ता गरिएन भनेर विरोध गर्नुको तुक छैन ।’ उनले कलाकारको प्रतिभाको होइन कि योगदानको मूल्यांकन गरी सम्मान गर्नका लागि सरकारसमक्ष प्रस्ताव लगिएकाले स्पष्ट हुन सबैलाई आग्रह पनि गरे ।

No comments: