Thursday, September 4, 2014

विपद् न्यूनीकरण प्राधिकरण स्थापना गर्न सरकारलाई निर्देशन

September 4
काठमाडौं । व्यवस्थापिका-संसद् कृषि तथा जलस्रोत समितिले प्राकृतिक विपद्लाई न्यून गर्न विपद् न्यूनीकरण प्राधिकरण स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । बाढी पहिरो, आगलागीजस्ता प्राकृतिक प्रकोपले बर्सेनि धनजनको क्षति पुर्‍याइरहेको र भूकम्पको उच्च जोखिम रहेको भन्दै यसको व्यवस्थापनका लागि प्राधिकरण आवश्यक भएको समितिको ठहर छ । बैठकले साउनको अन्तिम साता आएको बाढी र पहिरोले खासगरी कृषि, वन, सिँचाइ र ऊर्जाका क्षेत्रमा पुर्‍याएको क्षतिको यकिन तथ्यांक संकलन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले कृषि, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई १५ दिनभित्र बाढी पहिरोबाट पीडित जनतालाई प्रदान गरिएको राहतबारे जानकारी दिन भनेको छ । बैठकमा सांसदहरुले बाढी पहिरोपीडितलाई राहत वितरण प्रभावकारी नभएको, प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा संकलित रकम पीडित जनतासमक्ष नपुगेको र गाविस सचिवहरुले सदरमुकामै बसेर क्षतिको विवरण संकलन गरेको बताए । रासस

No comments: