Thursday, September 18, 2014

आयोगका पदाधिकारीको छनोट प्रक्रिया सार्वजनिक

September 18
नेपाल सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समितिले छनोट प्रक्रिया सार्वजनिक गरेको छ। 
 
समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष ओमभक्त श्रेष्ठले छिटोभन्दा छिटो पारदर्शी तरिकाले दुवै आयोगका पदाधिकारी सिफारिस गरिने प्रतिबद्धता जनाए।
 
समितिले सार्वजनिक गरेको प्रक्रियाअनुसार बिहीबारबाट आयोगको अध्यक्ष वा सदस्य हुन योग्यता पुगेका व्यक्तिहरूले फारम भर्न सक्नेछन्। 
 
फारम भर्न नचाहने तर समितिले योग्य देखेका व्यक्तिलाई पनि समितिले नै सिफारिस गर्न सक्ने प्रक्रिया पनि समितिले बनाएको अध्यक्ष श्रेष्ठले बताए। 
 
फारम पनि नभर्ने समितिको सिफारिसमा पनि पर्न नसकेका योग्य व्यक्ति बाहिर छुटेको अवस्थामा तेस्रो पक्षले पनि समितिलाई सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ। 
 
समितिले तय गरेको कार्यविधिबमोजिम १० दिनभित्र फारम भराई फारममाथि छानविन गरी इच्छुक व्यक्तिको सूची समितिले सार्वजनिक गर्ने छ। त्यस सूचीमाथि सार्वजनिक रुपमा प्रतिक्रियाका लागि समय पनि निर्धारण गर्ने गरी कार्यविधि तयार गरिएको छ।
 
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा एक जना अध्यक्ष एवम् चार जना सदस्य र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पनि एक जना अध्यक्ष र चार जना सदस्य रहने व्यवस्था ती आयोगहरूका ऐनमा उल्लेख छ। दुवै आयोगमा एक सदस्य महिला हुनुपर्ने व्यवस्था समेत रहेको छ। रासस 

No comments: