Wednesday, September 3, 2014

अर्थमन्त्रीले भने -कांग्रेसको आर्थिक नीति नै ठीक छ, बचाउ गर्नुहोस्

September 3 काठमाडौं ।
 अर्थमन्त्री डा. रामशरण महतले कांग्रेसको आर्थिक नीतिले नै मुलुक र जनताको प्रगति हुने बताएका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका महतले नेता तथा कार्यकर्ताहरुलाई आफ्नो नीतिको देशब्यापी बचाउ गर्न आग्रह गरेका छन् । वीपी जन्म शताब्दी तथा वीपी बिचार पदयात्रा कार्यक्रमका अवसरमा रामेछापमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीमा गुटबन्दीका कारण पार्टीका असल बिचारहरु जनसमक्ष पुग्न नसकेको पनि स्वीकार गरे । कांग्रेसले हरेक अवसरमा इतिहास रचेको उल्लेख गर्दै यसमा गौरब गर्न कार्यकर्ताहरुलाई आग्रहसमेत गरे । ‘बिपक्षी पार्टीहरु समेत कांग्रेसले अवलम्वन गरेको नीतिलाई सही भन्दै मूल राजनीतिक प्रबाहमा आइसकेको अवस्थामा तपाईहरु आफ्ना यस्ता सही बिचारलाई जनसमक्ष पुर्‍याउन किन सकिरहनुभएको छैन ?’ कार्यकर्तालाई प्रश्न गर्दै महtmे भने – बन्द, हड्ताल, तोडफोड, हिंसा केहीले पनि जनताको हित गर्ने रहेनछ भन्ने ज्ञान सबैलाई भएको छ । उनले वीपी प्रशिक्षित नेता तथा कार्यकर्ताहरु र उहाँको महानतम बिचारलाई मान्ने कांग्रेसका कार्यकर्ताहरुले आफ्ना सही बिचारलाई जनतासमक्ष लैजानुपर्ने खाँचो रहेको बताए । ‘१२ बर्षे हतियारबन्द आन्दोलन र राजनीतिक अस्थिरताले समेत हल्लाउन नसक्ने आर्थिक विकासको जग हामीले हालेका छौं’ महतले भने -उदार आर्थिक नीतिलाई अहिले विपक्षीहरुले समेत स्वीकार्न थालेका छन, त्यसैले आर्थिक विकासले फड्को मार्छ । उदार आर्थिक नीतिका कारण नै मुलुकको अर्थतन्त्रको आकार बढेको, गाउँ-गाउँमा विकास गर्नका लागि स्रोत जुट्न थालेको, आर्थिक गतिविधिहरु बढेको र गरिवी घटेको उनको दावी छ । २०४८ सालमा बाषिर्क १२ अर्ब राजस्व उठ्ने गरेकोमा करिब ४ सय ५० अर्ब राजस्व संकलन हुन थालेको महतले बताए । ‘आर्थिक गतिविधिहरु बिस्तार नभएको भए यस्तो प्रगति कसरी संभव हुन्थ्यो ?’ उनले भने । विकास कांग्रेसको सिद्धान्त मात्र नभई धर्म पनि भएको उनको भनाई छ । ‘जनताका चाहनाहरु बढेका छन, ती चाहनाहरुलाई समेट्नेगरी फेरि सरकारले नयाँ आर्थिक सुधार कार्यक्रम घोषणा गरी मुलुकको द्रुततर आर्थिक विकासका एजेण्डा अघि सारेको छ’ उनले भने । आगामी केही बर्षभित्रै मुलुकले काँचुली फेर्ने उहाँको भनाई थियो । ६७ बर्षअघि बीपी कोइरालालाई तत्कालीन सरकारले पक्राउ गरी हिडाउँदै काठमाडौं लगिएको बाटो हुँदै कांग्रेसका कार्यकर्ताहरुले बीपी जन्म शताब्दी मनाउन सिर्जनशील जागरण शुरु गरेका छन । विराटनगरबाट १७ दिनअघि शुरु गरिएको यो बिचारयात्रा रामेछाप आइपुगेको छ ।

No comments: