Thursday, September 11, 2014

गोलमेचका नाममा १२ घण्टे गोलचक्कर ! वैद्यले बाेली फेरेपछि घण्टाकाे विवाद

September 11
काठमाडौं । नेकपा-माओवादीसहित चार दलको विहीबार बसेको बैठक गोलमेच सम्मेलन गर्ने मितिमा १२ घण्टाको फरक पर्दा भाँडिएको छ । गोलमेचको मिति तय गर्ने प्रयत्न कार्यदल र शीर्षनेताको टेबलमा फनफनी घुम्न थालेको छ ।
 Four-party-mit
 प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीका शीर्ष नेताबीच विहीबार भएको छलफलमा सर्वपक्षीय राजनीतिक सम्मेलन (गोलमेच) भदौ ३१ गते गर्ने कि असोज १ गते गर्ने भन्नेमा कुरो मिलेन । वैद्यले बोली फेरेपछि बैठकमा माओवादी नेता मोहन वैद्यले सुरुमा भदौ ३१ गते गोलमेच सम्मेलन गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाले २९ गते गर्ने प्रस्ताव राखेपछि एमालेले २९ गतेलाई समर्थन जनाएको थियो । केहीबेरको बहसपछि प्रचण्डले प्रधानमन्त्रीलाई एकान्तमा लगेर सम्झाए । त्यसपछि प्रधानमन्त्रीले ३१ गते गर्न सकिने बताए । तर, केहीबेर अघिसम्म ३१ गते गरौं भनिरहेका वैद्य पक्षका नेताहरुले हाम्रा साथीहरु मानेनन्, असोज १ गते गरौं भन्दै आफैंले राखेको ३१ गतेको अडानबाट पछि हटेको बैठकमा सहभागी एक नेताले बताए ।  

घण्टाकाे विवाद
सम्मेलनको मितिमा थोरै तलमाथि भएकाले सहमति हुन नसकेको एमाले केन्द्रीय सदस्य एबम् प्रमुख सचेतक अग्नि खरेलले बताए । खरेलले अनलाइनखबरसँग भने-‘उहाँहरुले मुलुकलाई दीर्घकालीन असर गर्ने तथा राष्ट्रिय महत्वका विषयमा सरकारले एक्लै निर्णय नगरोस, यसका लागि स्थायी राजनीतिक संयन्त्र गठन गरेर त्यसमा छलफल हुनुपर्छ भन्ने शर्त राख्नुभयो, त्यसमा हामी सहमत हुन सकेनौं ।’ कांग्रेस र एमालेले मुलुकको संविधान, कानुन अनुसार सरकारले गर्ने काममा अर्को संयन्त्र स्वीकार्य नहुने अडान राखेका छन् । तर, माओवादीले भने त्यो विषय पनि गोलमेच सम्मेलनको एजेण्डा हुनुपर्ने भन्दै नत्र सम्मेलनकै औचित्य नहुने बताएको छ ।
  
गोलमेचको एजेन्डामा विवाद
  कांग्रेस र एमाले गोलमेच सम्मेलनमा संविधान निर्माणको बाहेक अरु विषयमा कुरै नगर्ने पक्षमा छन् । तर, माओवादीले भने स्थायी संयन्त्र, शान्ति प्रक्रियाका बाँकी काम र संविधान तीनै विषयमा छलफल हुनुपर्ने अडान राखेको छ । उसले पीटीए र पीडीएलाई पनि गाृलमेचको मुद्दा बनाउन माग गरेको छ । स्रोतका अनुसार गोलमेचको मितिका बारेमा दलहरुबीच सहमति नभएपछि अन्तरवस्तुका विषयमा विहीबार धेरै छलफल भएन । यद्यपि शुरुमा असोज ३ भन्दा अघि सम्मेलन गर्न नसकिने बताउँदै आएको नेकपा माओवादी असोज १ मा आइपुगेको छ । तर, कांग्रेस र एमालेले भदौ मसान्तभन्दा पछि जान नसक्ने अडान राखेका छन् । ‘कांग्रेसले २९ को प्रस्ताव राख्यो हामीले ठिकै छ भन्यौं’ एमाले नेता खरेलले भने ।

 दोष एक अर्कालाई
केही घण्टाको विवाद झिकेर गोलमेचको मिति तय गर्न नसकेपछि प्रमुख दलहरुले एक अर्कालाई दोष थोपर्न थालेका छन् । ‘कांग्रेस र एमालेका नेताहरु सहमति चाँहदैनन् भन्ने पुष्टि भएको छ,’ एमाओवादीका एक नेताले अनलाइनखबरसँग भने,’उनीहरु बहानाबाजी गरेर वैद्य माओवादीलाई संविधान निर्माणको प्रक्रियाबाट बाहिरै राख्न चाहन्छन् ।’ उताच एमालेका एक नेताले एमाओवादी र माओवादी मिलेर सहमति बिथोल्ने खेल भइरहेको आरोप लगाएका छन् । ‘संविधान बाहेकका विषयमा पनि बखेडा झिकेर माओवादीले समय गुजार्ने र माघ ८ मा संविधान जारी हुन नदिने खेल खेलिरहेको हामीलाई आशंका छ’ एमालेका एक नेताले भने ।

 फेरि कार्यदललाई जिम्मा
  प्रमुख दलका नेताहरुले गोलमेचबारे मिति तय गर्न नसकेपछि कार्यदलबाट शीर्ष नेता र शीर्ष नेताबाट कार्यदलको गोलचक्कर सुरु गरेका छन् । तीन दिनअघि बसेको कार्यदलको बैठकले मितिबारे सहमति गर्न नसकेपछि शीर्ष नेतालाई टुंगो लगाउन भनेको थियो । तर, विहीबार शीर्ष नेताहरुको बैठकले फेरि मिति टंुगो लगाउने जिम्मा ८ सदस्यीय कार्यदललाई नै सुम्पेको छ ।

No comments: