September 10
काठमाडौं । संघीयतालाई थाति राखेर संविधान बनाउन सकिने अर्थमन्त्री रामशरण महतको अभिव्यक्तिप्रति एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदमा आपत्ति जनाएका छन् ।संसदको बुधबार बसेको बैठकमा विपक्षी दलहरुका तर्फबाट समय लिएर बोल्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्थमन्त्रीले भारतीयसँगको भेटमा कूटनीतिक मर्यादासमेत तोडेको आरोप लगाए । ‘यहाँको आशिर्वाद चाहियो भनेर आर्शिवाद थाप्न गएको हो’ उनले भने ।
संघीयताविना संविधान लागू हुन नसक्ने भन्दै उनले महतको अभिव्यक्ति संविधान नबनाउने षड्यन्त्र भएको बताए । ‘संविधानका विषयहरु दलहरुसँग छलफल गर्नुपर्नेमा विदेशी सरकासँग गएर यो हटाइदिनुपर्यो, यसलाई ठेगान लगाइदिनुपर्यो भनेर हुन्छ ?’ यादवले प्रश्न गरे ।
भारतीय विदेशमन्त्रीसँगको भेटमा महतले दलहरुबीच सहमति हुन नसके संघीयतालाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताएका थिए ।
केपी ओलीप्रति आपत्ति
एमाले अध्यक्ष केपी ओलीले मधेस नै छैन भनेको भन्दै फोरम अध्यक्ष यादवले आपत्ति जनाए । ओलीको नाम नलिई उनले मधेसी शब्द नै सुन्न नचाएको आरोप लगाउँदै यादवले भने-उहाँ बडो राष्ट्रवादीको नारा लगाउनुहुन्छ, जुन देशमा गयो, त्यही देशको पोशाक लगाउनुहुन्छ ।
बरु दौरा सुरुवाल नै लगाएर गए मलाई खुसी हुन्थ्यो ।’ संविधान निर्माणमा सघाउन विपक्षीहरु तयार रहेको तर, सरकार गम्भीर नभएको भन्दै यादवले विदेश जान नेताहरुको एयरपोर्टमा लाइनै लागेको टिप्पणी गरे ।
सरकारले सहमति गर्ने तर, कार्यान्वयन नगर्ने गरेको भन्दै उनले चारबुँदे सहमति कार्यान्वयन नभएसम्म सदन चल्न नसक्ने बताए । यादवले बोलेपछि विपक्षी सभासदहरुले आ-आपनो स्थानमा उठेर विरोध जनाए । लगत्तै संसद बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित भएको छ ।
No comments:
Post a Comment