September 4
नेपाली युवाहरुको रोजगारीको सबभन्दा नजिक र भरपर्दो गन्तव्य बनेको भारतमा कार्यरत नेपालीहरुको अवस्थामा सुधार गर्ने जति कुरा भए पनि त्यसमा कुनै सुधार नभएको सरोकारवालाहरुले बताएका छन् । विज्ञ तथा सरोकारवालाहरुले भारतमा काम गर्ने नेपालीको आर्थिक अवस्थामा विगतको तुलनामा गुणात्मक सुधार नआएको र वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने राज्यका निकायको भूमिका बदलिँदो समयअनुसार सुहाउँदो नभएको बताएका हुन् । भारतमा सिजन अनुसार मध्य तथा सुदूरपश्चिमबाट बढी मात्रामा मजदूरी गर्न जाने गर्दछन् । उपलब्ध तथ्याङ्कअनुसार हाल झण्डै ४० लाख नेपाली भारतका विभिन्न प्रान्तहरुमा छोटो र लामो समयका लागि कामको खोजीमा जाने गरेका छन् ।
झण्डै ५० हजार नेपाली भारतीय सुरक्षा फौजमा कार्यरत छन् ।
नेपाल र भारतबीचको आप्रवासनबारे राजधानीमा बुधबार आयोजित अन्तर्किया कार्यक्रममा वक्ताहरुले विगतमा जस्तै अहिले पनि नेपाली कामदारको आप्रवासनको प्रवृतिमा परिवर्तन नआएको र अधिकांश नेपाली कामदारहरु सीपविहीन हुँदा त्यसको प्रत्यक्ष असर उनीहरुको आयमा पर्ने गरेको बताए ।
भारतमा काम गर्ने नेपालीको पीडा र असुरक्षा अत्यधिक रहेको र त्यसको न्यूनीकरणमा राज्य संवेदनशील नभएको गुनासो सहभागी वक्ताहरुको थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भारतमा काम गर्ने अधिकांश नेपालीको आर्थिक प्रगतिको संभावना ज्यादै न्यून रहेको बताउनुभयो ।
“नेपाली कामदारहरुसँग सीप नभएकाले बंगलादेशी, भारतीय आदिवासी र उत्तरपूर्वी भारतका बासिन्दाको सहरतर्फको आप्रवासनले नेपालीका लागि प्रतिस्पर्धा बढेको छ,” दीक्षितले भन्नुभयो ।
दीक्षितका अनुसार केही भारतीय सञ्चारमाध्यमले नेपाली कामदारबारे अतिरञ्जित तरिकाले समाचार सम्प्रेषण गरिदिँदा भारतमा रहेका नेपाली कामदारहरु झन् असुरक्षित हुनुपरेको छ ।
कार्यक्रममा भारतमा विगत तीन वर्षदेखि राजदूत नियुक्त नगरेर गरिब नेपालीहरुलाई सरकार र राजनीतिक वृतले महत्व नदिएको आरोप पनि लगाइएको थियो ।
सन् १९५० को नेपाल–भारत सन्धि नेपालका लागि फाइदाजनक नै रहेको र दुई मुलुकबीचको खुला सिमाना नेपालको गरिबी विरुद्ध उपयोग गर्न सकिने तर्क वक्ताहरुले राखेका थिए ।
त्यसैगरी, नेपाल रेमिटर्स एसोसियसनका कुसुम लामाले भारतमा काम गर्ने नेपालीलाई बैकिङ्ग सुविधा अत्यन्तै जटिल भएको र यसले गर्दा नेपालीको कमाई सुरक्षित तरिकाले स्वदेश भित्र्याउन समस्या परेको बताउनुभयो । नेपाली नागरिकको नागरिकतालाई नै विप्रेषण पठाउन भारतले स्विकार गर्ने गरी दुबै देशका उच्च सरकारी तहमा छलफल गर्नुपर्ने लामाको सुझाव छ ।
कार्यक्रममा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक रघु काफ्लेले नेपाल–भारत दुवै देशका कामदारहरु एकापसमा सुरक्षित रहनुपर्ने र नेपालीलाई भारतमा कसरी सुरक्षित राख्ने भन्ने विषयमा बोर्डले अन्य निकायसँग सहकार्य गर्ने बताउनुभयो ।
भारतमा कामदारका रुपमा जाने नेपालीको सूचना सङ्कलन गर्न तथा उनीहरुलाई आवश्यक सूचना प्रवाह गर्न बोर्ड तयार रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ्गले नेपाली कामदारको अवस्था सुधार्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न र नीति निर्माणमा समयानुकूल पहल गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
नेपाली युवाहरुको रोजगारीको सबभन्दा नजिक र भरपर्दो गन्तव्य बनेको भारतमा कार्यरत नेपालीहरुको अवस्थामा सुधार गर्ने जति कुरा भए पनि त्यसमा कुनै सुधार नभएको सरोकारवालाहरुले बताएका छन् । विज्ञ तथा सरोकारवालाहरुले भारतमा काम गर्ने नेपालीको आर्थिक अवस्थामा विगतको तुलनामा गुणात्मक सुधार नआएको र वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने राज्यका निकायको भूमिका बदलिँदो समयअनुसार सुहाउँदो नभएको बताएका हुन् । भारतमा सिजन अनुसार मध्य तथा सुदूरपश्चिमबाट बढी मात्रामा मजदूरी गर्न जाने गर्दछन् । उपलब्ध तथ्याङ्कअनुसार हाल झण्डै ४० लाख नेपाली भारतका विभिन्न प्रान्तहरुमा छोटो र लामो समयका लागि कामको खोजीमा जाने गरेका छन् ।
No comments:
Post a Comment