Monday, September 1, 2014

अटो क्षेत्रमा सहुलियत जरुरी छ

दीपककाजी तुलाधर (कार्यसमिति सदस्य, नाडा)
नेपालमै सवारीको उत्पादन गर्नुपर्छ भनेर मैले अन्नालिफान ब्रान्डमा मोटरसाइकल उत्पादन सुरु गरेको थिएँ । तर, अहिले प्रतिस्पर्धी क्षमता गुमेका कारण बन्द भएको छ । नेपालमा उत्पादन गर्ने भनेको एसेम्बल गर्ने हो ।
DIPAK KAJI मैले एसेम्बल गर्ने प्रविधि जानिन वा सरकारी नीतिमा कमजोरी भयो भन्ने यतिखेर व्यक्त गर्ने अवस्थामा म छैन । नेपालमै बनाएको मोटरसाइकल राम्रो हुँदैन भन्ने मान्छेको विचार पनि छ । अर्को हाम्रो लागत पनि उच्च भयो । विदेशबाट तयारी मोटर झिकाएर शो देखाएकै भरमा बिक्री गरेजस्तो सजिलो छैन नेपालमै उत्पादन गर्न । विभिन्न पार्टपुर्जा पटकपटक झिकाउनुपर्छ । टुटफुट भए आफैँले नोक्सान बेहोर्नुपर्छ । यहाँ एसेम्बल गर्नभन्दा विदेशबाट तयारी सवारी झिकाउन सजिलो र बिक्री पनि सजिलो हुने देखिन्छ ।
अर्को कुरा बजार नै भएन । यहाँ एसेम्बल भएको सवारी नेपालभित्र मात्र बेच्नुपर्ने बाध्यता छ । अरू देशमा बिक्री गर्न सकिँदैन । भारतमा निर्मित सवारीका लागि भारतीय बजार नै ठूलो छ । अन्य देशमा समेत निर्यात गर्न सक्छन् उनीहरू । यसैले कुनै देशमा बिक्री नभए अर्को देशमा सशक्त बजारीकरण गर्न सकिने विकल्प हुन्छ । तर, नेपालमा आन्तरिक बजारका अलवा अन्य विकल्प नहुँदा समस्या छ ।
नेपालमा गत वर्ष ३२ अर्बको भन्सार अटोमोबाइल्स क्षेत्रबाट आएको तथ्यांक छ । तैपनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण भने राम्रो छैन । यो त यस्तो र उस्तो भनेर गाली गर्ने प्रचलन छ । अटोमोबाइल्स क्षेत्रबाट कति राजस्व उठेको छ, कतिलाई रोजगारी प्राप्त भएको छ लगायतका कुरा बुझ्ने जमात थोरै छ । अटो क्षेत्रमा उठेको राजस्व सडक मर्मतलगायतका क्षेत्रमा खर्च गर्नुपर्‍यो भनेर धेरैपटक उठाइरहेको छु, तर कार्यान्वयन हुन सकेको छैन ।
अटो क्षेत्रबाट यति धेरै राजस्व उठे पनि ट्राफिक जाम उस्तै छ । सडकमा जतासुकै खाल्डाखुल्डी छन् । तर, दोषचाहिँ गाडीलाई दिने गरिएको छ । ठूलो राजस्व गाडीबाट लिने अनि दोष पनि दिने ?
गाडीलाई धेरैले विलासिताको साधनका रूपमा व्याख्या गर्ने गरेका छन्, तर केलाई विलासिता भन्ने ? मान्छेको आवश्यकता बढ्दै गर्दा जीवनशैलीमा सामान्य परिवर्तन देखिन्छ । त्यसलाई विलासिता नभएर आवश्यकताको रूपमा बुझ्न जरुरी छ । गाडी बढ्ता भयो भनेर सरकारी कार्यालयका अधिकारीहरू धेरै बोल्ने गरेका छन्, तर तिनै कार्यालयमा सवारी संख्या धेरै हुन्छन् । त्यसैले त्यहीँबाट मूल्यांकन गर्न सकिन्छ, गाडी किन धेरै भइरहेको छ भनेर । वास्तवमा गाडी अहिले सबैका लागि आवश्यकताको साधन बनिसकेको छ ।
अहिले मास ट्रान्सपोर्टेसनको कुरा पनि चलिरहेको छ । यो भनेको ठूलो बस निकालेर सानो सवारी थन्काउने भनेको होला । तर, पहिले साझाजस्ता ठूला बस थिए । त्यसलाई थन्काएर किन साना सवारी गुड्न दिएको ? फेरि अहिले सानालाई हटाएर ठूलो सवारी चाहियो रे । किन यस्तो अन्योल भइरहेको छ । यो विषयमा दूरदृष्टि राखेर निर्णय लिने वेला आइसकेको छ ।
सरकारले अटो क्षेत्रबाट ठूलो परिमाणमा राजस्व उठाइरहेको छ । तर, सरकारले यातायात व्यवसायीलाई गाली मात्रै गरिरहेको छ । बिस्तारै यस्तो धारणामा परिवर्तन ल्याउनु जरुरी छ । यातायातको कुरा गर्दा सधैँ काठमाडौंलाई मात्रै केन्द्रमा राखेर बहस गरिन्छ । खासमा सबै नेपालीलाई काठमाडौंमै आएर बस्नुपर्ने अनौठो रोग छ । त्यसैले काठमाडौंकै बारेमा सरकारले धेरै चिन्ता लिने गरेको होला भन्ने मेरो बुझाइ छ ।
अटो क्षेत्रमा सरकारले सहुलियत दिनु जरुरी छ । अहिले माइक्रो र बसमा यात्रा गर्नेहरूले आफ्नै सवारी प्रयोग गर्न पाउनुपर्छ । कुनै एक स्थानमा लामो जाम भएको देखेर यहाँ त सवारी बढी भएछ भनेर मूल्यांकन गर्न मिल्दैन । काठमाडौंमा सडक विस्तार भएपछि अहिले सवारी जाम केही घटेको छ । वास्तवमा गाडी आउने भनेको देशको विकास हुनु हो ।

No comments: