Monday, September 8, 2014

दशैंअघि गोलमेच सम्मेलन नहुने संकेत कांग्रेस एमाले भदौभित्रै गर्ने पक्षमा, एमाओवादी तटस्थ

September 8
काठमाडौं । सर्वपक्षीय राजनीतिक सम्मेलन (गोलमेच) माग्ने पक्षले नै समय गुजार्न खोजेपछि सत्तारुढ कांग्रेस र एमालेले नेकपा माओवादीको नियतप्रति आशंका प्रकट गरेका छन् । गोलमेच माग्ने माओवादीले भदौमा सम्मेलन गर्न मानेको छैन ।
agni-pampha
सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने सहमति प्रमुख दलहरु र नेकपा माओवादीबीच भइसकेको छ । सम्मेलनको मोडालिटी तयार पार्न ८ सदस्यीय कार्यदलसमेत बनिसकेको छ । सम्मेलनको मिति र यसका कार्यविधि तय गर्न बनेको चार दलीय कार्यदलले दुई पटक छलफल गरिसकेको छ । आज पुनः बैठक बसेर मोडालिटी तय गर्ने कार्यदलका सदस्यले बताएका छन् ।

 स्रोतका अनुसार कांग्रेस र एमाले भदौ महिनाभित्रै गोलमेच सम्मेलन आयोजना गर्ने पक्षमा छन् । उनीहरुले कार्यदल बैठकमा भदौ २६/२७ को मितिसमेत प्रस्ताव गरेका छन् । तर, गोलमेचको प्रस्ताव नेकपा माओवादीले भने दशैंअघि गोलमेच सम्मेलन हुने सम्भावना नरहेको बताएको छ ।

अहिले हाम्रा अध्यक्षहरु पश्चिमतिर हुनुुहुन्छ, असोज ३ गते प्रधानमन्त्री अमेरिका जाने तय भइसकेको छ । यस हिसाबले दशैं अघि सम्मेलन शुरु भयो भने पनि टुंगिन गाह्रो छ नेकपा माओवादीका एक नेताले भने । कार्यदलका सदस्य एमाले नेता अग्नि खरेलले संविधानसभाको कार्यतालिकालाई असर नपर्ने गरी चाँडो गोलमेच सम्मेलन गर्नुपर्छ भन्ने कांग्रेस र एमालेको प्रस्ताव रहेको बताए ।

 यसमा एनेकपा माओवादीले भने प्रष्ट धारणा राखेको छैन । भदौ, असोज जहिले गरे पनि हुन्छ भन्ने ढंगले एमाओवादी प्रस्तुत भएको स्रोतले जनाएको छ । कार्यदल सदस्य एबम नेकपा माओवादी प्रवक्ता पम्फा भुसालले भने सम्मेलनको मोडालिटी तयार भएपछि मिति तोकिने भन्दै सहमति नभएसम्म मिडियामा नजाने आचारसंहिता बनेको जानकारी दिइन् ।

कार्यदलको सोमबार बस्ने बैठकमा सर्वपक्षीय राजनीतिक सम्मेलनको मोडालिटी तयार हुने र संविधानका सहमति र असहमतिका बुँदामा कसरी छलफल चलाउने भन्ने विधिसमेत तय हुने नेताहरुले बताएका छन् । चार दलीय कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र नरहरी अचार्य, एमालेबाट भीम रावल र अग्नि खरेल,
 एमाओवादीबाट कृष्णवहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा माओवादीबाट देव गुरुङ र पम्फा भुषाल सदस्य छन् । कार्यदलको बैठक तीन दिनदेखि प्रधानमन्त्री निवास बालुवाटारमा केही घण्टासम्म बस्ने गरेको छ ।

No comments: