Monday, August 25, 2014

उच्च जोखिममा मध्यपहाडी गाउँ

डडेलधुरा, भाद्र ८ - 
प्राकृतिक स्रोतको अवैध र अवैज्ञानिक दोहन, मापदण्डविपरीत भौतिक विकास निर्माण र पर्यावरणीय असन्तुलन बढ्दै जाँदा मध्य पहाडका मानव बस्ती उच्च जोखिममा पर्दै गएको विज्ञहरूले बताएका छन्। वर्षा सुरु नहुँदै बसाइँ सर्ने र वर्षा सकिएपछि गाउँ र्फकने चलनजस्तै भएको छ महाभारत पर्वत शृंखलामा रहेका अधिकांश गाउँको। डडेल्धुराको मध्य महाभारत पहाडमा रहेका डेढ दर्जन गाउँका बासिन्दा ५ वर्षयता यस्तै नियति भोगिरहेका छन्। कुन बेला पहिरो आउँछ र गाउँसँगै सबैले बेपत्ता हुनुपर्ने चिन्ताले पिरोलिरहन्छ गाउँलेलाई। ०६२ सालको असोजमा अचानक आएको पहिरोले लदौली, रछ्यानी, लोपा, पारीखेत, सुर्काल र ग्वानीजस्ता गाउँ एक रातमा पहिरोले पुरिएपछि हरेक वर्ष यस्तै सम्भावना हेरी गाउँले वर्षाका समयमा गाउँ छाड्न थालेका हुन्। 

डडेलधुरा मात्र नभएर मध्य पहाडका अधिकांश क्षेत्रका गाउँ पनि उच्च जोखिममा पर्दै जान थालेका छन्। 'बितेका ५ वर्षको तुलनामा जोखिम उच्च भएको छ', प्राकृतिक प्रकोपका विषयमा अनुसन्धान गरिरहेको संस्था प्राकृतिक प्रकोप अनुसन्धान केन्द्रका प्रमुख इन्जिनियर राजरत्न बज्राचार्यले भने, 'मध्य पहाडमा रहेका प्राचीन बस्ती उच्च जोखिममा पर्न थालेका छन्।' डडेलधुरा, डोटी, बैतडी र बाजुरामा २ वर्षयता गरिएको अनुसन्धानपछि उनले भने, 'वनस्पतीय आवरण घट्दै जानु, वनजंगलको विनाश, जथाभावी निर्माण हुन थालेका सडक र स्रोतको अप्राकृतिक दोहनले मानव बस्ती उच्च जोखिममा पर्न थालेका हुन्।'

 'कतै गाउँ नै पहिरोमा पुरिएका छन् भने कतै गाउँ नै बगेर बेपत्ता भएका छन्', बज्राचार्य भन्छन्, 'बैतडी, डोटी र डडेलधुरामा त आधा दर्जनभन्दा बढी गाउँकै नामसमेत 'रडी गाउँ', 'झडी गाउँ' र 'सरी गाउँ' राखिएका छन्।' बाढी र पहिरोले गाउँ खस्ने, सर्ने र रड्ने भएकाले नै यस्ता नाम राखिएको उनले बताए। भने, '५ वर्षअघि प्रकोपका जति घटना हुन्थे तुलना गर्दा ५ वर्षपछि डेढ सय प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।' 

'अव्यवस्थित भूउपयोगले मानव बस्ती उच्च जोखिममा छन्', पर्वतीय जलाधारको जलवायु समानुकूलन आयोजनाका प्रमुख तथा वरिष्ठ भूसंरक्षणविद् डा. जगन्नाथ जोशीले भने, 'प्राकृतिक प्रकोपका घटनामा उच्च वृद्धि हुन थाल्नुले आउने दिनमा गम्भीर संकटको संकेत गरेको छ।' डा. जोशीका अनुसार पानी पर्ने प्रकृति नै फरक भएपछि भूमिगत जलस्रोतको भण्डारण हुन नसक्दा मध्य पहाडी मानव बस्ती उच्च जोखिममा पर्न थालेका हुन्। केही वर्षयता वर्षामा हुने अतिवृष्टिसँगै खण्ड खण्ड गरी पानी पर्न थालेपछि भूमिगत रूपमा पानीको सञ्चय हुन नसक्दा प्राकृतिक प्रकोपका घटना अनुमान गर्न नसकिने गरी बढेको उनले बताए। भूक्षमता कम हुनु तर भूउपयोग बढ्दै जानुले पनि मानव बस्ती उच्च जोखिममा पर्न थालेको डा. जोशीले बताए। उनले भने, 'वर्षातको पानी सतहबाटै बगेर जान थालेपछि समस्या देखिन सुरु भएको हो।' जलभण्डारणको समस्या बढ्न थालेसँगै मध्य पहाडका गाउँ कुनै पनि बेला प्राकृतिक प्रकोपमा पर्न सक्ने खतरा पनि बढेको छ। यस्तै समस्यालाई प्राथमिकतामा राखेर सरकारले पर्वतीय जलाधार आयोजना सुरु गरेको पनि उनले बताए। 

'उच्च पहाडी भेकभन्दा तल्लो र शिवालिक पर्वतसँग जोडिएको भूभाग अझै बढी संकटमा देखिएको छ', प्राकृतिक प्रकोप अनुसन्धान केन्द्रका प्रमुख बज्राचार्यले भने, 'एकातिर चुरेको घना जंगल काटिएको छ भने महाभारत पर्वतमा रहेको जंगल अतिक्रमणको चपेटामा परेपछि मध्य पहाडका मानव बस्ती प्राकृतिक प्रकोपको संकट झेल्न बाध्य भएका छन्।' '१० वर्षअघिसम्म कहिलेकाहीं घट्ने प्रकोपका घटना हरेक वर्ष १० गुनाले वृद्धि हुन थालेका छन्', उनले भने, 'भूउपयोगको सही व्यवस्थापन र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नसक्ने हो भने मध्य पहाडमुनिका उपत्यका र तराईले पनि यसको गम्भीर परिणाम भोग्नुपर्ने देखिएको छ।' 

उच्च पहाडी भेकमा रहेको खाद्यान्न संकट र राज्यले प्रदान गर्ने प्रायः सबै सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यताले बसाइँसराइ गरी मध्य पहाडी भेकमा बढ्न थालेको जनसंख्याको चापका कारण प्राकृतिक स्रोतको अनियन्त्रित दोहन हुन थाल्नु पनि संकटको प्रमुख कारणमध्ये एक भएको भूसंरक्षण विभागका वरिष्ठ इन्जिनियर डम्बरबहादुर थापाले बताए। 'यस वर्ष देखिने लोभलाग्दो जंगल अर्को वर्ष रहरलाग्दो मानव बस्तीमा परिणत हुन्छ', उनले भने, 'यसले गर्दा खोलानाला अनियन्त्रित हुने र वर्षाको पानी सञ्चय हुन नसकी सहतमै बग्दा भूक्षय र प्राकृतिक प्रकोप बढ्ने गरेका छन्।' राज्यले रोकथामका लागि हरेक वर्ष गर्ने ससाना प्रयासले मात्र जोखिम कम गर्न नसकिने अवस्था रहेको पनि वरिष्ठ इन्जिनियर थापाले बताए। 'कणर्ाली जलाधारसँगै महाकाली जलाधार क्षेत्रमा समानुकूल आयोजना आवश्यक छ', थापाले भन,े 'सानातिना टुक्रा योजनाले समस्या समाधान हुन सक्ने स्थिति देखिँदैन।' 

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५५

No comments: