Monday, August 25, 2014

शिक्षक आन्दोलनले क्याम्पस ठप्प

बागलुङ, भाद्र ८ - 
आंशिक शिक्षक आन्दोलनले धौलागिरि बहुमुखी क्याम्पस आइतबार ठप्प भएको छ। करारमा नियुक्ति पाउनुपर्नेलगायत माग राखेर संघर्षरत रहे पनि सुनुवाइ नभएको भन्दै ५० आंशिक शिक्षकले कक्षा नै बहिष्कार गरेका हुन्। नियमित कक्षा र परीक्षा तथा अन्य काम पनि बहिष्कार गरेको आंशिक प्राध्यापक संघ इकाइ अध्यक्ष शिवप्रसाद पौडेलले बताए। माग पूरा नभएसम्म आन्दोलन गर्ने उनीहरूले बताएका छन्। 

१० देखि १२ वर्षसम्म प्राध्यापन गरेकालाई समेत करारमा नियुक्ति नदिएको भन्दै उनीहरूले संघर्षका कार्यक्रम थालेका थिए। 'स्थायी भएका प्राध्यापक अध्ययनका लागि भन्दै बाहिरिने र आंशिकलाई सबै भार थोपरिएको छ,' पौडेलले भने, 'विभागका सबै कामको जिम्मा हामीले सम्हालेका छौं।' धौलागिरि अञ्चलकै एउटा मात्र आंगिक क्याम्पसमा सञ्चालित बीबीएस संकाय आंशिककै भरमा चलेको छ। त्यस्तै एमएतर्फको नेपाली, शिक्षा संकायको पाठ्यक्रम विकासमा पूरै र समाजशास्त्र/मानवशास्त्र विभागमा अधिकांश आंशिकले धानेका छन्। स्थायी प्राध्यापकहरू पलायन भएकाले दैनिक ६ देखि ७ पिरियडसम्म पढाउन बाध्य भएको पौडेलले बताए। अहिले स्थायीका १९ जनाको दरबन्दी खाली छ।

दुई वर्षदेखि सञ्चालित विज्ञानतर्फको स्नातकको पढाइ पनि पूरै आंशिक शिक्षकको भरमा छ। विज्ञानतर्फ ८ र मानविकी तथा शिक्षामा ४२ आंशिक प्राध्यापक कार्यरत छन्। उनीहरूको मागलाई केन्द्रीय तहमा पठाए पनि सुनुवाइ नभएको सहायक क्याम्पस प्रमुख धु्रवराज गौतमले बताए। 'उहाँहरूको समस्या भए पनि करार बनाउन सकिएको छैन,' गौतमले भने, 'त्रिविको निर्णयको प्रतीक्षामा बस्नुपर्ने भएकाले यसै भन्न नसकिने अवस्था छ। क्याम्पस प्रमुख आनन्द सिलवाल त्यही कामका लागि काठमाडौं धाइरहनुभएको छ।' आंशिकको आन्दोलनले आइतबारका सबै शैक्षिक गतिविधि ठप्प भएका थिए। स्थायी नभएकाले अतिरिक्त कक्षा लिए पनि उनीहरूले त्यसको पैसा पाएका छैनन्। आंशिकमा बस्दा एक पिरियडको २ सय दिने प्रावधान छ।

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०६

No comments: