Monday, August 25, 2014

ताप्लेजुङ, भाद्र ८ - 'सामुदायिक वनलाई बेवास्ता’

ताप्लेजुङ (कास)- सामुदायिक वन उपभोक्ता महासंघ सचिव बिर्खबहादुर शाहीले सामुदायिक वनलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। वन व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा आइतबार उनले सरकार समुदायलाई वन हस्तान्तरण गर्नेभन्दा पनि संरक्षण क्षेत्र बनाउन लागिपरेको बताए। 'अन्तर्राष्ट्रिय मापदण्डअनुसार १७ प्रतिशतभन्दा बढी संरक्षण क्षेत्र हुन नहुनेमा चुरेसमेत गरेर ४० प्रतिशत पुगिसक्यो,' उनले भने, 'नेपाल पक्ष राष्ट्र्र भएपछि त्यो गर्न मिल्दैन थियो।' समुदायले यत्रो वन संरक्षण गरिरहँदा पनि सरकारले सहयोग नगरेको दाबी गर्दै उनले यस्तै रबैया रहे आन्दोलित हुनुको विकल्प नभएको बताए।



अपांगता भएकालाई कपडा

इलाम (कास)- बरबोटेस्थित अमर उच्च माविमा सञ्चालित बौद्धिक अपांगता स्रोत केन्द्रका विद्यार्थीलाई निःशुल्क कपडा वितरण गरिएको छ। कपडा संकलन गरेर न्यून आयस्तर भएका व्यक्तिलाई निःशुल्क प्रदान गर्दै आएको जिल्लास्थित सोसियल इनिसिएटिभ क्लोथ बैंकले केन्द्रका विद्यार्थीलाई कपडासहित स्टेसनरी सामग्री र फलफूलसमेत वितरण गरेको हो। बैंकले संकलन गरेका ३ सय थान कपडा र ५० थान जुत्ताचप्पल प्रदान गरिएको क्लोथ बैंकका सचिव विभूषण राईले जनाए। 



विधेयकमा छलफल

ताप्लेजुङ (कास)- सदरमुकाम फुङलिङमा बोक्सीसम्बन्धी कसुर र सजायलाई व्यवस्था गर्न बनेको विधेयक मस्यौदा २०७१ का विषयमा छलफल भएको छ। ओमन एक्ट र महिला उद्यमी संघको आयोजनामा भएको छलफलमा पाँच दर्जन बढीले भाग लिएका थिए। अधिवक्ता मंगल मेन्याङ्बोको सहजीकरणमा भएको कार्यक्रमका अधिकांश सहभागीले कडा कारबाहीको पक्षमा वकालत गरेका थिए।



बाढीपीडितलाई सहयोग


सिरहा (कास)- कांग्रेस सिरहा क्षेत्र ३ को आइतबार बसेको बैठकले बाढीपीडितका लागि प्रत्येक क्रियाशील सदस्यले न्यूनतम १ सयको दरले सहयोग गर्ने निर्णय गरेको छ। सभापति सञ्जयप्रकाश यादवको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको कांग्रेस महाधिवेशन प्रतिनिधि सुभासचन्द्र यादवले बताए। यादवले बैठकमै ७ हजार २ सय सहयोग रकम संकलन भइसकेको बताए। सभापति यादवले क्षेत्रभरिका क्रियाशील सदस्यबाट निर्णय भएबमोजिमको रकम चाँडै संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताए। क्षेत्र ३ मा कांग्रेसको १ हजार ३२ क्रियाशील सदस्य रहेको छ। यस्तै, कांग्रेस क्षेत्र ६ को बसेको बैठकले पनि प्रत्येक क्रियाशील सदस्यले न्यूनतम २ सयको दरले बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ।



लुटपाट गर्ने २ युवक पक्राउ

हेटौंडा (कास)- त्रिभुवन राजपथमा ट्रक रोकेर यात्रु र चालकको रकम लुटेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। वीरगन्जबाट काठ लोड गरेर काठमाडौं गइरहेको मिनी ट्रकलाई रोकेर यात्रु र चालकबाट ७० हजार लुटेको आरोपमा थाहा नगरपालिकाका सुरेन्द्र पाण्डे र भैंसेका किरण लुङालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। राजपथको झिरघारी-सिमभज्याङ खण्डको गोलमोडमा राति ११ बजे तीनवटा मोटरसाइकलमा आएका अपरिचित युवकले ट्रक रोकेर यात्रु र चालकलाई नियन्त्रणमा लिई रकम लुटेका थिए। 

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०७

No comments: