Monday, August 25, 2014

गाउँगाउँमा एम्बुलेन्सले धेरैको पुनर्जीवन

भाद्र ८ - 
गाउँघरमा बिरामीलाई पहिले काठको झोलुंगो, डोकामा बोकिन्थ्यो। केहीअघि स्ट्रेचर पुगे। अहिले गाउँगाउँमा एम्बुलेन्स पुगेका छन्। र, धेरैको ज्यान पनि बचेको छ। पहाडी भिरालो बाटो, गाउँमै रहने एम्बुलेन्सले धेरैलाई पुनर्जीवन दिएको छ। मुलुकमा परिवर्तनसँगै विकासको गति निकै ढिलो तथा देशमा केही नभएकामा आलोचित छ। तर गाउँ पुगेका एम्बुलेन्स सेवा भने पछिल्ला वर्ष निकै उपलब्धिमूलक विकासको उदाहरण बनेका छन्। पोखराबाट ईश्वरी न्यौपाने, पाल्पाबाट माधव अर्याल, म्याग्दीबाट घनश्याम खड्का र तनहुँबाट पूर्ण विके लेख्छन् ः



कास्कीको भरतपोखरीमा भैंसी दुहुँदा दुहुँदै ६२ वर्षीय लीलाप्रसाद बराल अचानक ढले। हृदयाघात भएका उनलाई २० मिनेटमै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइपुर्‍याए। उनले उतिबेलै तात्कालिक उपचार पाए। 'छिट्टै ल्याइपुर्‍याएकाले बचाउन सकियो,' चिकित्सकको भनाइ सम्झँदै छोरा डिल्लीराम भन्छन्, 'बुबा अहिले स्वस्थ हुनुहन्छ।' 'गाउँमै एम्बुलेन्स थियो र तुरुन्तै अस्पताल ल्याउन सकियो। नत्र खतरा थियो।

पाल्पा सदरमुकाम तानसेनबाट ७२ किलोमिटर टाढा गाँडाकोटकी २८ वर्षीया पुनीमाया थापामगर सुत्केरी हुन नसकेर सदरमुकाम ल्याएपछि बाँचिन्। भरतपोखरीका बराल र थापामगर त एम्बुलेन्सले बाँचेका उदाहरण मात्र हुन्। लडेका, ढलेका, सुत्केरी हुन नसकेका, टाइफाइडले थलिएका धेरैलाई तत्कालै अस्पताल पुर्‍याएर बचाएको छ एम्बुलेन्सले। 

केही वर्ष अघिसम्म जिल्लामा एक/दुई एम्बुलेन्स मात्र थिए। मुस्किलले सदरमुकामका अस्पतालले रिफर गरे मात्र सेवा दिन्थे। दुई तीन वर्षयता गाउँगाउँमै एम्बुलेन्स बस्न थालेका छन्। कास्कीमा ०६८ पछि मात्रै १० एम्बुलेन्स थपिए। अहिले ३० वटा चालू छन्। 'गाउँकै लागि एम्बुलेन्स माग गर्नेको संख्या बढ्दो छ,' जनस्वास्थ निरीक्षक केशव चापागाईंले भने, 'ग्रामीण भेगमै एम्बुलेन्स राख्दा तत्कालै उपचार पाउने र धेरैको ज्यान बच्न थालेपछि सबैतिर पुग्ने र माग बढेको छ।'

सहरमै राख्नेले पनि आआफ्नो भेगको गाउँमा सेवा पुर्‍याउने उद्देश्यले राखेका छन्। चिउली पार्चे तमु समाजको एम्बुलेन्सले दुर्गमका सिक्लेस, तप्राङमा सेवा पुर्‍याएको छ। रेडक्रसअन्तर्गत भरतपोखरी, ढिकुरपोखरी, देउराली, नयाँपुल, आर्वा गाउँमै राखिएको छ। 'सहरदेखि गएर ल्याउनुभन्दा गाउँमै स्टेसन बनाएर बसेका एम्बुलेन्स प्रभावकारी छ,' रेडक्रस कास्की कार्यालय प्रमुख खेमराज सापकोटाले भने। त्यस्तै आर्वाको एम्बुलेन्सले सिल्दजुरे, पार्चे, नामार्जुङ, थुमाकोडाँडाजस्ता विकट बस्तीमा सेवा दिएको छ। सहरका निजी अस्पतालले पनि बिरामी लिन जाने र डिस्चार्ज भएपछि अवस्थाअनुसार घर पुर्‍याइदिने गरेका छन्।

सडक विस्तारसँगै अन्य यातायातका साथै एम्बुलेन्स वृद्धि भएको हो। गाउँका सामाजिक अगुवा हुन् वा विदेश पुगेर गाउँलाई माया गर्नेहरूको प्राथमिकतामा पर्न थालेको काम यतिबेला एम्बुलेन्स हो।

सडक पुगे पनि एम्बुलेन्स अभावमा अन्य सवारीले चर्को भाडा असुलेर मौकाको फाइदा लिने गरेका थिए। बस, जिप, ट्याक्सीले बिरामी ओसार्न परे धान्नै नसक्ने रकम लिन्थे। अहिले एम्बुलेन्स भएपछि ती साधनको ठगीबाट पनि गाउँले जोगिएका छन्। कास्कीको पिप्लेबाट बसले बिरामी ल्याएको १४ हजार रुपैयाँसम्म तिरेको बताउँछन् रेडक्रसकर्मी सूर्यप्रसाद ढकाल। सोही दूरीमा अहिले २ हजार ८ सय रुपैयाँ भाडा तोकिएको छ। 'आजकाल अन्य सवारीले पनि त्यहाँबाट २८ सयमै वा केही मात्र थपेपछि बिरामी ल्याइदिन्छन्,' ढकालले भने, 'देखिने नदेखिने धेरै फाइदा पुगेको छ।' 'देशमा केही पनि नभएको भन्न मिल्दैन। परिवर्तनसँगै बिस्तारै भएको उपलब्धि हो यो', उनले थपे।

एम्बुलेन्सको भाडा पनि पारदर्शी छ। प्रतिकिलोमिटर पक्की सडकमा ३० तथा कच्चीमा ३५ रुपैयाँ तोकिएको छ। रातका लागि १० प्रतिशत अतिरिक्त शुल्क छ। पोखराबाट काठमाडौं ८ हजार २ सय ५०, भरतपुर ५ हजार ३ सय रुपैयाँ तोकिएको छ।

पाल्पामा पनि अधिकांश गाउँबाटै सञ्चालित छन्। कतिपय सदरमुकाममा रहेर पनि गाउँसम्मै जान्छन्। विकासले मारेको फड्कोसँगै यसबाट धेरैको ज्यान बचेको छ। पूर्वसैनिकको पहलमा भारतीय दूतावासबाट दर्छा, चिलाङी, झडेवा, खस्यौली, छहरामा एम्बुलेन्स भित्रिएको छ। 'अन्य सवारी महँगो र भनेका बेलामा हिंड्न नमान्ने अवस्था छ,' गाँडाकोट, भलायटारका बोमबहादुर थापाले भने, 'एम्बुलेन्सले त्यस्तो गर्दैन।'

कहीं दुर्घटना भयो भने तत्कालै एम्बुलेन्स पुग्छन्। बाटो पुगेका ठाउँका गाउँगाउँमा सहजै पहुँच छ। बिरामी हुनासाथ एम्वुलेन्स बोलाइहाल्ने अनि सडकसम्म स्टे्रचरमा बोकेर पुर्‍याउने गर्छन्। झडेवा, गोठादी क्षेत्रका धेरैले अकालमा ज्यान गुमाउनुपरेको छैन। छहरा, बतासे, खस्यौलीमा पनि सेवा दिइरहेका छन्। जिल्लाभर अहिले १३ एम्बुलेन्स छन्। तानसेनमा रहेकाले समेत तानसेन-तम्घास सडक र सिद्धार्थ राजमार्गमा जहाँसुकै दुर्घटना भए पनि तत्कालै पुग्छन्। 'कच्ची बाटोमा अवस्था हेरेर जहाँसुकै सेवा अनुमति दिएका छांै,' रेडक्रस अध्यक्ष बुद्धिप्रसाद शर्माले भने।

'धेरै दुःख र मेहेनत गरेर सदरमुकामबाट ७५ किलोमिटर टाढा एम्बुलेन्स भित्र्याइयो,' पूर्वसैनिक रोमनबहादुर रानाले भने, 'गर्भवती, दुर्घटनामा परेका र आकस्मिक बिरामी पर्नेलाई राहत मिलेको छ।' गाउँका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई दूतावासले सहयोग गरेको छ। अझै केही गाविसका लागि पहलसमेत भएको कर्णेल रानाले बताए।



गाउँका बिरामीलाई भाडा छुट

तनहुँको भिमादमा एम्बुलेन्स युवा क्लब नै छ। भिमाददेखि पोखरासम्म गएको २ हजार १ सय रुपैयाँ भाडा छ। तर गाउँका बिरामीलाई ४ सय रुपैंयाँ सस्तो लिने गरिएको क्लबका सदस्य तथा चालक दाताराम अधिकारीले बताए।

एम्बुलेन्सबाट ग्रामीण क्षेत्रका बिरामी ओसार्ने चलन बढ्दो छ। जिल्ला अस्पताल ल्याउने तथा सोझै पोखरा, भरतपुर र काठमाडौं पुर्‍याउँदा तत्कालै उपाचार पाएर ज्यान बचाउने धेरै छन्। ग्रामीण क्षेत्रका बिरामी तथा घाइतेलाई छिट्टै सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन सहज भएको छ। 

व्यास र शुक्लागण्डकी नगरपालिका क्षेत्रका अलावा ग्रामीण बस्तीहरू भिमाद, बन्दीपुर, थर्पु, राइपुर, आँबुखैरेनी र रुपाकोट गाविसमा एम्बुलेन्स सञ्चालनमा छन्। रिसिङ रानीपाखेरी, राम्जाकोट, भिरकोट, फिरफिरेलगायतका गाविसका मानिस घाइते, सुत्केरी र उच्च ज्वरोका बिरामी लाभान्वित छन्। 

आँबुखैरेनी ६ स्थित चिसापानी टोल सुधार समिति अध्यक्ष कमलनारायण श्रेष्ठले वृद्वा र सुत्केरीलाई १० प्रतिशत छुट दिने गरिएको बताए।

जिल्लामा कुल २० एम्बुलेन्स सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। सञ्चालित एम्बुलेन्समध्ये २ वटा मात्र सरकारी हुन्। 

सञ्चालित एम्बुलेन्सहरू सबै 'ग' वर्गका रहे पनि घाइते र आपत्कालीन अवस्थाका बिरामीलाई धेरै राहत पुगेको जिल्ला स्वास्थ्य कार्यालय तथा दमौली अस्पतालका प्रमुख डा. विवेककुमार लालले बताए। 



प्रवासीको उपहार

म्याग्दीको दुर्गम लेकाली बस्तीमा कच्ची सडक उक्लेपछि प्रवासमा रहेका जिल्लावासीले गाउँगाउँमा एम्बुलेन्स उपहार पठाएका छन्। म्याग्दी नेपाली प्रवासी संघ (मोना) यूके शाखाले रेडक्रसको पश्चिम दरबाङ उपशाखा, उत्तरको भुरुङ-तातोपानी उपशाखा र जिल्ला शाखाबाट सञ्चालन हुने गरी तीनवटा एम्बुलेन्स दिएको हो। 

रेडक्रसले सेवा दिँदै आएको अर्को एम्बुलेन्स जापानमा कार्यरत म्याग्दीवासीले ८ वर्षअघि उपहार दिएका हुन्। 'प्रवासमा रहे पनि हाम्रा आफन्त र भावना यहींको माटोमा छ। यी एम्बुलेन्सले गाउँगाउँमा रहेका बिरामीलाई सहरको अस्पताल पुर्‍याई उपचारमा सहयोग गर्ने छन्,' मोना यूकेका अध्यक्ष योगकुमार फगामी मगरले भने, 'मोटरबाटो भए सवारी चल्छ, सवारीले यात्रा र खाद्यान्न ढुवानीमा सहयोग मात्र पुग्दैन, दुर्गम बस्तीका बिरामीलाई छिटो अस्पताल पुर्‍याई ज्यान बचाउँछ।' एम्बुलेन्सहरू ग्रामीण सडकमा २४ सै घन्टा सञ्चालन हुन्छन्। 



चालक सधैं स्वयंसेवक

सञ्चालित अधिकांश एम्बुलेन्सले त्यसैबाट खर्च धान्न सकेका छैनन्। एम्बुलेन्स ल्याउन जति सजिलो छ, त्यसलाई निरन्तर चलाउन निकै कठिन छ। सबैजसो एम्बुलेन्सहरू नोक्सानमा रहेको रेडक्रस कास्कीका प्रमुख पौडेल बताउँछन्। चन्दा उठाएर एम्बुलेन्स ल्याए पनि चलाउनसमेत रकम मागिरहनुपर्ने बाध्यतामा छन् एम्बुलेन्सका समाजसेवीहरू।

धेरै एम्बुलेन्समा नियमित चालकसमेत छैनन्। कास्कीकै भरतपोखरी रेडक्रसले गाउँकै सवारी चलाउने ३/४ जनालाई स्वयंसेवक राखेको छ। उनीहरूले तलब नलिई बिरामी ओसार्ने गरेका छन्। 'बिरामी लगेको प्रतिटि्रप भत्ता तोकिएको छ। त्यति मात्रै लिएर उनीहरूले अस्पताल पुर्‍याएरै चलेको छ,' भरतपोखरी रेडक्रसका सदस्य डिल्लीराम बरालले भने। त्यस्तै पोखराकै रामबजारमा पनि एम्बुलेन्समा नियमित चालक छैनन्। चलाउन जान्नेमध्येको सूची छ। उनीहरू स्वयंसेवा गर्न तयार भइहाल्छन्। जसको फुर्सद छ उही गएर बिरामी पुर्‍याएर 

आफ्ना काममा लाग्छन्। वर्षौंदेखि यसरी नै चलाउँदै आएका छन्। म्याग्दी जिल्ला अस्पताल र भारतीय दूतावासको सहयोगमा भूतपूर्व सैनिक कल्याणकारी संघले चलाएको एम्बुलेन्स जीर्ण भई थन्किएका छन्। भूपूसैनिको एम्बुलेन्स त मर्मत गर्न नसकेर सदरमुकाम बेनीको कालीपुलमा अलपत्र छ। 

रेडक्रस जिल्ला शाखाका अनुसार तीनवटा एम्बुलेन्सले आव ०७०/०७१ मा छ लाख १४ हजार पाँच सय ५० आम्दानी गरे भने नौ लाख २० हजार आठ सय १२ खर्च गरे। 

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०४

No comments: