Monday, August 25, 2014

गाडी चोर्ने समूह सक्रिय

काँकडभिट्टा, भाद्र ८ - 
झापा मेचीनगर १० काँकडभिट्टाबाट साउन ५ गते एसके ०३ पी ००१० नम्बरको भारतीय गाडी राखेकै ठाउँबाट हरायो। प्रहरीका अनुसार स्थानीय रामकृष्ण शर्माको उक्त गाडी केही दिनपछि मोरङ बेलबारीमा फेला पर्‍यो। गाडी भेटिँदा असली नम्बर परिवर्तन गरी बा१च ३९४८ बनाइएको थियो।

गाडी चोरी आरोपमा पक्राउ परेका भारत सिलिगुडीका सुवास रायलाई जिल्ला अदालत झापाले १२ लाख धरौटी माग गर्दा तिर्न नसकी कारागार पठाएको छ। उनीसँगै पक्राउ परेका मोरङ बेलबारी ३ का सुरेन्द्र रणपहेली ५ हजार र कैलाली टीकापुर ८ का लक्ष्मण सेठी १० हजार धरौटी बुझाएर छुटे। 'झापामा सवारी चोरीमा ठूलै सञ्जाल सक्रिय छ,' झापाका प्रहरी प्रमुख मुकुन्दराज आचार्य भन्छन्, 'गाडी तस्करको सञ्जाल तोड्न प्रहरी सक्रिय छ।' 

जिल्ला ट्राफिक प्रहरी स्रोतका अनुसार भारतीय तस्करसँगको मिलेमतोमा सवारी चोरी हुने गरेको हो। भारतीय सवारी नेपाल ल्याउने गरिन्छ। भारतको सिक्किमदेखि दार्जिलिङ, कालिम्पोङ, सिलिगुडी र मिरिकका तस्करको यसमा संलग्नता छ। त्यहा चोरिएका गाडी नेपाल पठाइन्छ। एक प्रहरीले भारतबाट तस्करी गरिएका सवारी बिर्तामोड, दमक, धरान हुँदै पूर्वी पहाडीसम्म पुर्‍याइने गरेको दाबी गरे। प्रहरी स्रोतका अनुसार जिल्लाका सवारी चोरी गर्ने छुट्टै गिरोह पनि रहेको छ। जिल्लाभित्रकै चोरी गर्ने धेरै भारतीय छन्। उनीहरू बिर्तामोड, काँकडभिट्टा, दमकलगायत सहरमा डेरा लिएर बसेका छन्। 

एक प्रहरीले बिर्तामोडमा चोरीका सवारी राख्ने गोदामै रहेको सूचना प्राप्त भएको तर, स्थान पहिचान नहुँदा छापा मार्न अप्ठ्यारो परेको बताए। तस्करले महँगो मूल्यका सवारी सस्तोमा बेच्ने गरेका छन्। ३ लाख पर्ने मोटरसाइकल १ लाखमा पनि बेचेको पाइएको छ। सवारी तस्करीमा संलग्नलाई मुलुकी ऐन चोरीको महलबमोजिम पहिलोपटक ६ महिना र बिगोबमोजिम जरिवाना तथा पटके भए थप सजाय हुने र डाँका गरेको भए ६ देखि १२ वर्षसम्म कैद सजाय र बिगोबमोजिम जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०२

No comments: