Monday, August 25, 2014

'लाहुरे बा' हरूले चलाएको विद्यालय

थक्लेनी (प्यूठान), भाद्र ८ -
यहाँका लाहुरे हजुरबाहरूले पेन्सन खर्चेर विद्यालय सञ्चालन गरेका छन्। नपढेका कारण लाहुरे जीवनमा भोग्नुपरेको दुःख भावी पिँढीलाई नपरोस् भन्दै उद्देश्यसाथ उनीहरूले शिक्षकलाई तलब खुवाएर विद्यालय चलाएका हुन्।

भालुबाङ-प्यूठान मोटरबाटोले छोएर पनि शिक्षामा पछि परेको तिराम ४, सिमलचौरमा स्थापना गरिएको विद्यालयमा अहिले १ सय १० बालबालिकाले पठनपाठनको अवसर पाएका छन्। गाउँमा प्राथमिक तहसम्मको पठनपाठन नहुँदा ९/१० वर्षको उमेरसम्म केटाकेटी खेलेर बिताउँथे।

०६७ देखि सञ्चालनमा आएको उक्त विद्यालयमा अहिले तीन कक्षासम्म पढाइ हुन्छ। तीन निजी शिक्षकलाई लाहुरेबाहरूले पेन्सनबापत पाउने रुपैयाँ उठाएर तलब खुवाएका छन्। शिक्षकलाई तलब ७ जना भारतीय पेन्सनरले बेहोरिरहेका छन्। यसको नेतृत्व स्थानीय भक्तबहादुर थापाले गर्छन्। उनकै अगुवाइमा विद्यालय बनेको हो।

'सुरुमा लोकबहादुर पुन र भक्तबहादुर थापाले विद्यालय खोल्न गाउँलेलाई सहमत गराएका थिए,' स्थानीय भीमबहादुर थापाले भने, 'दुवै जनाको नाम आउने गरी विद्यालयको नाम लोकभक्त प्राथमिक राख्यौं।' उनले यी दुई जनाले स्थापनादेखि अहिलेसम्म सहयोग गरिरहेको बताए।

'स्कुल जाने उमेरका सबै बालबालिका घरमै खेल्थे,' भीमबहादुरले भने। भक्तबहादुरले १ लाख ५० हजार बराबरको ३ रोपनी जग्गा किनेर विद्यालयलाई निःशुल्क दिएपछि विद्यालय स्थापना प्रक्रिया सुरु भएको उनले बताए।

१८ वर्ष भारतमा नोकरी गर्दा आफूले नपढेका कारण विभिन्न झमेला भोगेको बताउँदै भक्तबहादुरले आफूजस्तो नाति/नातिनाले भोग्न नपरोस् भनेर लगानी गरेको बताए। उनका पाँच नाति-नातिना यहीं पढ्छन्।

हिजोआज गाउँमा विद्यालय उमेरका बालबालिका पठनपाठन गर्न थालेपछि आफूहरूलाई थप हौसला मिलेको थापाले बताए। ६ महिना बाँसले बारेर विद्यालय सञ्चालन गर्नुपरेको थापाले बताए। 'पुरानो घरको काठपातले बारेर सञ्चालनमा ल्यायौं,' उनले भने, 'आँट गरे गर्न सकिँदोरहेछ।' दुई वर्षभित्रै विद्यालय स्थापना गरेर भौतिक पूर्वाधार निर्माण गरेको थापाले बताए। व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भक्तबहादुरले हिजोआज विद्यालय सञ्चालनका लागि स्रोत खोजी गर्दै भौतिक पूर्वाधार निर्माणमा लागिरहेको बताए।

विद्यालय सञ्चालनले तिरामको तल्लो, उपल्लो सिमलचौर, रम्दी, कालीखोला, धुबाङ भातमारेका ७२ घरका बालबालिकाले पठनपाठन गर्ने गरेको प्रअ अनबहादुर रानाले बताए। छोटो समयमै विद्यालय स्थापना गरेर राम्रो प्रगति गरेको देखेर लोकभक्त प्राथमिक विद्यालय तिरामलाई चारकोठे भवन परेको जिल्ला शिक्षा अधिकारी अणप्रसाद न्यौपानेले बताए।

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०४



No comments: