Monday, August 25, 2014

कारबाही माग गर्दै धर्ना

रौतहट, भाद्र ८ - 
क्षतिपूर्ति र उद्योग सञ्चालकलाई कारबाही माग राख्दै विरोधमा उत्रेका यहाँका किसानले आइतबार सदरमुकाम गौरमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरी धर्ना दिएका छन्। 

पीडित किसान संघर्ष समितिको ब्यानर बोकेर दक्षिणी भेगका किसानले नाराबाजी गर्दै प्रशासनमा धर्ना दिएका हुन्। किसानको धर्नाका कारण केहीबेर प्रशासनको मूलढोकामा सेवाग्राही भित्र जान पाएनन्। गत साउन २८ गते झाझखोलाको बाढीमा सुगर मिल्सको डिस्टिलरी, बाबा डिस्टिलरी विर्ता र ज्योति डिस्टिलरी डुमरियाले रसायनयुक्त दूषित पानीको ढल खोल्दा जेठरहिया, भेडियाही, मत्सरी, सरुअठा, पचरुखी, बडहर्वा, झुनखुनवा, हजमिनिया वसतपुर र गौर नगरपालिका किसानले लगाएको १ हजार बिघाभन्दा बढी धान खेती नष्ट भएको भन्दै आन्दोलनमा उत्रेका हुन्। तर उद्योग सञ्चालक भने किसानको आरोप गलत भएको बताउँदै आएका छन्। 

प्रशासनले आफूहरूको माग पूरा नगरेकाले आन्दोलित हुनुपरेको झुन्खुनुवाका किसान सुखाडी साहले बताए। विषका कारण नष्ट भएको धान बालीको उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै किसान नाराबाजीमा उत्रेका थिए। उनीहरूले किसानको जायज मागप्रति गम्भीर नभएको भन्दै प्रशासनविरुद्ध समेत नाराबाजी गरेका थिए। महँगो सिँचाइ गरी लगाएको धान बाली नष्ट हुँदा मारमा परेको किसानले बताए। 

उचित क्षतिपूर्तिको व्यवस्था नभए चरणबद्ध रूपमा संघर्षमा उत्रने साहले चेतावनी दिए। उनीहरूले दूषित पानी छोड्ने उद्योगलाई कडा कारबाही गर्नुपर्ने माग अघि सारेका छन्। यता किसानको मागप्रति आफू सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाए। उनले टोली गठन गरी छानबिन सुरु गरेको जनाए।

 

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०५

No comments: