प्रदीप प्रधान (कार्यकारी सदस्य, नाडा) September 1
गाडी बढी भयो भनेर यदाकदा सुन्ने गरिन्छ । तर, नेपाल भनेर हामी काठमाडौंलाई मात्र नहेरौँ । नीति–निर्माताहरू काठमाडौंमा मात्र केन्द्रित भएकाले यहाँको जामलाई हेरेर भन्नुहुन्छजस्तो छ । बिस्तारै बाटो ठूलो हुँदै छ । जाम पनि घट्दै छ । पहिले हुने काम र अटोमोबाइलको क्षेत्रमा आएको विकासले काम गर्न भएको सरलतालाई पनि दाँज्नुपर्यो ।
सवारीसाधनलाई समय–समयमा मर्मत गरियो भने त्यसको आयु पनि बढ्छ । स्वाभाविक हो, यातायातसँगै मर्मत गर्नेहरूको पनि कार्यक्षेत्र बढेको छ । जतिजति सडक बढ्छ त्यतित्यति त्यसको कार्यक्षेत्र पनि बढ्छ । त्यसैले देशको विकासका लागि मोबिलिटी जरुरी छ । समयको सदुपयोग पनि हुनुपर्यो । त्यसका लागि गाडीको आवश्यकता पर्छ । अहिले अर्थतन्त्रको आधार नै सवारीसाधनलाई मान्नुपर्ने भएको छ । काठमाडौं मात्र नहेरौँ । देशभर बाटो बनाऔँ, यसले कार्यक्षमता बढ्छ ।
म वर्कसप इक्युपमेन्टमा काम गर्छु । पहिलेका गाडीको प्रविधि र अहिलेको प्रविधिमा फरक छ । हतौडाले मात्र अहिलेको गाडी बन्दैन । त्यसका लागि कम्प्युटराइज्ड प्रविधि ल्याउनु आवश्यक छ । गाडी सही अवस्थामा राखेमा प्रदूषण नियन्त्रणदेखि इन्धन खपत घटाउन सकिन्छ । त्यसका लागि यातायात व्यवस्था विभाग, भन्सार विभागलगायत सम्बन्धित निकायले ध्यान दिनुपर्यो । सामान आयात गर्दा वा निर्यात गर्दा यसको हार्मोनिक कोडको कुरा आउँछ । अहिले पनि नेपालको भन्सारमा हार्मोनिक कोडका रूपमा ६ डिजिट मात्र प्रयोगमा ल्याइएको छ । अन्तिम दुई डिजिट नै छैन । भारत वा तेस्रै देशमा धेरै समान बन्छ र हार्मोनिक कोड पूर्ण छ । भारतबाट आठवटा हार्मोनिक कोडमा आउँछ, तर नेपालमा ६ डिजिटमा ल्याएर हालिदिन्छ । विश्व व्यापार संघले केही सामान शून्य भन्सारमा ल्याउन पाउने नियम बनाएको छ, तर त्यो गएर अन्त:शुल्कमा थपिन्छ । जुन सामानको भन्सार शून्य छ त्यो भन्सारमा पास गर्न विभिन्न समस्या खडा गरिन्छ । भन्सारमा घटाएर अन्त:शुल्क लगाउँदा अझ बढी पर्न जान्छ ।
अहिले समान मगाउँदा पसलमा इन्भ्वाइस पनि बुझाउनुपर्छ । विदेशी मुद्रा अपचलन नहोस् भन्नका लागि कुनै सामान आयात गर्न खोलेको एलसीको प्रमाण देखाउनुपर्छ । तर, समस्या छ । उदाहरण दिऊँ, मैले यही नाडा अटो सोका लागि डिमान्ड ड्राफ्ट किनेँ । सामान आयो । अहिले नेपाल भन्सारमा आएपछि बैंकले छाप लगाएको इन्भ्वाइस माग्छ । त्यो नियम पहिले थिएन । मैले कैलेदेखि यो नियम भनेको अघिल्लो दिनको मिति दियो । समस्या हुनुभन्दा पनि सिर्जना गरिन्छ ।
देशमा एसेम्बलिङ इन्डस्ट्री हुनुपर्यो भन्ने कुरा बढी उठ्यो । तर, खपत कति छ भनेर हेरिनुपर्यो । कुनै विदेशी मुलुकको ब्रान्डसँग मिलेर गर्न सकियो भने निर्यात पनि गर्न सकिएला । तर कस्मिक, इङयाङ र अन्ना लिफानको अवस्था हेर्दा एसेम्बलिङ उद्योगबारे गहिरिएर निर्णय गर्नुपर्छ ।
नेपालमा पहिलोपटक भेइकल फिटनेस सेन्टर बन्दै छ । तर, यो सञ्चालन गर्दा अनुभव भएकाले मात्र सञ्चालन गर्न पाउने सर्त राखियो । नेपालमा अहिलेसम्म यो नभएकाले कुनै पनि व्यक्ति वा कम्पनीले यो सञ्चालन गर्न सक्ने अवस्था छैन । यो सर्त कसरी राखियो थाहा छैन । फिटनेस जडान गर्न पनि हामीजस्तो मेकानिकल काम गर्नेलाई नदिई घर फ्ल्याट निर्माण गर्ने ठेकेदारलाई दिइयो, जसको कारण अहिलेसम्म त्यो बनेको छैन । जुन हरियो स्टिकर भनिन्छ त्यो २० रुपैयाँमा पाइन्छ । त्यसले धुवाँ, आवाज के कति छ भन्ने थाहा हुन्न । तर, हामी अटोमोबाइल्स मेकानिकलाई प्रदूषण बढायो भनेर अपजस दिइन्छ ।
यो अटो सोमा म हेभी इक्युपमेन्ट, वर्कसप इक्युमेन्ट र ट्रयाक्टरको सामान राख्दै छु । मैले यो क्षेत्रमा काम गरेको ३२ वर्ष भयो । पहिले वर्कसप इक्युपमेन्टलाई एउटा उद्योगसरह सामान मगाउने सुविधा दिइन्थ्यो । यसलाई सेवा उद्योगको रूपमै लिइन्थ्यो । तर, केही समयपछि यसलाई रेगुलर ड्युटीमा राखियो ।
वास्तवमा वर्कसप भनेको एउटा उद्योग नै हो । यसले सवारीसाधनको आयु बढाउँछ । वातावरण प्रदूषण घटाउँछ । रोजगारी बढाउँछ । वर्कसप खोल्नका लागि थ्री फेज लाइन नभई हुँदैन, तर लाइन लिन सजिलो छैन । विद्युत् प्राधिकरणले धेरै लफडा गर्छ । त्यसैले वर्कसपलाई पनि उद्योग मानेर सरकारले सुविधा दिएर सञ्चालन गर्न सहज बनाइदिए राम्रो हुन्थ्यो ।
No comments:
Post a Comment