Wednesday, September 10, 2014

सार्क मुलुकका गृहमन्त्री काठमाडौंमा भेला हुँदै गृहमन्त्रीस्तरीय बैठकमा साइबर क्राइम नयाँ एजेण्डा

September 10
काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा सार्क मुलुकका गृहमन्त्रीहरु काठमाडौंमा भेला हुने भएका छन् । सार्क मन्त्रिस्तरीय बैठक आगामी आसोज १ देखि ३ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अनलानखबरलाई बताए ।

नेपाल, भारत,पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिब्स र अफगानिस्तानका गृहमन्त्री तथा गृह सचिव सहितका उच्च अधिकारीहरुले तीन दिनसम्म छलफल गर्नेछन् । असोज १ मा सार्कका अध्यागमन अधिकारीस्तरीय बैठक बस्नेछ भने २ गते सचिवस्तरीय बैठक बस्नेछ ।

 ती दुवै बैठकका निचोडलाई मन्त्रिस्तरीय बैठकमा राखेर छलफल गरिने प्रवक्ता ढकालले जानकारी दिए । बैठकमा मानव बेचबिखन, आतंकवाद, लागु औषध, सिमापार अपराध, भ्रष्टाचार लगायतका समस्याका बारेमा सामुहिक सहयोग आदानप्रदान गर्ने बारे छलफल हुने उनले बताए ।

 यसपटकदेखि साइबर अपराधको विषय पनि सार्क गृहमन्त्रिस्तरीय बैठकमा एजेण्डाका रुपमा प्रवेश गर्न लागेको प्रवक्ता ढकालले जानकारी दिए । सार्क क्षेत्रमा साइबर अपराध पनि चुनौतिपूर्ण बन्दै गएको र अपराधी तथा आतंकवादीहरुले यसलाई प्रयोग गर्न थालेकाले सार्कको सुरक्षामा चुनौति थपिएको छ ।

 बैठकका भाग लिन आउन लागेका भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालका गृहमन्त्री तथा उपप्रधानमन्त्री बामदेव गौतमसँग बेग्लै छलफल र वार्ता गर्ने भारतीय समाचार संस्था पिटिआइले जनाएको छ । प्रवक्ता ढकालले आवश्यकता अनुसार दुई पक्षीय कुराकानी हुने भन्दै भारत र नेपालको धेरै सिमाना जोडिएको र समस्याहरु पनि दुवैसँग गाँसिएकाले दुई पक्षीय वार्ता हुने बताए ।

No comments: